महानगर प्रहरीकोसँग विवादपछि युवकद्वारा आत्मदाहको प्रयास



काठमाडौँ।

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि एक युवकले बिहीबार आत्मदाह प्रयास गरेका छन् । विभागको ३ नम्बर गेटअगाडि मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका गणेश नेपालीले शरीरमा आगो लगाएर आफ्नै ज्यान लिने प्रयास गरेका हुन् । काठमाडौँ प्रहरी परिसरका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिलिप घिमिरेका अनुसार गणेशले राहदानी विभागअघि मोटरसाइकल पार्किङ गरेका थिए ।

पछि त्यसमा महानगर प्रहरीले ‘व्हीललक’ गरिदियो । घिमिरेका अनुसार आफ्नो बाइकमा ‘व्हीललक’ लगाएको भन्दै उनले बाइकबाटै पेट्रोल निकालेर उनले शरीरमा आगो लगाएका हुन् । ‘घाइते भएका उनलाई प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पु¥यायो,’ घिमिरेले भने । वीर अस्पतालका बर्न युनिट प्रमुख डा. पियूष दाहालका अनुसार सुरुमा गणेशलाई आकस्मिक कक्षमा उपचार सुरु गरिएको थियो । त्यतिबेलासम्म उनी थोरैथोरै बोलिरहेका थिए ।

उपचारमा संलग्न एक चिकित्सकले करिब ७० प्रतिशत भाग जलेको र अहिले अवस्था निकै चिन्ताजनक रहेको जानकारी दिए । उनी केही समययता काठमाडौँमा बस्दै आएका थिए । दाइ मदनका अनुसार उनी वैदेशिक रोजगारीमा दुबई जाने प्रयासमा थिए । उनको परिवार आर्थिक रूपमा विपन्न अवस्थामा छ । सोरु–१ का वडाध्यक्ष धनकर्ण मल्लले भने, ‘गणेश केही महिनायता कामको सिलसिलामा काठमाडौँ पुगेका थिए । गाउँमा त केही गरिखाने अवस्था छैन । खेतीपातीले वर्ष दिन पनि खान नपुग्ने अवस्था छ । त्यस्तो परिवारमा यस्तो घटना सुन्नुप¥यो ।’

  • No tags available
प्रकाशित मिति : २०८३ असार २६ गते शुक्रबार