सुर्खेतको लो–भोल्टेज र मिटर अभाव समस्या हटाउन पहल



सुर्खेत ।

कर्णाली प्रदेशमा लामो समयदेखि देखिँदै आएको विद्युत् मिटर अभाव र सुर्खेतमा उपभोक्ताले भोग्दै आएको लो–भोल्टेज समस्या समाधानतर्फ सरकारले ध्यान दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले सुर्खेत वितरण केन्द्रको स्थलगत निरीक्षणपछि मिटर आपूर्ति र विद्युत् प्रणाली स्तरोन्नतिका कामलाई तीव्रता दिइएको जानकारी दिएका छन् ।

मन्त्री श्रेष्ठका अनुसार कर्णाली प्रदेशका लागि माग गरिएको पाँच हजार थान विद्युत् मिटरमध्ये दुई हजार थान मिटर प्रदेशमा आइपुगी जडान प्रक्रिया सुरु भइसकेको छ । बाँकी तीन हजार थान मिटर पनि आगामी सात दिनभित्र उपलब्ध गराइने सुनिश्चित गरिएको उनले बताए । लामो समयदेखि नयाँ विद्युत् जडानका लागि आवेदन दिएका सेवाग्राही मिटर अभावका कारण प्रतीक्षामा बस्नुपरेको थियो । उक्त अवस्थालाई सरकारले प्राथमिकताका साथ सम्बोधन गरिरहेको मन्त्री श्रेष्ठले बताए ।

मिटर आपूर्ति नियमित भएसँगै नयाँ जडान र मिटर प्रतिस्थापनको कामले गति लिने अपेक्षा गरिएको छ । सुर्खेतका विभिन्न क्षेत्रमा पछिल्लो समय विद्युत् न्यून भोल्टेजको समस्या बढ्दै जाँदा घरायसी उपभोक्ता, उद्योग–व्यवसाय, शैक्षिक संस्था तथा सेवा क्षेत्र प्रभावित हुँदै आएका छन् । विशेषगरी गर्मीयाममा विद्युत् माग बढ्दा उपकरण सञ्चालनमा समस्या आउने, विद्युतीय सामग्रीमा क्षति पुग्ने तथा दैनिक कामकाज प्रभावित हुने गुनासो उपभोक्ताबाट निरन्तर उठ्दै आएको छ ।

यही अवस्थालाई मध्यनजर गर्दै वितरण प्रणाली स्तरोन्नति (अपग्रेड) को काम अघि बढाइने मन्त्री श्रेष्ठले बताए । आवश्यक बजेट व्यवस्थापनको प्रक्रिया अघि बढाइएको उल्लेख गर्दै आगामी केही महिनाभित्र सुर्खेतको लो–भोल्टेज समस्या समाधान गर्ने लक्ष्यका साथ काम भइरहेको उनले जानकारी दिए । ऊर्जा मन्त्रालयका अनुसार नेपाल विद्युत् प्राधिकरणले देशभरका सातै प्रदेशका लागि ५० हजार थान नयाँ विद्युत् मिटर पठाइसकेको छ ।

सोही मौज्दातबाट कर्णाली प्रदेशको मागलाई प्राथमिकतामा राखी आवश्यक मिटर उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले मिटर वितरण प्रक्रियालाई पारदर्शी, व्यवस्थित र सहज बनाउन प्रदेशस्तरमै आवश्यक परिमाणमा मिटर पठाइएको जनाएको छ । यसबाट नयाँ विद्युत् जडानको प्रतीक्षा सूची घट्नुका साथै सेवा प्रवाह थप प्रभावकारी हुने विश्वास गरिएको छ । मन्त्री श्रेष्ठले वितरण केन्द्रका कर्मचारीसँग सेवा प्रवाह, प्राविधिक अवस्था र पूर्वाधार विस्तारका विषयमा समेत छलफल गरेका थिए । उपभोक्ताले सहज, गुणस्तरीय र भरपर्दो विद्युत् सेवा पाउने वातावरण बनाउन मन्त्रालय र नेपाल विद्युत् प्राधिकरण प्रतिबद्ध रहेको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार २० गते शनिबार