विशेष परिस्थितिबाट सिर्जित नेपालको अहिलेको अस्थिर राजनैतिक अवस्थालाई स्थिर बनाउन र देशमा भ्रष्टाचार रोक्न तथा सुशासन कायम गर्नका लागि घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति जति नजिकिँदै छ, त्यति नै अराजक गतिविधिहरु बढ्दै गएको देखिन्छ । देशलाई स्थिरतामा फर्काउन र भ्रष्टाचारमुक्त समाज निर्माण गरी सुशासन कायम गर्नका लागि आगामी निर्वाचन अत्यन्तै महत्वपूर्ण मानिन्छ । यो निर्वाचनपश्चात् चुनिएर आउने जनप्रतिनिधिहरुले प्रतिनिधिसभामार्फत विभिन्न कानुन निर्माण गर्ने, कार्यान्वयनका लागि पहल गर्ने तथा देशलाई सुशासन कायम गराउनका लागि खेल्ने भूमिका महत्वपूर्ण छ । तोकिएको निर्वाचनको मिति नजिकिएसँगै विभिन्न राजनीतिक दल, विभिन्न आपराधिक समूह तथा विभिन्न धार्मिक सम्प्रदायहरुबीच एकआपसमा भिडाउने, झैझगडा बनाउने, समाजमा अशान्ति कायम गर्नेजस्ता कुकार्यहरु हरेक दिनजसो देशका विभिन्न भागहरुमा भइरहेका देखिन्छन् । यस्ता क्रियाकलापहरुलाई सरकारले कडाइका साथ रोक्न आवश्यक छ । विभिन्न कोणबाट र विभिन्न नामबाट हुने विभिन्न अराजक गतिविधिहरुमाथि निगरानी राख्दै नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याउन आवश्यक छ । निर्वाचनलाई बिथोल्नका लागि, निर्वाचन हुन नदिनका लागि समाजमा घुसपैठ गरी विभिन्न नामहरुबाट हुने यस्ता गतिविधिहरुलाई कडाइका साथ नियन्त्रणमा लिन सरकारले पहल लिन जरुरी छ ।
केही दिनअघि मात्र निर्वाचन बहिष्कारका नाममा नेपाल बन्दजस्ता कार्यहरु गर्दै मसाल जुलुुस प्रदर्शन गर्ने तथा आम नागरिकलाई त्रास हुने गरी कुकर बमजस्ता वस्तुहरु विभिन्न ठाउँहरुमा राखेको पाइएको थियो । त्यसैगरी केही राजनैतिक दलहरुका चुनाव चिन्ह अंकित झण्डाहरु जलाउने, च्यात्ने र त्यसता अराजक गतिविधिहरु विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी पोष्ट गरेर समाजमा अराजकता फैलाउने कार्यसमेत भइरहेका छन् । यस्ता प्रकारका निन्दनीय कार्यमा संलग्न जोसुकै होस् तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याई देशमा कानुनी राज्य छ भन्ने कुराको आम नागरिकलाई विश्वस्त पार्न जरुरी छ । गत केही दिनअघि मात्रै रौतहट जिल्लामा दुई समुदायबीच झडप भइरहेका समाचारहरु बाहिर आएका छन् । निर्वाचनको मुखैमा आएर यस्ता क्रियाकलाप हुनुले निर्वाचनलाई सुरक्षित, भयरहित, धाँधलीरहित वातावरणमा प्रतिकूल असर पार्न सक्ने देखिन्छ । रौतहटमा देखिएको धार्मिक सद्भावविरुद्धको कार्यलाई कदापी पनि सकारात्मक मान्न सकिदैनँ । विभिन्न धर्म, सम्प्रदाय, समुदाय मिलेर बसेको देशमा अराजकता फैलाउने तत्वहरुबाट जोगिन आवश्यक छ । हरेक व्यक्ति आफैँमा संयमित भएर एकअर्काका धार्मिक गतिविधिहरुलाई सम्मान गर्दै उनीहरुविरुद्ध आँच आउने कुनै पनि कार्य नगर्ने हो भने यसप्रकारका समस्याहरु आउन सक्दैनन् ।
रौतहटको गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच भएको झडपले उग्र रुप लिएपछि प्रशासनले कफ्र्यू आदेश समेत जारी गर्नुपर्ने अवस्थाको सिर्जना भयो । मुस्लिम समुदायको मस्जिदमा प्रार्थना भइरहेको बेलामा हिन्दू समुदायले बाजा बजाएको भन्दै विवाद सुरु भएको बताइएको थियो । घटनापछि रौतहटको गौर क्षेत्र तनावग्रस्त बन्न पुगेको थियो । अवस्था असामान्य बन्दै गएपछि प्रशासनले कफ्र्यू जारी गरेको थियोे । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रुग्यासका सेलहरू प्रहार गरेको बताइएको छ । झडपका क्रममा प्रदर्शनकारीहरुले केही सवारीसाधनमा आगजनी गरेका थिए भने घरमा तोडफोड भएको तथा केही व्यक्तिहरु सामान्य घाइते भएको प्रहरीले जनाएको थियो । अवस्था बिग्रन नदिन प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरेको थियो । यो अवस्थामा दुवै पक्ष गम्भीर हुनु जरुरी छ । एउटै समाजमा बस्ने हामी एकआपसमा जुधेर, फुटेर, सत्रु बनेर लडाइँ गर्नु पक्कै पनि सकारात्मक होइन । संयमित बनौँ, एकले अर्काको धर्मलाई सम्मान गरौँ, एकआपसमा मिलौँ, समाजमा शान्ति र भाइचाराको सम्बन्ध मजबुत बनाऔँ । अराजक गतिविधरु आफूबाट हुन नदिऔँ र आगामी निर्वाचनलाई सफल पार्नका लागि भूमिका निर्वाह गरौँ ।








प्रतिक्रिया दिनुहोस्