वीरेन्द्रनगर ।
सुर्खेतमा पहिलोपटक ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजना तथा होटल व्यवसायी महासंघ कर्णाली प्रदेशको समन्वयमा आगामी जेठ ८, ९ र १० गते सम्मेलन सञ्चालन गरिने भएको हो ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक तर्कबहादुर शाहीले कर्णालीलाई नेपालको उदीयमान पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए । उनका अनुसार सम्मेलनले कर्णालीको पर्यटन विकास, प्रवद्र्धन तथा दीर्घकालीन सम्भावनालाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चिनाउने अपेक्षा गरिएको छ ।
साथै पर्यटन प्रवद्र्धन, लगानी आकर्षण र व्यावसायिक सहकार्य विस्तारमा सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
सम्मेलनमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै भारतका उत्तर प्रदेश, उत्तराखण्ड र दिल्लीबाट पर्यटन तथा आतिथ्य क्षेत्रसँग सम्बन्धित व्यवसायी, लगानीकर्ता, ट्राभल भ्लगर, सञ्चारकर्मी, ट्राभल एजेन्सी, टुर अपरेटर तथा होटल क्षेत्रका प्रतिनिधिको सहभागिता रहने उनले जानकारी दिए ।
उनका अनुसार कार्यक्रममार्फत भारतीय बजारसँग कर्णालीका पर्यटन प्याकेज तथा सेवाहरू प्रत्यक्ष रूपमा जोडिने अपेक्षा गरिएको छ भने प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, धार्मिक सम्पदा तथा साहसिक पर्यटनको प्रचुर सम्भावना बोकेको कर्णाली अझै विश्वसामु पर्याप्त रूपमा परिचित हुन नसकेको अवस्थामा सम्मेलनले त्यसलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।
‘सम्मेलनअन्तर्गत बि–टु–बि बैठक, नेटवर्किङ कार्यक्रम, पर्यटन गन्तव्य प्रस्तुति, प्रोपर्टी भिजिट, फ्याम ट्रिप, प्राविधिक छलफल, प्यानल डिस्कसन तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ,’ उनले भने, ‘केवल औपचारिक छलफलमा सीमित नरही पर्यटन क्षेत्रका खरिदकर्ता र बिक्रेताबीच प्रत्यक्ष संवाद गराउने माध्यम बन्नेछ ।’ सम्मेलनले कर्णालीका होमस्टेदेखि ठूला होटलसम्म तथा रारातालदेखि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जसम्मका पर्यटन प्याकेजलाई बजारसँग प्रत्यक्ष जोड्ने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्