सुर्खेत।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर–टहरा खाली गर्न ७ दिने अल्टिमेटम दिएको छ । नगरपालिकाले सूचना प्रकाशित गर्दै तोकिएको अवधिभित्र अतिक्रमित संरचना स्वयं हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको हो।
नगरपालिकाका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र बमोजिम सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गर्नुपर्ने निर्देशन प्राप्त भएपछि सोही आधारमा यस्तो कदम चालिएको हो । साथै, चालु आर्थिक वर्ष २०८२–०८३ को स्वीकृत नीति, कार्यक्रम तथा बजेटअनुसार वीरेन्द्रनगर नगरपालिका–८ क्षेत्रमा महिला व्यवसायिक भवन निर्माण अघि बढाउने क्रममा उक्त जग्गामा अतिक्रमण भएको पाइएको जनाइएको छ ।
सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र अतिक्रमण गरी बनाइएका संरचना स्वयं हटाउन आग्रह गरिएको छ । तोकिएको समयभित्र संरचना नहटाइएमा प्रचलित कानूनअनुसार नगरपालिकाले आफैँ हटाउने र त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिबाट असुल गरिने चेतावनी दिइएको छ ।नगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थित शहरी विकासको अभियानमा सहयोग गर्न सरोकारवालालाई अपिल गरेको छ । रासस








प्रतिक्रिया दिनुहोस्