आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले पूर्वतयारी गरिरहेको छ । आयोगले पूर्वतयारी स्वरुप अधिकांश कार्यहरू सम्पन्न गरिसकेको छ । मतपत्र छपाइदेखि सम्बन्धित ठाउँमा पु¥याउने कार्य पनि अन्तिम चरणमा रहेको छ । निर्वाचन मिति नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारहरू मत माग्नका लागि मतदाताकहाँ भेटघाट गर्ने कार्य गरिरहेका छन् । सोमबारदेखि लागू हुनेगरी निर्वाचन आयोगले चुनावी प्रचार–प्रसारका लागि समयसीमा सार्वजनिक गरिसकेको छ । आयोगका अनुसार फागुन ४ गतेदेखि १८ गते राति १२ बजेसम्म मात्र प्रचार अभियान सञ्चालन गर्न पाइनेछ । फागुन ३ गते राति १२ बजेपछि अर्थात् फागुन ४ गतेदेखि मात्रै जुलुस, आमसभा, कोणसभा, भेला, बैठक तथा अन्य प्रचार गतिविधि गर्न पाइने व्यवस्था गरिएको छ । निर्वाचन आचारसंहिता २०८२ अनुसार सबै राजनीतिक दल, उम्मेदवार, भातृ संगठन तथा सम्बन्धित पक्षहरूले तोकिएका मापदण्ड पालना गर्नु आवश्यक छ । प्रचार अवधिभर निर्वाचनको निष्पक्षता र विश्वसनीयतालाई केन्द्रमा राखेर गतिविधि सञ्चालन गर्न, आचारसंहिता उल्लंघन हुन नदिन आयोगले अनुगमन संयन्त्र परिचालन गरिसकेको र आवश्यक परे कानुनी प्रक्रिया अघि बढाइने चेतावनी पनि दिएको छ । यसैक्रममा निर्वाचन आयोगले निर्वाचनलाई सभ्य, धाँधलीरहित र निष्पक्ष रूपमा सम्पन्न गर्नका लागि राजनीतिक दलहरूलाई ६४ बुँदे निर्देशन जारी गरेको छ ।
आयोगले जारी गरेको आचारसंहिता र निर्देशनलाई सम्पूर्ण राजनीतिक दल, उम्मेदवार लगायत सरोकारवाला पक्षले अक्षरशः पालना गर्न जरुरी छ । निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी दिन वा निर्वाचनसम्बन्धी प्रचलित संघीय कानुनबमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने उद्देश्यले बाधा अवरोध पु¥याउने वा पु¥याउन लगाउने वा थुनछेक गर्ने वा गराउने, कुनै पनि किसिमको हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्ने, कुनै किसिमको क्षति पु¥याउने, धाक धम्की वा डर त्रास देखाउने, सामाजिक प्रतिष्ठामा आघात पु¥याउने, सामाजिक बहिष्कार गर्ने वा सामाजिक बहिष्कार गर्न धम्की दिने, कुनै किसिमले लोभ लालच देखाउने वा आर्थिक प्रलोभन देखाउने, धर्म भकाउने वा प्रतिज्ञा गराउने जस्ता काम गरी प्रभावमा नपार्न आयोगले स्पष्ट निर्देशन दिएको छ । निर्वाचनको अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरेबापत उपहार, पुरस्कार, इनाम, दानदातव्य र बकसको रूपमा नगद वा जिन्सी दिन वा दिन मन्जुर गर्न वा सार्वजनिक भोजको आयोजना गर्न वा त्यस्तो प्रयोजनको लागि नगद वा जिन्सी लिन वा लिन मञ्जुर गर्न वा सार्वजनिक भोजमा सहभागी हुन नहुने तथा निर्वाचन प्रचारप्रसार गर्दा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानमा आँच पु¥याउने वा खलल पार्ने, जनतामा निहित सार्वभौमसत्ता र राजकीय सत्ता वा प्रतिस्पर्धात्मक बहुदलीय संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आँच पु¥याउने वा खलल पार्ने, कुनै धर्म, जात जाति, वर्ग, क्षेत्र वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पु¥याउने वा हिंसात्मक कार्य गर्न दुरुत्साहन गर्ने वा भाषा, धर्म, समुदाय वा क्षेत्रीयताको आधारमा घृणा वा द्बेष उत्पन्न गर्ने कार्य गर्न गराउन नहुने भनिएको छ ।
निर्वाचनको नतिजामा प्रभाव पार्नका लागि कुनै उम्मेदवार वा निजको परिवारको सदस्यको कुनै पनि किसिमले चरित्र हत्या गर्न वा गराउन वा कुनै तवरबाट डर, त्रास तथा धम्की दिन पाइँदैन् । नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व भएको संस्था वा कुनै शिक्षण संस्था वा गैरसरकारी संस्थाको सवारीसाधन प्रयोग गर्न वा गराउन, कुनै सवारीसाधनको प्रयोग गरी ¥याली गर्न वा गराउन नहुने, निर्वाचन प्रचारप्रसारको सिलसिलामा सरकारी कर्मचारी, सुरक्षाकर्मी वा सार्वजनिक सम्पत्तिको प्रयोग गर्न वा गराउन नहुने, उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च गर्न गराउन नहुने लगायतका कार्य नगर्न स्पष्ट निर्देशन दिइएको छ । निर्वाचनलाई धाँधलीरहित, स्वच्छ र मर्यादित रूपमा सम्पन्न गर्नका लागि आयोगले दिएको निर्देशनलाई पूर्णरूपमा पालना गर्न आवश्यक छ ।









प्रतिक्रिया दिनुहोस्