कञ्चनपुर ।
कञ्चनपुरको पुनर्वास नगरपालिकामा आयोजना हुन लागेको ‘दोस्रो पुनर्वास महोत्सव २०८२’को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । उद्योग वाणिज्य संघ पुनर्वासको आयोजनामा हुने महोत्सव आजदेखि चैत ४ गतेसम्म सञ्चालन हुनेछ । उद्योग वाणिज्य संघ पुनर्वासका अध्यक्ष राजकुमार राईका अनुसार महोत्सवले स्थानीय पर्यटन, संस्कृति, कृषि तथा व्यापार प्रवद्र्धनमा महत्वपूर्ण टेवा पु¥याउने विश्वास लिइएको छ ।
उनले महोत्सवलाई स्थानीय उत्पादन, व्यवसाय तथा सांस्कृतिक पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने अवसरको रूपमा लिइएको बताए ।महोत्सवको उद्घाटन फागुन २५ गते दिउँसो २ बजे हुने तय गरिएको छ । उद्घाटन समारोहका प्रमुख अतिथि भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा रहने कार्यक्रम छ ।
आयोजकका अनुसार महोत्सव परिसरमा कूल ११५ वटा स्टल रहनेछन् । तीमध्ये १५ वटा स्टल होटल तथा खानपानसम्बन्धी रहनेछन् भने १०० वटा स्टल विभिन्न व्यापारिक तथा व्यावसायिक प्रयोजनका लागि राखिनेछन् । यसपटक महोत्सवमा ‘थारू गाउँ’ निर्माण गरी थारू समुदायको संस्कृति, परम्परा, खानपान र जीवनशैलीलाई विशेष रूपमा प्रदर्शन गर्ने व्यवस्था मिलाइएको छ ।
महोत्सव अवधिभर दर्शकलाई मनोरञ्जन प्रदान गर्न दैनिक रूपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति पनि रहनेछ । यसले महोत्सवमा आउने दर्शकलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक वातावरण प्रदान गर्ने आयोजकको विश्वास छ । महोत्सव अवलोकनका लागि प्रवेश शुल्क सामान्य दर्शकका लागि १०० रुपैयाँ निर्धारण गरिएको छ भने विद्यार्थीका लागि ५० रुपैयाँ प्रवेश शुल्क राखिएको छ ।
नियमित रूपमा महोत्सव हेर्न चाहने दर्शकका लागि ७०० रुपैयाँमा सिजनल पासको व्यवस्था गरिएको महासचिव दाउत तामाङ्गले बताए ।
उनले महोत्सव अवधिभर करिब १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरेको छ । यति ठूलो संख्यामा दर्शक सहभागी हुँदा स्थानीय व्यापार र व्यवसायलाई राम्रो अवसर मिल्ने अपेक्षा गरिएको छ ।
उद्योग वाणिज्य संघ पुनर्वासका अध्यक्ष राजकुमार राईका अनुसार महोत्सव सञ्चालनका लागि करिब ५५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । महोत्सवमार्फत करिब २ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ । महोत्सवले विशेषगरी स्थानीय कृषिजन्य उत्पादन, घरेलु उद्योग, हस्तकला तथा लघु उद्यमलाई बजार उपलब्ध गराउने लक्ष्य लिएको छ ।
यसका साथै स्थानीय पर्यटन प्रवद्र्धन गर्दै पुनर्वास क्षेत्रलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्य पनि राखिएको छ । स्थानीयस्तरमा आयोजना हुने यस्ता महोत्सवहरूले क्षेत्रीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै स्थानीय संस्कृति र परम्परालाई संरक्षण तथा प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । आयोजकले महोत्सव सफल बनाउन स्थानीय व्यवसायी, संघ–संस्था, कलाकार तथा सर्वसाधारणलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ ।
यसपटकको पुनर्वास महोत्सवले व्यापारिक गतिविधि बढाउनुका साथै पर्यटन, कृषि र सांस्कृतिक क्षेत्रको प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । आयोजकका अनुसार महोत्सवलाई व्यवस्थित र आकर्षक बनाउन आवश्यक सबै तयारी पूरा भइसकेको छ ।








प्रतिक्रिया दिनुहोस्