काठमाडौँ।
सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीबाट सफाइ पाएका एमाले नेता तथा पूर्वप्रतिनिधिसभा सदस्य लक्ष्मी महतो (कोइरी)लाई उच्च अदालतले दोषी ठहर गरेको छ । उनलाई उच्च अदालत जनकपुरले ५ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला अदालत महोत्तरीले २०८० मंसिर २८ गते सुनाएको फैसलामा हेरफेर गर्दै आदेश सुनाएको हो ।
उच्च अदालत जनकपुरका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो । जिल्ला अदालतको आदेशविरुद्ध तत्कालीन लोसपाका मधेश प्रदेश सांसद अभिराम शर्मापक्ष लगायतले उच्च अदालतमा दायर गरेको पुनरावेदनउपर उच्च अदालतले सजाय सुनाएको हो । मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते हेटौँडाबाट संयुक्त राष्ट्रसंघीय मिसनका लागि परीक्षा दिएर ड्युटीको लागि महोत्तरी आएका बाँके राप्ती सोनारी गाउँपालिका– २ घर भएका सशस्त्र प्रहरीका असई विकमाथि महोत्तरीमा आन्दोलनकारीले आक्रमण गरेका थिए ।
घाइते विकलाई जलेश्वर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि एम्बुलेन्समा जनकपुर ल्याउँदै गर्दा महोत्तरीको साविक अनैठा गाविसमा आन्दोलनकारीले निकालेर कुटपिट गर्दा उनको ज्यान गएको थियो । यस्तै यही हत्या प्रकरणमा महोत्तरी जिल्लाबाट जन्मकैदको सजाय पाएका मधेशका निलम्बित सांसद अभिराम शर्मालाई उच्च अदालतको आदेशले राहत भएको छ । जिल्ला अदालतको फैसला उल्टाएर उनलाई उच्च अदालत जनकपुरले पाँच वर्ष कैद सजाय तोकेको हो ।
तत्कालीन लोसपाका संसदीय दलका नेता शर्मा जन्मकैद सजाय सुनाइएपछि फरार छन् । उनलाई मधेश प्रदेशसभाले निलम्बन गरिसकेको छ । जिल्ला अदालत महोत्तरीले २०८० मंसिर २८ गते सुनाएको फैसालामा शर्मालगायत ७ जनालाई जन्मकैदको सजाय सुनाएको थियो । उच्चले भने तीन जनाको हकमा जिल्लाको फैसला जन्मकैद सदर र चार जनालाई पाँचपाँच वर्ष कैद सजाय सुनाएको हो ।
अभियुक्तहरू संजय साह, मोहन ठाकुर, प्रदीप रायलाई जन्मकैद जिल्लाकै फैसला सदर गरेको हो । यस्तै अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको फैसला उल्टाएर जनही पाँच÷पाँच वर्ष कैद सजाय सुनाएको छ ।
२०८० मंसिर २८ गते जिल्ला अदालत महोत्तरीका न्यायाधीश उद्धबप्रसाद भट्टराईको इजलाशले सुनाएको फैसलाविरुद्ध शर्माका बुवा महेन्द्र शर्माले २०८१ वैशाख ९ गते मिश्रको हकमा उनको श्रीमती संगीताकुमारी शर्मा, पाण्डेको हकमा उनको छोरी प्रियंका पाण्डे र धमेन्द्र रायको हकमा उनको दाजु अरविवन्द कुमार रायले उच्च अदालतमा निवेदन दिएका थिए । अढाई वर्षको अवधिमा ५०औँ पेशीमा बुधबारको फैसलाबाट फैसला सुनाइएको हो । ४९ वटा पेशी स्थगित भएको थियो ।









प्रतिक्रिया दिनुहोस्