हुम्ला ।
वर्षौँदेखि भाडा तथा पुराना जीर्ण भवनबाट सेवा सञ्चालन गर्दै आएका हुम्लास्थित सशस्त्र प्रहरीका दुई सुरक्षा निकाय अब आफ्नै अत्याधुनिक भवनबाट सञ्चालन हुने भएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गुल्म र हिल्सास्थित बोर्डर आउट पोस्ट (बीओपी)का भवन निर्माणका लागि १६ करोड रूपैयाँँ बजेट विनियोजन गरेको हो । योसँगै दुवै कार्यालयको स्थायी पूर्वाधार निर्माण प्रक्रिया अघि बढ्ने भएको छ ।
हुम्ला सदरमुकाम सिमकोटमा रहेको सशस्त्र प्रहरी बल नम्बर ४४ गुल्मका लागि १० करोड रूपैयाँँ र नेपाल–चीन सीमामा रहेको हिल्सा बीओपीका लागि ६ करोड रूपैयाँँ बजेट छुट्याइएको छ । बहुवर्षीय योजनाअन्तर्गत विनियोजन गरिएको उक्त बजेटले सीमावर्ती जिल्लामा सुरक्षा संरचना सुदृढ बनाउने सरकारी योजनालाई समेत बल पुगेको हो । सशस्त्र प्रहरी बल नम्बर ४४ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक नन्दबहादुर साउदका अनुसार सिमकोट गाउँपालिका–५ स्थित बचुनधारा डाँडामा गुल्मको स्थायी भवन निर्माण गरिनेछ ।
करिब ३० करोड रूपैयाँँ लागत अनुमान गरिएको भवन बहुवर्षीय योजनामार्फत निर्माण सम्पन्न गरिने भएकाले आगामी आर्थिक वर्षहरूमा पनि आवश्यक बजेटको व्यवस्था हुँदै जाने उनले जानकारी दिए । भवन निर्माणका लागि छनोट गरिएको स्थान डाँडो भएकाले निर्माण कार्य सुरु गर्नुअघि जमिन सम्याउने र आवश्यक पूर्वतयारीका काम गरिनेछन् । गुल्म निर्माणका लागि आवश्यक करिब ३०० रोपनी सार्वजनिक जग्गाको भोगाधिकार प्रमाणपत्र सरकारले गत वर्ष नै सशस्त्र प्रहरीका नाममा उपलब्ध गराइसकेको छ ।
२०७५ साल भदौ २२ गते स्थापना भएको नम्बर ४४ गुल्म स्थापनाकालदेखि नै आफ्नै भवनविहीन अवस्थामा सञ्चालन हुँदै आएको छ । हाल गुल्मको कार्यालय तत्कालीन जिल्ला विकास समितिको पुरानो भवन तथा जिल्ला प्रशासन कार्यालयको जीर्ण भवनबाट सञ्चालन भइरहेको छ । आफ्नै भवन नहुँदा कार्यालय सञ्चालन, जनशक्ति व्यवस्थापन, सामग्री संरक्षण तथा सेवा प्रवाहमा विभिन्न कठिनाइ हुँदै आएको थियो । स्थायी भवन निर्माणपछि ती समस्या समाधान हुने र सुरक्षा सेवा थप व्यवस्थित तथा प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
त्यसैगरी नेपाल–चीन सीमाको प्रमुख नाका हिल्सामा रहेको बोर्डर आउट पोस्ट (बीओपी)का लागि पनि आगामी आर्थिक वर्षमा ६ करोड रूपैयाँँ बजेट विनियोजन गरिएको छ । २०७७ साल असार ६ गते स्थापना भएको बीओपी स्थापना भएदेखि नै भाडाको भवनबाट सञ्चालन हुँदै आएको थियो । गत वर्ष बीओपी हिल्साका नाममा २ हजार ७७८ वर्गमिटर जग्गा प्राप्त भएपछि स्थायी भवन निर्माणको प्रक्रिया अघि बढेको हो ।
निर्माण हुने नयाँ भवनमा कार्यालय तथा आवासीय संरचनासँगै नेपाल र चीनका सुरक्षा निकायबीच हुने द्विपक्षीय बैठक सञ्चालन गर्नमिल्ने आधुनिक सभाहलसमेत निर्माण गरिने योजना रहेको छ । हिल्सा नेपाल–चीन सीमा व्यापार, आवागमन तथा सुरक्षा दृष्टिले अत्यन्त संवेदनशील नाका मानिन्छ । त्यहाँ स्थायी पूर्वाधार निर्माण भएपछि सीमाको निगरानी, सीमा सुरक्षा, उद्धार तथा विपद् व्यवस्थापनका कार्य थप प्रभावकारी हुने अपेक्षा गरिएको छ । साथै दुवै कार्यालयका आफ्नै भवन निर्माणसँगै लामो समयदेखि अस्थायी संरचनामा निर्भर सुरक्षा निकायले आधुनिक र व्यवस्थित पूर्वाधार प्राप्त गर्ने भएका छन्, जसले हुम्लाको समग्र सुरक्षा व्यवस्थापनलाई थप मजबुत बनाउने अपेक्षा छ ।









प्रतिक्रिया दिनुहोस्