काठमाडौँ ।
महिला, बालबालिका तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लोकतन्त्र, सामाजिक न्याय, मानव अधिकार तथा राष्ट्रिय स्वाधीनताको आन्दोलनमा नेपाली महिलाले पुर्याएको योगदान गौरवपूर्ण रहेको बताएकी छन् ।
आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले नेपालको संविधानले सुनिश्चित गरेका महिला अधिकार तिनै ऐतिहासिक संघर्ष, त्याग र योगदानको उपलब्धि भएका बताइन् । ‘आमाबुवाको नामबाट नागरिकता प्राप्त गर्ने, राज्यका सबै निकायमा कम्तीमा एकतिहाई महिला सहभागिता सुनिश्चित र विभेदकारी कानुनहरूको खारेजी तथा महिलाहरूमाथि हुने हिंसाको अन्त्य गर्ने ऐतिहासिक संकल्प महिलाको अधिकार स्थापनाको आधार हो’, मन्त्री बादीले भनिन् ।
सरकारले महिलाको आर्थिक, सामाजिक, राजनीतिक सशक्तीकरणलाई उच्च प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, रोजगार, उद्यमशीलता, सामाजिक सुरक्षा तथा जीविकोपार्जन सुधारका कार्यक्रम अघि बढाएको उनको भनाइ छ ।
‘राज्यले अवलम्बन गरेका नीतिगत, कानुनी तथा संरचनागत सुधारका सकारात्मक परिणामस्वरूप आज राजनीतिक, प्रशासनिक तथा सामाजिक क्षेत्रमा महिलाको सहभागिता उल्लेखनीय रूपमा वृद्धि भएको छ’, उनले भनिन् ।
मन्त्री बादीले मौजुदा मन्त्रिपरिषद्मा महिला सहभागिता ३७.५ प्रतिशत पुगेको सुनाइन् । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको पहिचानसहित सम्मानित र मर्यादित जीवनयापन सुनिश्चित गर्ने गरी मन्त्रालयको नामसमेत समावेशी बनाइएको उनले स्पष्ट पारिन् ।
महिलाको क्षमता, सीप, श्रम र सिर्जनशीलतालाई राष्ट्रिय विकासको मूल प्रवाहमा ल्याउन तथा निर्णय प्रक्रियामा समान पहुँच सुनिश्चित गर्न तीनै तहका सरकार, निजीक्षेत्र, नागरिक समाज र समुदायबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको उनकाे भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्