काठमाडौँ ।
रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच ४ घण्टा बढी छलफल भएको छ । सभापति लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह उनकै निवास पुगेका थिए । बूढानीलकण्ठस्थित लामिछाने निवासमा बालेन सवा ११ बजे पुगेका थिए ।
सवा ११ बजे लामिछाने निवास पुगेका शाह सवा ३ बजे मात्रै निस्किएका थिए । ‘समसामयिक राजनीतिकको विषयमा उहाँहरूबीच छलफल भयो,’ स्रोतले भन्यो ।उनीहरूबीच सुकुम्वासी समस्या समाधान, पार्टी पदाधिकारी मनोनीत लगायतका विषयमा छलफल भएको बताइएको छ । हालै चितवनमा सम्पन्न पहिलो महाधिवेशनपछि मनोनीत हुन बाँकी ११ पदाधिकारी र ५१ केन्द्रीय सदस्यको विषयमा पनि दुई जनाबीच छलफल भएको बताइएको छ ।
प्रधानमन्त्रीसमेत रहेका बालेन शाह रास्वपाको वरिष्ठ नेता मनोनीत हुने यसअघि नै सहमति भइसकेको छ । यस्तै छलफललाई रास्वपाकै एक शीर्ष तहका नेता मन्त्रीपरिषद् हेरफेर गर्ने, प्रधानमन्त्रीको सचिवालय चुस्त बनाउने र सुकुम्वासी समस्या समाधानमा केन्द्रित रहेर गहन कुराकानी भएको बताउँछन् । ‘केही मन्त्री हेरफेर गर्ने कुरा भइरहेको छ,’ रास्वपाकै एक नेताले भने, ‘सुकुम्वासी समस्या समाधानका लागि दीर्घकालीन योजनाका विषयमा पनि छलफल भएको छ ।’









प्रतिक्रिया दिनुहोस्