सवा करोड पासपोर्ट छापेर बाहिरियो फ्रेन्च कम्पनी



काठमाडौँ ।

जर्मन दुई कम्पनी भेरिडोस र मुहलबाउरले सोमबारबाट विद्युतीय राहदानी (ई–पासपोर्ट)को छपाइ कार्य सुरु गरेका छन् । योसँगै नेपालमा १६ वर्षदेखि पासपोर्ट छपाइको काम गर्दै आएको फ्रेन्च कम्पनी आईडीईएमआईए (पुरानो ओबर्थर) बिदा भएको छ । आईडीईएमआईएले २०६७ सालदेखि निरन्तर नेपालमा पासपोर्ट छपाईको काम गर्दै आएको थियो ।

२०८१ सालमा आह्वान गरिएको ६४ लाख ई–पासपोर्टको छपाइको ठेक्का २०८२ सालमा जर्मन दुई कम्पनीले प्राप्त गरेपछि सोमबारबाट काम थालेका हुन् । योसँगै राहदानी विभागले आईडीईएमआईएलाई बिदाइ गरेको हो । ‘यस विभागले नयाँ प्रणालीमार्फत राहदानी सेवा प्रवाह असार २९ गतेबाट सुरु गरेको बेहोरा जानकारी गराउँदछौँ । यो नयाँ प्रक्रियाबाट केही आवेदकहरूले राहदानी प्रक्रिया पूरा गरी सोमबारबाटै सेवा पनि लिइसक्नु भएको छ,’ राहदानी विभागले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नयाँ पासपोर्ट लिन वा म्याद सकिएको वा अन्य कारणले राहदानी नवीकरण गर्नुपरेमा आवेदकले आफ्नो स्थायी बसोबास रहेको ईलाका वा जिल्ला प्रशासन कार्यालय वा राहदानी विभाग वा विदेशस्थित नेपाली नियोगहरूबाट पूर्ववत् रूपमा राहदानी सेवा लिन सक्ने विभागले जनाएको छ । नयाँ दुई जर्मन कम्पनीले नयाँ प्रणालीबाट सुरु गरेको काममा तीन महिनासम्म सामान्य प्राविधिक समस्या आउनसक्ने बताइएको छ । समस्या आए पनि पासपोर्ट सेवा सहज, नियमित र सुचारु रहने भनाई विभागको छ ।

पासपोर्ट सेवालाई समयसापेक्ष, भरपर्दो एवम् प्रविधिमैत्री बनाउन र नागरिकलाई सहजै यो सेवा उपलब्ध गराउने दिशामा केही महत्वपूर्ण कदम चालिएको छ । ‘छापिएका राहदानीहरू शीघ्र सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालयहरूमा पु¥याउन हुलाक विभागसँग सहकार्य गर्ने विषयमा २०८३ असार १९ गते एक सम्झौता पनि सम्पन्न भएको र सोही दिनबाट उक्त सम्झौता लागू भएको छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने । जुनसुकै जिल्लाबाट पनि राहदानी आवेदन दिन सकिने व्यवस्थाको लागि हाल आवश्यक प्रक्रिया सुरु गरिसकिएको समेत उनले जनाए ।

‘जो जहाँ बसेको भए पनि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयहरूबाट राहदानीका लागि आवेदन दिन सक्ने व्यवस्थाका लागि काम भइरहेको छ,’ प्रवक्ता क्षेत्रीले स्पष्ट पारे । राहदानी विभागले हस्तलिखित राहदानी बन्द गरी २०६७ मंसिर १० गतेबाट मेसिनले पढ्नसक्ने पासपोर्ट (एमआरपी) जारी गर्न सुरु गरेको थियो । विभागले एमआरपीबाट स्तरोन्नति गर्दै २०७८ मंसिर १ गतेदेखि ई–पासपोर्ट जारी गर्न सुरु सरेको थियो ।

२०६७ मंसिर १० गतेदेखि २०८३ असार २६ गतेसम्म १ करोड २६ लाख थानभन्दा बढी एमआरपाी र ई–पासपोर्ट जारी भएका हुन् । ती सबै पासपोर्टको छपाइ फ्रेन्च कम्पनी आईडीईएमआईएले गरेको हो । फ्रेन्च कम्पनीले ६८ लाख ४५ हजार ७३४ थान एमआरपी र ५८ लाख थान ई–पासपोर्ट छापेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार ३० गते मंगलबार