बागचौरको ७७ करोड २३ लाखको बजेट पारित



सल्यान ।

बागचौर नगरपालिकाको १६औँ नगरसभा सम्पन्न भएको छ । नगरसभाले चालू आर्थिक वर्ष २०८३–०८४ का लागि ७७ करोड २३ लाख ७५ हजार ३३० रूपैयाँँ बराबरको बजेट, नीति तथा कार्यक्रम ल्याएको छ । साथै आर्थिक विधेयक पनि सर्वसम्मत रूपमा पारित गरिएको नगरपालिकाले जनाएको छ । पारित बजेटअनुसार चालू खर्चतर्फ ५५ करोड ७८ लाख ११ हजार २७९ रूपैयाँँ विनियोजन गरिएको छ भने पूँजीगत खर्चका लागि २१ करोड ४५ लाख ६४ हजार ५१ रूपैयाँँ छुट्याइएको छ ।

यसअनुसार कूल बजेटको करिब ७२ प्रतिशत हिस्सा चालू खर्च र २८ प्रतिशत हिस्सा विकास निर्माण तथा पूँजीगत योजनाका लागि विनियोजन गरिएको देखिन्छ । नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममाथि जनप्रतिनिधिहरूले विस्तृत छलफल गरेका थिए । छलफलका क्रममा विभिन्न सुझाव र धारणा राखिएपछि नीति तथा कार्यक्रम, बजेट तथा आर्थिक विधेयक सर्वसम्मत रूपमा पारित गरिएको नगरपालिकाले जनाएको छ ।

सर्वसम्मत रूपमा बजेट पारित हुनु आगामी आर्थिक वर्षका कार्यक्रम कार्यान्वयनमा सहकार्य र राजनीतिक सहमतिका दृष्टिले सकारात्मक संकेतका रूपमा हेरिएको छ । नगरपालिकाका अनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक पूर्वाधार, पर्यटन, रोजगारी, सामाजिक सुरक्षा र सुशासनलाई उच्च प्राथमिकतामा राखेको छ ।

यी क्षेत्रलाई लक्षित गरी विकास निर्माणका योजना अघि बढाइने तथा नागरिकलाई प्रदान गरिने सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाइने नगरप्रमुख जनकराज गौतमले बताए । स्थानीय आवश्यकता र जनअपेक्षालाई केन्द्रमा राखेर समावेशी विकास, आधारभूत पूर्वाधार विस्तार तथा गुणस्तरीय सार्वजनिक सेवा सुनिश्चित गर्ने लक्ष्य बजेटले लिएको उनको भनाइ छ ।

‘नगरपालिकाले सीमित स्रोत–साधनको अधिकतम उपयोग गर्दै उत्पादनमुखी, रोजगारी सिर्जना गर्ने र दीगो विकासमा टेवा पुग्ने कार्यक्रमलाई प्राथमिकता दिएको छ,’ उनले भने, ‘नगरसभाबाट पारित बजेट तथा नीति कार्यान्वयन प्रभावकारी हुन सकेमा स्थानीय विकास, सेवा प्रवाहको गुणस्तर सुधार तथा नगरवासीको जीवनस्तर उकास्न महत्वपूर्ण आधार तयार हुने अपेक्षा गरिएको छ ।’

  • No tags available
प्रकाशित मिति : २०८३ साउन ३ गते आइतबार