नेपालगन्ज ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले आवासीय बीमा कार्यक्रमअन्तर्गत एक पीडित परिवारलाई राहतस्वरूप दुई लाख ३२ हजार नौ सय रूपैयाँँ हस्तान्तरण गरेको छ । नेपालमै पहिलोपटक नेपालगन्जमा गत वर्षदेखि लागू गरिएको आवासीय बीमा कार्यक्रमअन्तर्गत वडा नम्बर ७ निवासी उत्तमसिंह पञ्जाबीले राहत रकम पाएका हुन् ।
उपमहानगरपालिकाका विपद् फोकल पर्सन दिपेन्द्र श्रेष्ठका अनुसार पञ्जाबीको घर वर्षाका कारण भत्किएपछि बीमा दाबी गरिएको थियो ।
राष्ट्रिय बीमा कम्पनीमार्फत उपलब्ध गराइएको बीमा रकम एक औपचारिक कार्यक्रममार्फत पीडित परिवारलाई मंगलबार हस्तान्तरण गरिएको छ । पीडित परिवारलाई चेक हस्तान्तरण गर्दै मेयर प्रशान्त विष्टले आवासीय बीमा कार्यक्रमले न्यून आय भएका परिवारलाई विपद्का बेला आर्थिक सुरक्षा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
स्थानीय सरकारको पहलमा प्राप्त बीमा रकमले आफूहरूलाई केही राहत महसुस भएको पीडित परिवारका सदस्य लिला आचार्यले बताइन् ।
उपमहानगरपालिकाले विपद् जोखिम क्षेत्रका रूपमा पहिचान गरिएका वडा नम्बर ३ र ७ का १८४ घरपरिवारको बीमा गरिदिएको थियो । जसअन्तर्गत १५ लाख रूपैयाँँसम्मको बीमा कभर उपलब्ध गराउँदै प्रतिपरिवार आठ सय ५० रूपैयाँँ प्रिमियम शुल्क उपमहानगरले नै आफैँ तिर्दै आएको छ ।
विष्टका अनुसार यो कार्यक्रम अब उपमहानगरपालिकाका सबै २३ वटै वडामा विस्तार गर्ने योजना रहेको छ । विपद्विरुद्ध काम गर्दै आएको सुपर परियोजनाको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रमले विपद् व्यवस्थापनमा स्थानीय तहको सक्रियता र नवीन अभ्यासलाई बढावा दिने अपेक्षा कार्यक्रममा व्यक्त गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्