नेपालगन्ज ।
लुम्बिनी प्रदेश सरकारले असार महिनामा गोष्ठी, सेमिनार, तालिम तथा अन्तक्र्रिया सञ्चालनमा रोक लगाएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८३–८४ को बजेट तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी, मितव्ययी, पारदर्शी र परिणाममुखी बनाउन ५२ बुँदे मार्गदर्शन जारी गर्दै उक्त रोक लगाएको हो । अनिवार्य वा कानुनले तोकेबाहेकका तालिम, गोष्ठी, सेमिनार तथा अन्तक्र्रिया सञ्चालन गर्न रोक लगाइएको र यस्ता कार्यक्रम सम्भव भएसम्म भर्चुअल माध्यमबाट वा सरकारी सभाहल प्रयोग गरी सञ्चालन गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ ।
चालू खर्चमा कडाइ गरिएको उक्त मार्गनिर्देशनमा बजेट अनुशासन उल्लङ्घन गर्ने तथा सम्झौताअनुसार समयमै काम सम्पन्न नगर्ने निकाय र निर्माण व्यवसायीमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने पनि उल्लेख छ ।
प्रदेशका सबै मन्त्रालय, आयोग, सचिवालय तथा मातहतका निकायमा लागू गरिएको उक्त मार्गदर्शनमा वित्तीय उत्तरदायित्व, पारदर्शिता, मितव्ययिता तथा परिणाममुखी बजेट कार्यान्वयनलाई प्राथमिकता दिइएको भनिएको छ ।
चैत मसान्तसम्म कार्यान्वयन हुन नसकेका वा खर्च हुन नसक्ने आयोजना तथा कार्यक्रमको बजेट अनिवार्य रूपमा समर्पण गर्ने, दोहोरो प्रविष्टि भएका कार्यक्रम रोक्का राखी सम्बन्धित बजेट फिर्ता गर्ने, १० लाख रुपैयाँभन्दा बढी लागत अनुमान भएका सबै निर्माण कार्य सार्वजनिक प्रतिस्पर्धामार्फत मात्र गराउनुपर्ने व्यवस्था उक्त मार्गदर्शनमा गरिएको छ । यसैगरी कर्मचारी तथा पदाधिकारीले नियमित कार्यसम्पादनका क्रममा बैठक भत्ता र अतिरिक्त समय भत्ता लिन नपाउने, कम्प्युटर अपरेटर, कार्यालय सहयोगी तथा सवारी चालकजस्ता पदमा नयाँ पदपूर्ति नगर्ने तथा आवश्यक परे बहुसीपयुक्त जनशक्तिलाई मात्र करारमा नियुक्त गर्न निर्देशन दिइएको छ ।
सवारीसाधन खरिद गर्नुअघि आर्थिक मामिला तथा योजना मन्त्रालयको पूर्वसहमति लिनुपर्ने तथा विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिनुपर्ने व्यवस्था पनि गरिएको छ भने बहुवर्षीय आयोजनाको भौतिक तथा वित्तीय प्रगति विवरण प्रत्येक त्रैमासिक रूपमा अनिवार्य बुझाउनुपर्नेछ । जिन्सी निरीक्षणबाट मर्मत गर्न नसकिने ठहर भएका सवारीसाधन तथा सामग्री ६ महिनाभित्र लिलाम गर्नुपर्ने, समयमै निर्णय नगरी आयोजनाको लागत बढाउने, त्रुटिपूर्ण डिजाइन वा लागत अनुमान तयार गर्ने पदाधिकारी तथा सम्झौताअनुसार समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने मार्गदर्शनमा उल्लेख छ ।









प्रतिक्रिया दिनुहोस्