देशका अधिकांश सहरी क्षेत्रमा वर्षाको सम्भावना



काठमाडौँ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार विभिन्न सहरको अद्यावधिक मौसम विवरणअनुसार तराईदेखि पहाड तथा हिमाली भूभागसम्म वर्षाको प्रभाव देखिने अनुमान गरिएको हो ।

मौसम विवरणअनुसार भैरहवा, सिमरा, जनकपुर, विराटनगर लगायतका तराई क्षेत्रका सहरमा दिउँसो हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको छभने राति पनि वर्षा जारी रहने अनुमान छ । यी क्षेत्रमा अधिकतम तापक्रम ३० देखि ३६ डिग्री सेल्सियसको आसपास रहने महाशाखाको भनाई छ ।

महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा पनि आज दिनभर मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यहाँ अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियस रहने अनुमान गरिएको छभने रातिको तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म झर्नेछ ।पूर्वी पहाडी क्षेत्रका धनकुटा, जिरी, ताप्लेजुङ र ओखलढुङ्गामा पनि वर्षाको प्रभाव देखिनेछ ।

यी क्षेत्रमा विशेषगरी बेलुका र रातिको समयमा मध्यम वर्षा हुने सम्भावना रहेको छ । त्यसैगरी पोखरा, जोमसोम र जुम्ला क्षेत्रमा पनि मेघगर्जनसहित हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ ।पश्चिमी क्षेत्रका धनगढी, नेपालगञ्ज र वीरेन्द्रनगरमा दिउँसो हल्का वर्षा भए पनि रातिको समयमा आंशिक बदली रहने सम्भावना छ ।

यी क्षेत्रमा वर्षाको सम्भावना तुलनात्मक रूपमा कम देखिएको छ । मौसमविद् सरोज पुढासैनीले हाल देशभर स्थानीय वायुसँगै पश्चिमी वायु प्रणालीको प्रभावका कारण मौसम बदली भई वर्षाको अवस्था बनेको बताए। विभागले मेघगर्जन र चट्याङको जोखिम रहेकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । रासस

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख १५ गते मंगलबार