अष्टम साना किसानले मनायो तेस्रो एकिकरण दिवस



कोहलपुर ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–८ मा मुख्य कार्यालय रहेको अष्टम साना किसान कृषि सहकारी संस्थाले शुक्रबार तेस्रो एकीकरण दिवस मनाएको छ । दिवसको अवसरमा भएको कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले आठ वटा सहकारीहरू एकीकरण भएर सहकारीले ग्रामीण क्षेत्रमा किसानको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।

संस्थाले छोटो समयमा नै कृषि, पशुपालन तथा साना उद्यम क्षेत्रमा उल्लेखनीय काम गर्न सफल भएको उनको भनाइ रहेको थियो । ‘ग्रामीण भेगका विपन्न तथा साना किसानलाई लक्षित गर्दैे संस्थाले कृषि पेशालाई आधुनिक र व्यवसायिक बनाउने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको देख्दा खुसी लागेको छ’ अध्यक्ष सुवेदीले भने ।

सहकारीमार्फत किसानले सहज रूपमा ऋण प्राप्त गर्ने, बचत गर्ने र कृषि उत्पादन बढाउने अवसर पाएको संस्थाका मुख्य प्रबन्धक हरिश्चन्द्र केसीले बताए । उनले संस्थाले पछिल्ला वर्षहरूमा कृषि तथा पशुपालन क्षेत्रमा लगानी विस्तार गर्नुका साथै स्वरोजगार बनाउन सक्दो प्रयास गरिरहेको उनले बताएका थिए ।

किसानलाई तरकारी खेती, बाख्रापालन, कुखुरापालन, डेरी व्यवसाय र साना उद्यम सञ्चालनका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराइएको संस्थाले जनाएको छ । यसले ग्रामीण क्षेत्रमा स्वरोजगार सिर्जना हुनुका साथै धेरै परिवारको आर्थिक अवस्था सुधारिने उनले बताए ।अहिले संस्थाका १४ वटा सेवा केन्द्र र दुध डेरी लगायतमा गरेर ७१ जना कर्मचारीहरू कार्यरत रहेका छन् ।

संस्थालाई आगामी दिनहरूमा विस्तार गर्दै अझ धेरै किसानसम्म सेवा पु¥याउने योजना बनाइएको मुख्य प्रबन्धक केसीले बताए । किसानमुखी कार्यक्रम, पारदर्शी सेवा र समुदायसँगको सहकार्यका कारण संस्था सबैको नजरमा पर्न सफल भएको संस्थाका अध्यक्ष देव बहादुर ओलीले बताए । एकीकरणपछि सहकारीको सेवा क्षेत्र विस्तार हुनुका साथै सदस्यलाई सहज रूपमा कर्जा, बचत तथा वित्तीय सेवा उपलब्ध गराउन सफल भएको उनले जानकारी दिए ।

एकीकरण दिवसको अवसरमा उत्कृष्ट बचतकर्ता, सफल किसान तथा सहकारी अभियानमा योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो । साथै सहकारीले आगामी दिनमा किसानमुखी कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २ गते शनिबार