सम्पादकीयः आचारसंहिताको पूर्ण पालना आवश्यक



आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन अब केही दिन मात्र बाँकी छ । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारहरूलाई चुनावी प्रचारप्रसार गर्नका लागि समयसीमा तोकिदिएको छ । राजनीतिक दल र उम्मेदवारहरूलाई निर्वाचन आचारसंहितामा रहेर मात्र चुनावी प्रचारप्रसार गर्न भनिएको छ । कतिपय राजनीतिक दल र उम्मेदवारहरूले आचारसंहिताविपरीत कार्य गरिरहेका छ उनीहरूलाई निर्वाचन आयोगले स्पष्टीकरण सोध्ने कार्यसमेत गरिरहेको देखिन्छ । यसअघिका निर्वाचनभन्दा आसन्न यो निर्वाचन केही फरक देखिएको छ । चुनावी प्रचारप्रसार गर्ने पोष्टर टाँस्ने, भित्ते लेखन गर्ने लगायतका केही परम्परागत शैली परिवर्तन भएका छन्, जसका कारण वातावरणमा नकारात्मक प्रभाव पर्नबाट जोगिएको देखिन्छ । त्यसैगरी निर्वाचन खर्चसम्बन्धी निर्वाचन आयोगले गरेको व्यवस्थाअनुसार पनि यो निर्वाचनमा केही खर्चमैत्री भएका पनि देखिन्छन् । अन्य चुनावमा जस्तो यो चुनावमा भोजभतेर खुवाएका तथा रूपैयाँँ पैसा बाँडेका घटनाहरू हालसम्म सुन्नमा आएका छैनन् । यो एकदमै सकारात्मक पक्ष हो । यसले निर्वाचनमा होमिएका राजनीतिक दल र चुनावमा भाग लिएका उम्मेदवारहरूको पनि खर्चमा केही कटौती भएको देखिन्छ । यो पनि एउटा चुनावमैत्री उदाहरण हो ।

निर्वाचन आयोगले सबै सरोकारवाला पक्षलाई लागू हुने गरी निर्वाचन आचारसंहिता बनाएको छ । र उक्त आचारसंहिता सबै पक्षले पूर्णरूपमा पालना गर्न पनि जरुरी छ । पछिल्लो समयमा स्थानीय तहका जनप्रतिनिधिहरू राजनीतिक दल र उम्मेदवारहरूको पक्षमा खुलेरै चुनावी प्रचारप्रसारमा लागेका घटना देखिएका भन्दै निर्वाचन आयोगले ध्यानाकर्षणसमेत गराएको देखिन्छ । केही स्थानीय तहका जनप्रतिनिधिहरू आफ्नो राजनीतिक दल र उम्मेदवारहरूको प्रचारप्रसारका लागि स्थानीय तहका सवारीसाधनहरूसहित प्रचारप्रसारमा लागेका पाइएको र उक्त कार्य निर्वाचन आचारसंहिताविपरीत हो । यस गतिविधिलाई सम्बन्धित जनप्रतिनिधिले गम्भीर भएर रोक्न जरुरी छ । निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी, मितव्ययी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०८२ लाई पूर्णरूपमा पालना गर्न आवश्यक छ । आचारसंहिताको पूर्ण पालना गुर्न सबै सरोकारवाला पक्षहरूको दायित्व हो । सरोकारवाला पक्षहरूले आचारसंहिता पालना गरे नगरेको बारेमा निर्वाचन आयोगले अनुगमन गर्ने तथा आचारसंहिताविपरीत कार्य भएको पाइएमा कानुनी दायरामा ल्याउन पछि हट्नु हुँदैन् । स्थानीय तहका केही जनप्रतिनिधिहरू निर्वाचन आचारसंहिताविपरीत हुने गरी राजनीतिक दल तथा उम्मेदवारहरूको प्रचारप्रसारमा सहभागी भएको भनी उजुरी तथा गुनासो प्राप्त भएको र त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिताको दफा ५ को खण्ड (क)को प्रतिबन्धात्मक वाक्यांशको बुँदा नम्बर (४)मा ‘स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहबाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको क्रममा संलग्न हुन सक्नेछ’ भन्ने व्यवस्था निर्वाचन आयोगले गरेको छ । सोही दफाको खण्ड (ख)ले त्यसरी निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न नहुने भन्ने व्यवस्था पनि गरेको छ । कुनै पनि स्थानीय कार्यपालिकाका पदाधिकारीले यस व्यवस्थाको अधीनमा रही मात्र निर्वाचन प्रचारप्रसारमा सहभागी हुन सक्ने निर्वाचन आयोगले स्पष्ट पारेको छ । तर यसका विपरीत आफ्नै स्थानीय तहमा राजनीतिक दल र उम्मेदवारहरूको प्रचारप्रसार गरेको पाइएको भन्दै निर्वाचन आयोगले ध्यानाकर्षण गराएको छ । आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन जनप्रतिनिधिहरूलाई सचेतसमेत गराएको छ । आयोगले कुनै स्थानीय कार्यपालिकाका पदाधिकारीले निर्वाचन आचारसंहिता, २०८२ प्रतिकूल हुने गरी निर्वाचन प्रचारप्रसार गतिविधि भएको पाइएमा आचारसंहिताको दफा ४८ बमोजिम कारबाही हुने चेतावनी पनि दिएको छ । तसर्थः सम्पूर्ण सरोकारवाला पक्षलगायत स्थानीय तहका कार्यपालिकाका पदाधिकारीहरूले निर्वाचन आचारसंहिताभित्र रहेर काम गर्दै आचारसंहिताको पूर्ण पालना गर्न आवश्यक छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १२ गते मंगलबार