कोहलपुरमा २० दिने बरिस्टा कफी तालिम सम्पन्न



कोहलपुर ।

नेपाल मगर संघ नगर समिति कोहलपुरको आयोजना तथा कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको उप–मेयर स्वरोजगार कार्यक्रम अन्तर्गतको २० दिने बरिस्टा (कफी) सम्बन्धी सीपमूलक तालिम सम्पन्न भएको छ । युवाहरुलाई स्वरोजगार र उद्यमशीलतासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको तालिमको आइतबार सम्पन्न भएको हो ।

तालिमको समापन कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले युवाहरुलाई स्वरोजगार बनाउन विभिन्न तालिमहरु प्रदान गर्दै आएको बताइन् । उनले स्थानीय सरकारले आफ्नो क्षमताले भ्याएसम्म युवाहरुदेखि महिलाहरुलाई स्वरोजगर बनाउन लागि परिरहेको जानकारी दिइन् । २० दिनसम्म तालिममा सिकेका कुराहरु जतिसक्दो व्यवहारमा उतार्न सहभागीहरुलाई उनले आग्रह गरिन् ।

पछिल्लो समय नेपालमा कफी संस्कृति विस्तार हुँदै गएकाले दक्ष बरिस्टाको माग पनि बढ्दै गएको बताउँदै उनले तालिमबाट सिकेका कुराहरुले स्वरोजगर बन्ने आधार तयगर्नेमा विश्वास व्यक्त गरिन् । उनले यस्ता व्यावसायिक तालिमले सहभागीहरूलाई देशभित्र मात्रै नभई होटल, रेष्टुरेन्ट, क्याफे तथा पर्यटन क्षेत्रमा समेत रोजगारीका अवसर प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताइन् । तालिममा सहभागी युवाहरुलाई उनले कफि व्यवासयको पनि राम्रो बजार रहेकाले त्यसतर्फ सोच्न र आश्वयक परे स्थानीय सरकारले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।

नेपाल मगर संघ नगर समिति कोहलपुरका अध्यक्ष कविराम पुलामी मगरले युवाहरुलाई स्वदेशमा केही गर्न सकिने बताउँदै उनले तालिमले थप सहयोग पुगेको विश्वास व्यक्त गरे । उनले हातमा सिप र आफुमा क्षमता भए नेपालमा थुप्रै अवसरहरु रहेको बताए । युवाहरुलाई स्वरोगरसँग जोड्न स्थानीय सरकारले गरेको आर्थिक सहयोगले ठुलो मद्दत पुगेको भन्दै धन्यवाद समेत दिए ।

२० दिने कफी तालिमले आधारभूत कुराहरु जनाकारी भएको र थप तालिमको आवश्यकक्ता रहेको तालिम सहभागी कोहलपुर–५ का मिलन राना मगरले बताए । उनले स्थानीय सरकारले गरेको आर्थिक सहयोग प्रति कृतज्ञता प्रकट गर्दै तालिमले कफी व्यवसाय गरेर खान सक्ने भएको उनी बताउँछन् । प्रशिक्षक युवराज घर्तीले तालिममा सहभागी २१ जना युवाहरुको उत्साहपूर्ण सहभागीताले आफूलाई समेत थप हौसाला प्रदान भएको बताए । उनले युवा र युवतीहरु अब आफै कफी बनाउन सक्ने सक्षम भएको जानकारी दिए ।

यस्ता सीपमूलक तथा रोजगारमुखी तालिममार्फत युवाहरूलाई स्वरोजगारतर्फ आकर्षित गर्दै आर्थिक रूपमा सक्षम बनाउने अभियानलाई निरन्तरता दिँदै आएको संघका सचिव करनबहादुर थापा मगरले बताए । उनका अनुसार स्थानीय तहको सहयोगमा सञ्चालन हुने यस्ता कार्यक्रमले बेरोजगार युवायुवतीलाई सीप सिकाएर रोजगारी तथा स्वरोजगारको अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १५ गते सोमबार