काठमाडौँ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिंहदरबार परिसरमै कर्मचारीको उपचार सुरु गरेको छ । सिंहदबार परिसरमा काम गर्ने सात हजार कर्मचारीलाई लक्षित गर्दै शुक्रबारदेखि निजामती कर्मचारी अस्पतालमातहत रहने गरी निजामती कर्मचारी उपचार सेवा इकाइ सञ्चालनमा आएको हो । सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले मन्त्रालय परिसरमै शुक्रबार यो सेवाको शुभारम्भ गरेकी हुन् ।
इकाइमा खटिएकी डा. अर्चना दाहालले अहिलेलाई स्वास्थ्य परीक्षण गर्ने, स्याम्पल संकलनजस्ता ओपीडीको सेवा सुरु भएको जानकारी दिइन् । अस्पतालमा जस्तै टिकट काटेर स्वास्थ्य परीक्षण गराउन सकिने उनी बताउँछिन् । ‘विद्यालयमा त सरकारले नर्सको व्यवस्था गरेको छ । यहाँ त सात हजार बढी कर्मचारी कार्यरत हुनुहुन्छ । त्यसैले यहाँबाट स्वास्थ्य परीक्षणको गराउन माग भएपछि अस्पतालले शुक्रबारदेखि सेवा दिएको हो,’ उनले भनिन्, ‘अब बिस्तारै सेवा थप्दै जाने कुरा छ ।’
कर्मचारी कल्याण शाखामा कार्यरत उपसचिव दीपक ढकालले ठूलो संख्यामा कार्यरत कर्मचारीलाई स्वास्थ्य परीक्षणमा सहजता दिलाउन इकाइ सञ्चालन गरिएको जानकारी दिए । ‘सिंहदरबार परिसरमा ७ हजार बढी कर्मचारी कार्यरत हुनुहुन्छ । स्वास्थ्य जाँचको लागि बाहिर जाँदा र सिभिल अस्पताल जाँदा समय लाग्छ । बिदा बस्नुपर्ने पनि हुन्छ । अर्कोतिर निजामती अस्पतालमा सेवाग्राहीको दबाब पनि छ । त्यसैले सेवा वितरण गर्नुपर्छ भन्ने भएर प्रदेशमा पनि गर्ने कुरा आएको हो । यता सिंहदरबारमा पनि इकाई सञ्चालन भएको हो,’ उनी भन्छन् ।
‘अस्पतालमा भएका सबै सेवा तत्काल यहाँ उपलब्ध हुँदैनन् । ठाउँको र प्राविधिक कामको सीमितता छ । तर पनि सामान्य स्वास्थ्य उपचार, जाँच, रगत लगायतका परीक्षण यहाँबाट हुन्छ । रिपोर्ट अनलाइनबाट लिने व्यवस्था गरिएको छ’, उनले थपे । स्वास्थ्य परीक्षण गर्न आउनेको चाप हेरेर थप सेवाहरूको व्यवस्था गर्ने उनी बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्