एनसेलले पायो गुणस्तर र वातावरणसम्बन्धी आईएसओ ९००१ र १४००१ को मान्यता



काठमाडौँ ।

एनसेलले प्रतिष्ठित आइएसओ ९००१ र १४००१ मान्यता प्राप्त गरेको छ । यी अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त मापदण्डहरूले कम्पनीको सधैँ उच्च गुणस्तरीय सेवा प्रदान गर्ने तथा वातावरणीय प्रभावलाई न्यूनतम राख्ने प्रतिबद्धतालाई उजागर गरेका छन् । आइएसओ ९००१ गुणस्तर व्यवस्थापन प्रणाली (क्वालिटी म्यानेजमेन्ट सिस्टम)को विश्वव्यापी मानक हो ।

यसले ग्राहकका आवश्यकता तथा नियामक निकायहरूका प्रावधानहरू पूरा गर्न व्यावसायिक प्रतिष्ठानहरूले आवश्यक प्रक्रियाहरू अपनाउने गरेको सुनिश्चित गर्दछ । त्यसैगरी, आइएसओ १४००१ ले वातावरणीय व्यवस्थापन प्रणाली (एन्भाइरमेन्टल म्यानेजमेन्ट सिस्टम)को मापदण्ड निर्धारण गर्दछ, जसले संघ संस्था तथा व्यवसायहरूलाई उनीहरूको वातावरणप्रतिको जिम्मेवारी, फोहर मैला व्यवस्थापन र विद्यमान कानुन तथा नियमहरू प्रभावकारी रूपमा पालना गर्न मार्गदर्शन गर्ने बताइएको छ ।

’आइएसओ २७००१ः२०२२ (आइएसएमएस) र आइएसओ २७७०१ः२०१९ (पीआईएमएस) डेटा सुरक्षा तथा गोपनीयताका मान्यताहरू प्राप्त गरेपछि अब आइएसओ ९००१ र आइएसओ १४००१ को मान्यता पाउनु हामीले प्रदान गर्ने सेवाको गुणस्तरप्रति हाम्रो प्रतिबद्धताको प्रमाण हो,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले भने ।

‘बिजनेस टु कन्ज्युमर (बिटुसी), बिजनेस टु बिजनेस (बिटुबी) वा बिजनेस टु गभरमेन्ट (बिटुजी) जुनसुकै सेवा भए पनि यी मान्यताहरूले हाम्रो व्यवसाय विश्वव्यापी रूपमा मान्य मापदण्डअनुसार बलियो रूपमा सञ्चालित छ भन्ने कुरा गरेको छ,’ उनले थपे । एनसेलले पुस २०८१ मा आइएसओ २७००१ः२०२२ (आइएसएमएस) र आइएसओ २७७०१ः२०१९ (पिआइएमएस)को मान्यता प्राप्त गरेको थियो ।

उक्त प्रमाणीकरण यो वर्ष पनि नवीकरण गरिएको छ । यस्तो प्रमाणीकरण प्राप्त गर्ने एनसेल नेपालको पहिलो दूरसञ्चार सेवा प्रदायक हो ।
यी दुई प्रमाणीकरणहरूले नेपालको द्रुत गतिमा विकास भइरहेको डिजिटल परिदृश्यमा कम्पनीको उत्कृष्ट सञ्चालन र दिगोपनप्रति एनसेलले ध्यान केन्द्रित गरेको कुरालाई पुष्टि गर्दछ । ग्राहकहरूका लागि यसको अर्थ थप भरपर्दो नेटवर्क पर्फर्मेन्स, अझ उत्तम सेवा गुणस्तर र वातावरणीय रूपमा जिम्मेवार सञ्चालन सुनिश्चितता हो ।

त्यस्तै उद्यमी तथा व्यवसायहरूले दक्षता वृद्धि, जोखिम न्यूनीकरण र बढी प्रतिस्पर्धात्मक क्षमता प्राप्त गर्दछन् भने साझेदार, नियामक निकाय तथा लगानीकर्ताहरूले एनसेलको जबाफदेहिता, कम्प्लायन्स र निरन्तर सुधारप्रतिको प्रतिबद्धताबाट आत्मविश्वास प्राप्त गर्न सक्नेछन् । यी प्रमाणीकरणहरूको सदुपयोग गर्दै विश्वस्तरीय डिजिटल सेवाहरू उपलब्ध गराउन र पर्यावरणीय संरक्षणलाई पनि प्रवद्र्धन गर्न कम्पनी प्रतिबद्ध रहेको बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ १५ गते शुक्रबार