कागजमा सुरु भयो ‘आफ्टर मार्केट अर्डर’



नयाँ व्यवस्थाअनुसार लगानीकर्ताले नियमित कारोबार समय सकिएपछि पनि सेयर खरिद–बिक्रीका लागि अर्डर राख्न पाउने प्रावधान गरिएको छ । तर, पहिलो दिनमै लगानीकर्ताले ट्रेडिङ म्यानेजमेन्ट सिस्टम (टिएमएस)मा उक्त सुविधा प्रयोग गर्न नसकेपछि नेप्सेको क्षमतालाई लिएर प्रश्न उठेको छ ।

काठमाडौँ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सोमबारदेखि धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली कार्यान्वयनमा ल्याएसँगै बहुप्रतीक्षित ‘आफ्टर मार्केट अर्डर’ सुरु भएको घोषणा गरिए पनि लगानीकर्ताले त्यसलाई उपयोग गर्न पाएनन् । नयाँ व्यवस्थाअनुसार लगानीकर्ताले नियमित कारोबार समय सकिएपछि पनि सेयर खरिद–बिक्रीका लागि अर्डर राख्न पाउने प्रावधान गरिएको छ ।

तर, पहिलो दिनमै लगानीकर्ताले ट्रेडिङ म्यानेजमेन्ट सिस्टम (टिएमएस)मा उक्त सुविधा प्रयोग गर्न नसकेपछि नेप्सेको क्षमतालाई लिएर प्रश्न उठेको छ । बजार बन्द भएपछि अर्डर राख्ने विकल्प पहिलेजस्तै निष्क्रिय (डिसेबल) अवस्थामा देखिएपछि लगानीकर्ताले नेप्सेद्वारा लगानीकर्तालाई बेबकुफ बनाउने काम त भएको होइन नि भन्दै प्रश्न गरिरहेका छन् ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुली भने नीतिगत रूपमा मात्रै उक्त व्यवस्था लागू गरिएको तर विभिन्न स्रोतले तुरुन्तै कार्यान्वयनमा जाने हल्ला चलाएकाले केही अन्योल देखिएको बताउँछन् । ‘नेप्सेले ‘आफ्टर मार्केट अर्डर’लाई वैध बनाउँदै मार्ग प्रशस्त गरेको हो,’ उनले भने, ‘तर यसको प्रयोग भने ब्रोकर कम्पनीहरूको प्राविधिक तयारीमा निर्भर रहनेछ । अब ब्रोकरहरूले आफ्नो सिस्टम तयार गरेर सक्रिय बनाउनुपर्छ ।’

नेप्सेले नियम ल्याए पनि ब्रोकर कम्पनीहरूले आफ्नो टिएमएस प्रणाली अद्यावधिक नगरेसम्म लगानीकर्ताले उक्त सुविधा प्रयोग गर्न नपाउने उनको भनाइ छ । यो सुविधा विशेषगरी कार्यालय समयमा बजार हेर्न नसक्ने साना तथा व्यस्त लगानीकर्ताका लागि उपयोगी हुने अपेक्षा गरिएको छ । तर, प्राविधिक तयारी अभावका कारण तत्काल कार्यान्वयन हुन नसक्दा यो व्यवस्था हाललाई कागजमै सीमित भएको देखिन्छ ।

लगानीकर्ताहरूले भने नियामक निकायले नीति लागू गर्दा त्यसको प्राविधिक तयारी सुनिश्चित गर्नुपर्ने माग गरेका छन् । लगानीकर्ताले यस्तो व्यवस्था कार्यान्वयनमा आए सेयर कारोबार प्रणाली आधुनिक, पारदर्शी र लगानीकर्तामैत्री हुने ठानेका छन् । यी परिवर्तनहरू केवल प्राविधिक सुधार मात्र होइनन्, नेपालमा सेयरबजारको विकासक्रममा दीर्घकालीन प्रभाव पार्ने नीतिगत कदमका रूपमा हेरिएका छन् ।

पूँजीबजार पछिल्लो केही वर्षयता अस्थिरता, तरलता अभाव र सीमित लगानीकर्ताको सहभागिताबाट गुज्रिरहेको सन्दर्भमा यस्तो सुधारलाई अर्थतन्त्रको आवश्यक हस्तक्षेपका रूपमा पनि विश्लेषण गरिएको छ ।

१३.१७ अंकले ओरालो लाग्यो नेप्से

साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज परिसूचक दोहोरो अंकले घट्दै १३.१७ अंकले तल झरेर २८२५.२३ बिन्दुमा आएर बन्द भयो । बजारसँगै कारोबार रकम पनि उल्लेख्य रूपमा घट्यो । अघिल्लो कारोबार दिन ७ अर्ब ४६ करोड रूपैयाँ बराबरको सेयर किनबेच भएकोमा सोमबार घटेर ५ अर्ब ४३ करोड रूपैयाँमा सीमित भयो ।

यस दिन ३४९ वटा कम्पनीका १ करोड १६ लाख ५३ हजार ३७० कित्ता सेयर कारोबार भयो । बजारको समग्र प्रवृत्ति नकारात्मक देखिएको छ । कूल कारोबार भएका कम्पनीमध्ये ६५ वटाको सेयर मूल्य बढ्दा १९७ वटाको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । यद्यपि, केही कम्पनीमा भने सकारात्मक सर्किट लागेको छ । सूर्यकुण्ड हाइड्रोपावर र होटल फरेस्ट इनको सेयर मूल्य १५ प्रतिशतले बढेको छ भने पाल्पा सिमेन्ट र शिखर पावरको मूल्य १४.९९ प्रतिशतले उक्लिएको छ ।

