धनगढी ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिका–९ स्थित सुनकुडा माध्यमिक विद्यालयको भवन निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा पाँच जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार विद्यालयको ३ तले १२ कोठे नमूना भवन निर्माणका क्रममा सार्वजनिक खरिद ऐन तथा नियमको पालना नगरी बोलपत्र बिना नै विद्यालय व्यवस्थापन समितिमार्फत निर्माण गरिएको पाइएको छ ।
वास्तविक निर्माण कार्यभन्दा बढी मूल्यांकन गरी भुक्तानी गरिएको, नभएको काम भएको देखाई रकम निकासा गरिएको तथा कर कट्टी नगरी गैरकानुनी लाभ लिएको पुष्टि भएको अख्तियारले जनाएको छ । अनुसन्धानबाट सार्वजनिक निर्माणतर्फ १७ लाख ७५ हजार रूपैयाँँभन्दा बढी, विद्युतीय वायरिङ तथा औजार खर्चमा २ लाख २६ हजार रूपैयाँँभन्दा बढी र कर कट्टी नगरी विद्यालयको आन्तरिक कोषबाट ६ लाख ५२ हजार रूपैयाँँ तिरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपाने जानकारी दिए ।
उनका अनुसार यसरी कुल २६ लाख ५४ हजार ६८३ रूपैयाँँ १२ पैसा सरकारी तथा सार्वजनिक सम्पत्तिमा हिनामिना भएको आयोगको निष्कर्ष छ । भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश बहादुर अधिकारी, प्रधानाध्यापक धन बहादुर विष्ट, लेखापाल हर्क बहादुर विष्ट, बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर विष्ट र तत्कालीन सब–इन्जिनियर किरण भण्डारीविरुद्ध कैद, जरिवाना तथा बिगो असुल उपरको मागदाबी लिइएको छ । अख्तियारले सार्वजनिक संस्थामा हुने अनियमितता र भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाइने स्पष्ट गर्दै दोषीमाथि कडा कारबाही गरिने जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्