
हुलाक सेवाको आधुनिकीकरण सम्बन्धी काठमाडौँमा आज आयोजित उच्चस्तरीय संवाद कार्यक्रमको ब्यानर पढेर शुभारम्भ गर्दै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना । तस्बिरः प्रदीपराज वन्त/रासस
काठमाडौँ ।
सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिकमैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरसम्मै पुर्याउने प्रभावकारी माध्यमका रूपमा पुनःस्थापित गरिएको बताएका छन् । ‘परम्परागत हुलाक सेवालाई सरकारले प्रविधिमैत्री र विशिष्टीकृत ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्दै नागरिकको घरदैलोमै सरकारी सेवा पुर्याउने अभियान सफल रूपमा कार्यान्वयन गरिएको छ,’ उनले भने ।
हुलाक सेवा विभागद्वारा मंगलबार आयोजित ‘हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी कार्यक्रम’मा सञ्चारमन्त्री तिमिल्सिनाले हुलाक सेवाको पुनर्जागरणका लागि सरकार योजनाबद्ध रूपमा अघि बढिरहेको बताए ।‘सूचना प्रविधि क्षेत्रको विस्तारसँगै हुलाक सेवाको स्वरूप परिवर्तन भए पनि यसको आवश्यकता र महत्त्व भने अझै कायम रहेको छ । डिजिटाइजेसनले हुलाक सेवाको महत्त्व घटाएको छैन । बरु समय अनुकूल आधुनिकीकरण गर्दै सेवा विस्तार गर्नुपर्ने आवश्यकता बढेको छ,’ उनले भने ।
सरकारी सेवाको प्रभावकारिता बढाउन सार्वजनिक र निजीक्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले सबै काम सरकारले एक्लै गर्न नसक्ने भएकाले निजीक्षेत्रसँग साझेदारी र सरकारी निकायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताए । त्यस्तै, हुलाक सेवाको कमजोर बन्दै गएको संस्थागत छविलाई सुधारका लागि कर्मचारीको इच्छाशक्ति, नवीन सोच र सेवामुखी कार्यशैली आवश्यक रहेको उनकाे भनाइ छ ।
उनले भने, ‘हुलाकले आफैँलाई परिवर्तन गरेर फरक ढंगले सेवा दिन सक्नुपर्छ । सुधारको पहिलो आधार संस्थाभित्रकै इच्छाशक्ति हो । हुलाक सेवा नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसलाई सरल, सहज र विशिष्टीकृत बनाउनुपर्छ ।’ राहदानी, सवारी चालक अनुमतिपत्रलगायतका सरकारी कागजात नागरिकको घरमै पुर्याउने व्यवस्थाले सेवा प्रवाहमा ठूलो परिवर्तन ल्याएको उल्लेख गर्दै उनले यसबाट नागरिकको समय, लागत र झन्झट कम हुनुका साथै सरकारी सेवाप्रतिको विश्वास पनि बढेको बताए ।
सरकार सीमित स्रोत–साधनको अधिकतम उपयोग गर्दै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा अघि बढिरहेको उल्लेख गर्दै उनले शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीअन्तर्गत सञ्चार मन्त्रालय र मातहतका निकायका काममा उल्लेख्य प्रगति भएको जानकारी दिए । कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले डिजिटल युगमा पनि हुलाक सेवाको आवश्यकता उत्तिकै रहेको उल्लेख गर्दै नागरिकको घरदैलोमै सरकारी सेवा पुर्याउने उद्देश्यअनुसार विभागले हालसम्म सातवटा सरकारी निकायसँग समझदारी गरिसकेको जानकारी दिइन् ।









प्रतिक्रिया दिनुहोस्