उता, घट्ने सूचीमा दोल्ती पावर अग्रस्थानमा रहेको छ । कम्पनीको सेयर मूल्य ५.३५ प्रतिशतले घटेर प्रतिकित्ता ४२५ रूपैयाँमा झरेको छ ।
त्यसैगरी एनआइसी एसिया ग्रोथ फण्ड २ को इकाई मूल्य पनि ५.०३ प्रतिशतले घट्दै ९ रूपैयाँ ४४ पैसामा सीमित भएको छ । कारोबारका हिसाबले होटल फरेस्ट इन अग्रस्थानमा रहेको छ ।

यस कम्पनीको प्रतिकित्ता १२६१ रूपैयाँ ४० पैसामा ३६ करोड १ लाख रूपैयाँ बराबरको कारोबार भएको छ । दोस्रो स्थानमा सोलु हाइड्रोपावर रहेको छ, जसको ८४९ रूपैयाँका दरले २९ करोड ८१ लाख रूपैयाँको सेयर किनबेच भएको छ । समूहगत परिसूचकतर्फ हेर्दा १३ मध्ये केवल होटल तथा पर्यटन समूहले मात्र १.०१ प्रतिशतको वृद्धि देखाएको छ । बाँकी सबै समूह घट्दा समग्र बजार दबाबमा परेको देखिन्छ ।

किन आवश्यक प¥यो सुधार ? 

नेपालको सेयरबजार लामो समयदेखि पुरानै ढाँचामा सञ्चालन हुँदै आएको छ । सीमित कारोबार समय, कडा मूल्य नियन्त्रण र प्राविधिक सीमितताले बजारको स्वाभाविक मूल्य निर्धारण प्रक्रियामा अवरोध सिर्जना गरिरहेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा संशोधन गर्दै बजारलाई अन्तर्राष्ट्रिय अभ्याससँग नजिक ल्याउने पहल गरेको हो ।

सो संशोधनलाई स्वीकृति दिँदै नेप्से सञ्चालक समितिले कार्यान्वयनको अन्तिम निर्णय गरेको थियो । विशेषगरी डिजिटल प्रविधिको विस्तार, विदेशमा रहेका नेपालीहरूको बढ्दो लगानी चासो र बजारलाई प्रतिस्पर्धी बनाउने दबाबले यस्तो परिवर्तन अपरिहार्य बनेको बताइन्छ ।
‘आफ्टर मार्केट अर्डर’ प्रणाली नेपालका लागि नयाँ अभ्यास हो ।

यसले विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपाली लगानीकर्तालाई ठूलो राहत दिने अपेक्षा गरिएको छ । फरक समय क्षेत्रमा बसेका लगानीकर्ताले अब आफ्नो अनुकूल समयमा अर्डर राख्न सक्नेछन्, जसले बजारमा सहभागिता विस्तार गर्नेछ ।

दैनिक मूल्य उतारचढाव १५ प्रतिशतसम्म

पहिले १० प्रतिशतमा सीमित रहेको दैनिक मूल्य उतारचढाव सीमा अब १५ प्रतिशत पु¥याइएको छ । यसले बजारलाई थप गतिशील बनाउने र माग–आपूर्तिका आधारमा मूल्य निर्धारणलाई सहज बनाउने अपेक्षा गरिएको छ । यद्यपि, उच्च उतारचढावले जोखिम पनि बढाउने भएकाले लगानीकर्तालाई सचेत रहनुपर्ने विज्ञहरूको सुझाव छ ।

कारोबार क्रममा ३ प्रतिशतको मूल्य सीमा

नियमित कारोबारका क्रममा प्रत्येक अर्डरमा ३ प्रतिशतसम्म मूल्य परिवर्तन हुन सक्ने व्यवस्था गरिएको छ । यसअघि २ प्रतिशतको सीमा रहेको थियो । यो व्यवस्थाले मूल्य समायोजनलाई क्रमिक र यथार्थपरक बनाउने विश्वास गरिएको छ । जसले बजारमा अनावश्यक झट्का कम गर्न मद्दत पु¥याउन सक्छ ।

प्रि–ओपन सेसनमा ५ प्रतिशत सीमा

बजार खुल्नुअघि बिहान १०ः३० देखि १०ः४५ सम्मको प्रि–ओपन सेसनमा अब ५ प्रतिशतसम्म मूल्य उतारचढाव हुन सक्नेछ । यसअघि यो सीमा निकै कम (२ प्रतिशत) भएकाले प्रारम्भिक मूल्य निर्धारणमा अवरोध देखिएको थियो । नयाँ व्यवस्थाले बजार खुल्नेबित्तिकै हुने अस्वाभाविक उतारचढावलाई सन्तुलनमा राख्ने अपेक्षा लगानीकर्ताहरूको छ ।

सर्किट ब्रेक प्रणालीमा पुनर्संरचना

समग्र बजारका लागि लागू हुने सर्किट ब्रेक प्रणालीमा पनि परिवर्तन गरिएको छ । जसअनुसार बजार ५ प्रतिशत घटबढ हुँदा १५ मिनेट कारोबार स्थगन र बजार ८ प्रतिशत घटबढ हुँदा सो दिनको लागि कारोबार पूर्ण बन्द रहनेछ । यसअघि रहेको ४, ५ र ६ प्रतिशतको चरणगत प्रणाली हटाइएको छ । नयाँ संरचनाले बजारमा आकस्मिक उतारचढाव हुँदा लगानीकर्तालाई सोच्ने समय दिने उद्देश्य राखेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख ८ गते मंगलबार