पर्यटन व्यवसायीलाई क्षमता अभिवृद्धि तालिम



कोहलपुर (बाँके) ।

बाँकेका पर्यटन व्यवसायीहरूका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । नाट्टा बाँके च्याप्टरको आयोजनामा पर्यटन व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीनदिने टुर अपरेटर्स क्यापासिटी बिल्डिङ तालिम सुरु भएको हो ।

तीनदिनसम्म सञ्चालन हुने तालिमको लुम्बिनी प्रदेशसभा सदस्य मिना कुमारी बोहरा सिद्धिकीले उद्घाटन गरेकी थिइन् । कार्यक्रममा बोल्दै सिद्धिकीले नेपालगन्जलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक रहेको बताइन् । उनका अनुसार नेपालगन्जलाई पर्यटकीय शहरका रूपमा विकास गर्नको लागि लुम्बिनी प्रदेश सरकारले आवश्यक पहल गरिरहेको छ ।

उनले प्रदेश सरकारमार्फत आगामी दिनमा आवश्यकताअनुसार बजेट व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । ‘नेपालगन्ज अन्तरदेशीय पर्यटकीय सम्भावना भएको क्षेत्र हो । यसलाई पर्यटकीय सहर बनाउनको लागि राम्रो नीति, योजना र आर्थिक लगानी आवश्यक छ ।

नेपालगन्जको विकासका लागि सबै एक भएर अघि बढ्न म आह्वान गर्न चाहन्छु,’ उनले भनिन् । नाट्टा बाँकेका महासचिव भागिराम ओलीले तालिममा बाँके, दाङ र बाजुराका पर्यटन व्यवसायीहरूको सहभागिता रहेको जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार २० गते शनिबार