वीरेन्द्रनगर ।
सुर्खेतको चौकुने गाउँपालिका र दैलेखको नौमुले गाउँपालिकाका पाँच सामुदायिक विद्यालयका ५०० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । बालबालिकाको विद्यालयमा नियमित उपस्थिति बढाउने र शिक्षामा निरन्तरता दिन प्रोत्साहन गर्ने ध्येयले सामग्री वितरण गरिएको हो । वातावरणीय कृषि तथा विकास केन्द्र (केड)ले एशियन एडको सहयोग तथा विद्यालयसँगको समन्वयमा आयोजित कार्यक्रमका अवसरमा सामग्री वितरण गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रममा वडाध्यक्ष, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–अभिभावक संघका प्रतिनिधि, शिक्षक तथा स्थानीय समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । चौकुने गाउँपालिका–१० का वडाध्यक्ष नन्दराम खनालले शैक्षिक सामग्री वितरणले बालबालिकाको अध्ययनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । यसले उनीहरूलाई नियमित रूपमा विद्यालय आउन र शिक्षालाई निरन्तरता दिन थप प्रेरणा मिल्ने उनले बताए ।
विशेषगरी आर्थिक रूपमा विपन्न तथा सीमान्तकृत समुदायका बालबालिकाका लागि राहत पुगेको छ । जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक दिपेन्द्र शर्माले विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी विपन्न, गरिब, दलित तथा सीमान्तकृत समुदायका भएकाले प्राप्त सहयोगले उनीहरूको सिकाइमा सकारात्मक प्रभाव पार्ने अपेक्षा छ । साथै विद्यालयमा नियमित उपस्थित हुन उत्साह थप्ने संस्थाका कार्यक्रम संयोजक अनुप नेपालीले बताए ।
उनका अनुसार केडले एशियन एडको सहयोगमा सन् २०१६ देखि कर्णाली प्रदेशका सुर्खेत, दैलेख र जाजरकोट जिल्लामा महिला, किशोरी तथा बालअधिकारसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । हाल चौकुने र नौमुले गाउँपालिकामा सञ्चालित कार्यक्रममार्फत बालबालिकाको विद्यालयमा नियमित उपस्थिति र टिकाइ बढाउने अभियान जारी छ । यस्तै बालमैत्री विद्यालय वातावरण निर्माण गर्ने, बालविवाह, छाउपडीलगायतका हानिकारक सामाजिक अभ्यास न्यूनीकरण गर्ने तथा बालबालिका र किशोरकिशोरीको समग्र विकासका लागि विभिन्न गतिविधि सञ्चालन भइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्