धनगढी ।
लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता विषयक अन्तक्र्रिया कार्यक्रम कैलालीको धनगढीमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी र नेपाल मानव अधिकार संगठनको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
‘स्वच्छ निर्वाचनका लागि नागरिक अभियान’ भन्ने मूल नाराका साथ स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गएिको हो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले स्वच्छ निष्पक्ष र पारदर्शी रुपमा निर्वाचन सम्पन्न गर्न राजनीतिक दल, नागरिक समाज, पत्रकार, सुरक्षा निकाय सबैको दायित्व रहेकाले सबैले आ–आफ्नो ठाउँबाट निर्वाचन आचारसंहिता उल्लघंन गरे–नगरेको अनुगमन गर्न आवश्यक रहेको बताए ।
सुदूरपश्चिम प्रदेशसभा सदस्य पदमबहादुर शाहीले निर्वाचन सम्पन्न गर्न सबैको भूमिका रहेकाले सबैले आचारसंहिता कार्यान्वयन गर्न आवश्यक रहेको बताए । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले फागुन २१ गते हुने निर्वाचनको लागि जिल्लामा शान्ति सुरक्षाको सम्पूर्ण तयारी भइरहेको बताए । मुख्य निर्वाचन अधिकृत भुवनसिंह थापाले निर्वाचन आचारसंहिता पालना गर्दै राजनीतिक दल, नागरिक समाज, पत्रकार र मतदाताहरुले आ–आफ्नो ठाउँबाट सकारात्मक सहयोग गरी निर्वाचन सम्पन्न गर्न आग्रह गरे ।
सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले निर्वाचन आचारसंहिता लागू भइसकेकाले सबै राजनीतिक दलहरुले आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाइसकेको बताए । उनले कर्मचारी व्यवस्थापन तथा निर्वाचनसम्बन्धी सबै सामग्री निर्वाचन क्षेत्रमा पठाउने तयारी भइरहेको बताए ।
इन्सेकका अध्यक्ष विजयराज गौतमले निर्वाचनको राम्रो मतपरिणामका लागि मतदाता शिक्षाको महत्वपूर्ण भूमिका रहेकाले सामाजिक सञ्जालको दुरुपयोग र डिजिटल ट्रोलले मतपरिणाममा असर गर्न सक्ने भएकोले यसको नियमन गर्न आवश्यक रहेको बताए । नेपाल मानव अधिकार संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले लोकतान्त्रिक व्यवस्थालाई व्यवस्थित गर्न र नयाँ जनादेशका लागि निर्वाचन महत्वपूर्ण हुने भएकोले सबै राजनीतिक दलहरुले इमान्दारीपूर्वक आफ्नो नयाँ योजना घोषणापत्रमा उल्लेख गरी आचारसंहिता कार्यान्वयन गर्नुपर्ने बताए ।
इन्सेक केन्द्रीय कार्यालयका वरिष्ठ अधिकृत तथा सूचना अधिकारी कृष्ण गौतमले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको परिणामस्वरुप फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित वातावणमा सपन्न गर्नका लागि नागरिक समाजले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा निर्वाचनको अनुगमन गर्न आश्वयक रहेको बताए ।
नेकपा एमालेका सुदूरपश्चिम प्रदेश सचिव रणबहादुर चन्दले निर्वाचन सभ्य र भव्य बनाउन निर्वाचन आचारसंहिता लागू भएदेखि आचारसंहिता कार्यान्वयन भए–नभएको र शान्ति सुरक्षा कायम गर्नका लागि सम्बन्धित निकायले कडाइका साथ निगरानी गर्नुपर्ने बताए । नेपाली काँग्रेस, कैलालीका प्रचार विभागका प्रमुख तपेन्द्र भुषालले कारागारबाट भागेका कैदीबन्दीहरुको कारण र सामाजिक सञ्जालमा भ्रामक प्रचारप्रसारका कारण मतदाताहरुमा असुरक्षा बढेको बताए ।
राष्ट्रिय मानव अधिकार आयोगका निमित्त प्रमुख झंकरबहादुर रावलले निर्वाचन अनुगमन तथा समग्र मानव अधिकारको अनुगमन गर्नु राष्ट्रिय मानव अधिकार आयोगको संवैधानिक दायित्व रहेकाले नियमित अनुगमन गरिरहेको र हालसम्म निर्वाचन आचारसंहिता उल्लघंनका कुनै पनि घटना नआएको बताए । फाया नेपालकी अध्यक्ष गोमा आचार्यले प्रमुख राजनीतिक दलहरुले महिला उम्मेदवारलाई टिकट नदिँदा महिला प्रतिनिधित्व घटिरहेकाले राजनीतिक क्षेत्रमा महिलाहरुको पहुँच हुन नसकेको बताइन् ।









प्रतिक्रिया दिनुहोस्