जुम्ला ।
जिल्लामा ज्येष्ठ नागरिकका लागि छुट्टै आयुर्वेद औषधि फार्मेसी सञ्चालन गरिएको छ । ज्येष्ठ नागरिक संघ जुम्लाको कार्यालयमा धेरैजसो ज्येष्ठ नागरिक आउने भएकाले उनीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आयुर्वेद स्वास्थ्य केन्द्रले औषधि पसल सञ्चालनमा सहयोग गरेको हो । औषधी पसलका लागि आवश्यक औषधि चन्दननाथ नगरपालिका वडा ५ का अध्यक्ष विर्ख कार्की र राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका प्रमुख कल्पना नेपाल आचार्यसहित सरोकारवाला निकायको रोहवरमा हस्तान्तरण गरिएको छ ।
आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर सन्तोष पौडेलले कार्यालयको मागअनुसार कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा पाँच लाख बजेट आएपछि ज्येष्ठ नागरिकलाई थप सहजका लागि औषधि सहयोग गरिएको बताए । कार्यालयका नायबसुब्बा नन्दप्रसाद न्यौपानले आयुर्वेद केन्द्रमा ज्येष्ठ नागरिकहरू जान नसक्ने भएकाले विगत देखिनै ज्येष्ठ नागरिकको कार्यालयमा निःशुल्क औषधि पसल स्थापना गरी प्राविधिक सहयोग गरिएको बताए ।
उनका अनुसार चेवनप्रास, रसायन योग, मसाज तेललगायत आवश्यक १७ वटा औषधि खरिद गरी फार्मेसी सुचारु गरिएको हो । जुम्लामा जिल्ला ज्येष्ठ नागरिक संघले ज्येष्ठ नागरिकका हक अधिकारका लागि काम गर्दै आएको छ । सोहीअनुसार कार्यालयले आफ्नै भवनमा आयुर्वेद औषधि पसल, दिवासेवा दिएर भजनदेखि विभिन्न कार्यहरू गर्ने, समय समयमा कपाल काट्ने, मसाज गर्नेसहितका सेवाहरू दिँदै आएको छ ।
ज्येष्ठ नागरिक संघका अध्यक्ष भवानीप्रसाद अधिकारीले आयुर्वेद केन्द्रले पटक पटक ज्येष्ठ नागरिकलाई निःशुल्क गर्दै आएको सहयोग निकै राम्रो भएको बताए । जिल्ला समन्वय समितिका उपप्रमुख जनक थकालीले ज्येष्ठ नागरिकका लागि सुचारु गरिएको निःशुल्क आयुर्वेद फार्मेसीका लागि धन्यवाद व्यक्त गरे । उनले पाँच लाखभन्दा बढी रूपैयाँँको औषधि सहयोग गर्नुलाई सकारात्मक कामका रूपमा लिएका छन् ।
सामाजिक विकास कार्यालय प्रमुख टोपबहादुर बुढाले आगामी वर्षमा ज्येष्ठ नागरिक लक्षित कार्यक्रम सहयोग गरिने बताए । राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका प्रमुख कल्पना नेपाल आचार्यले ज्येष्ठ नागरिकलाई शसक्तीकरण गर्दै उनीहरूको ज्ञान, सीप हस्तान्तरण गर्ने कार्यक्रममा जोड दिनुपर्ने बताइन् ।









प्रतिक्रिया दिनुहोस्