पढ्दै बाँदरको चौकीदारी



प्युठान ।

अरू बालबालिका विद्यालयको गृहकार्य सकेर खेलमैदानतिर दौडिरहेका बेला प्युठानको गौमुखी गाउँपालिका–५ खुङ सुन्दरमेलाका ११ वर्षीय विशाल सामत भने त्रिपालमुनि बसेर किताबका पाना पल्टाइरहेका छन् । उनको ध्यान एकातिर कापीमा छ भने अर्कोतिर बारीभरि फैलिएको मकैमा । किनकि, उनी केवल पढिरहेका छैनन्, आफ्नो परिवारको जीविकाको आधार जोगाउने जिम्मेवारी पनि निभाइरहेका छन् ।

कक्षा ६ मा अध्ययनरत विशालको दैनिकी अहिले असाध्यै फरक छ । घर नजिकैको बारीमा बाँदरको बिगबिगी बढेपछि परिवारले दिनभरि कोही न कोही खेतमा बस्नैपर्ने अवस्था आएको छ । त्यसैले विशालले पनि आफ्नो पढाइलाई बारीमै सार्नुपरेको छ । रातो त्रिपाल र छातालाई टेको बनाएर बनाइएको अस्थायी ओतमा उनी कापीमा लेखिरहेका छन् । वरिपरि लहलहाएका मकैका बोट छन्, तर ती बोटहरू कुनै पनि बेला बाँदरको समूहले सखाप पार्न सक्छन् । यही डरले विशालको पढाइसँगै चौकीदारी पनि चलिरहेको छ ।

स्थानीय किसानहरूका अनुसार पछिल्ला वर्षहरूमा बाँदरको समस्या विकराल बन्दै गएको छ । मकै, कोदो, आलु, तरकारीलगायतका बाली बाँदरले नष्ट गर्न थालेपछि खेतीपाती नै संकटमा परेको छ । दिनरात खेतमा पहरा दिनुपर्दा किसानको श्रम बढेको मात्र छैन, बालबालिकाको अध्ययनमा समेत प्रत्यक्ष असर परेको छ । विशालका बुबाआमाले वर्षभरिको आम्दानीका लागि लगाएको मकैबारी जोगाउनु परिवारका सबै सदस्यको साझा दायित्व बनेको छ ।

विद्यालयबाट घर फर्किएपछि विशाल पनि किताब बोकेर बारीतिर लाग्छन् । पढाइ र जिम्मेवारीको दोहोरो भार बोकेका उनको बालापन गाउँको यथार्थसँग गाँसिएको छ ।यो केवल विशालको कथा मात्र नभएर पहाडी गाउँका सयौँ किसान परिवारको साझा पीडा हो । वन्यजन्तुको संरक्षण आवश्यक छ, तर त्यसको भार किसानले मात्रै बोक्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ । अन्नबाली जोगाउन प्रभावकारी उपाय, क्षतिपूर्तिको व्यवस्था र दीर्घकालीन समाधानका लागि राज्य गम्भीर बन्नुपर्ने स्थानीयको माग छ ।

त्रिपालमुनि बसेर कापीमा अक्षर कोर्दै गरेका विशालका आँखा बेला–बेला मकैबारीतिर डुलिरहेका छन् । उनका लागि अहिले शिक्षा र जीविका दुवै उत्तिकै महत्वपूर्र्ण छन् । भविष्यका सपनाहरू पनि त्यही मकैबारीसँग जोडिएका छन्, जसलाई जोगाउन उनी आफ्नो बाल्यकालको एउटा हिस्सा समर्पित गरिरहेका छन् । स्थानीय किसानहरूका अनुसार बाँदरका कारण वर्षभरिको मेहनत खेर जाने गरेको छ । उत्पादन घट्दै जाँदा खेतीपातीप्रतिको आकर्षणसमेत कम हुन थालेको उनीहरूको गुनासो छ ।

समस्या समाधानका लागि प्रभावकारी नीति, नियन्त्रणका उपाय तथा किसानलाई राहत उपलब्ध गराउन प्रदेश र संघीय सरकार गम्भीर बन्नुपर्ने वडा नम्बर ५ का वडाध्यक्ष वरुणध्वज मल्ल बताउँछन् । कृषिप्रधान देशमा किसानको अन्नबाली सुरक्षित राख्नु राज्यको दायित्व भएकाले बाँदर आतंक नियन्त्रण र दीर्घकालीन व्यवस्थापनका लागि सम्बन्धित निकायले तत्काल पहल गर्न उनको माग छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १७ गते बुधबार