शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
देशभरका विभिन्न स्थानीय तहका वडा अध्यक्ष, पालिका अध्यक्ष, उपमहानगरदेखि महानगरका प्रमुख, प्रदेशका पूर्वमुख्यमन्त्रीदेखि प्रदेशसभा सदस्यहरू चुनावी मैदानमा होमिएका छन् । देशका ६ महानगरमध्ये दुई महानगरका प्रमुख चुनावी मैदानमा होमिएका हुन् । देशको संघीय राजधानीसमेत रहेको काठमाडौँ महानगरका नगरप्रमुख बालेन्द्र शाह (बालेन) र भरतपुर महानगरकी नगरप्रमुख रेनु दाहाल चुनावी मैदानमा होमिएका हुन् ।
माघ ४ गते काठमाडौँको महानगरको नगरप्रमुखबाट राजीनामा दिएका शाह राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारसहित चुनावी मैदानमा होमिएका हुन् । उनलाई रास्वपाले सोमबार मधेशको राजधानी जनकपुरमा परिवर्तन उद्घोष सभा आयोजना गर्दै औपचारिक रूपमा पार्टीको प्रधानमन्त्रीको उम्मेदवारको रूपमा घोषणा गरेको थियो । जहाँ उनले पहिलोपटक राजनीतिक भाषण गरे ।
मैथिली भाषामा १० मिनेट भाषण गरेका बालेन संघीयताबारे रास्वपाको आगामी बाटो र अबको राजनीतिक यात्राबारे जानकारी दिए ।
बालेन प्रतिनिधिसभाको चुनाव भने नेपालको पूर्वी जिल्ला झापा– ५ बाट लड्दैछन् । उनका प्रतिद्वन्द्वी छन्, नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली । दुवैजनाले मंगलबार झापा– ५ बाट औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन् । एमालेले पनि ओलीलाई भावी प्रधानमन्त्री रूपमा अघि सारेको छ । नयाँ दल रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार बनेका बालेन र नेकपा एमालेबाट २०४८ सालदेखि चुनाव जित्दै आएका ओलीबीचको सम्भावित भिडन्तले झापा ५ चुनावको इपीसेन्टर नै बनेको छ ।
सो क्षेत्रबाट लगातार जित्दै आएका ओली अर्को जीतको खोजीमा हुनेछन् भने बालेन घण्टी चिन्हमार्फत ओलीको एकल दबदबा र विजय यात्रामा ब्रेक लगाउन चाहन्छन् । विगतमा बालेन काठमाडौँ नगरप्रमुख र ओली प्रधानमन्त्री हुँदा दुईजनाबीच निकै तिक्ततापूर्ण सम्बन्ध थियो । बालेन र ओलीबीच अस्तित्वको लडाइँ हुनेछ, झापा ५ मा । बालेनले २०७९ सालको स्थानीय तहको निर्वाचनमा लौरो चिन्ह लिएर स्वतन्त्रबाट काठमाडौँको नगरप्रमुख जितेका थिए ।
भरतपुर महानगरपालिकाकी नगरप्रमुख रेनु दाहाल पनि प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी छन् । उनले मंगलबार नै राजीनामा दिएकी थिइन् । नेपाली कम्युनिस्ट पार्टीबाट उनले चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएकी हुन् । दाहालले रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी थिइन् । दाहालले भरतपुर महानगरपालिकामा दुई पटक प्रमुखको जिम्मेवारी निर्वाह गरेकी थिइन् । उनी यसअघि संविधानसभा सदस्यसमेत भइसकेकी छन् ।
यस्तै, देशभर रहेका ११ उपमहानगरमध्ये धरान महानगरका प्रमुख हर्कराज राई (साम्पाङ)ले राजीनामा दिएका छन् । केही समयअघि मात्रै राईको नेतृत्वमा श्रम संस्कृति पार्टी दर्ता भएको छ । राई उक्त पार्टीका अध्यक्ष छन् । मंगलबार उनले सुनसरी–१ बाट मनोनयन दर्ता गरेका छन् । आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै उनी चुनावी मैदानमा उत्रिएका हुन् । साम्पाङसँग धरान उपमहानगरपालिका– १७ का वडाध्यक्ष पदबाट राजीनामा दिँदै मनोज भट्टराई प्रतिस्पर्धा गर्दैछन् ।
२०७४ र २०७९ का स्थानीय तहको निर्वाचनमा लगातार दुईपटक वडाध्यक्ष निर्वाचित भएका भट्टराई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट उम्मेदवार बनेका छन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर जितेका थिए । यस्तै नेपालगन्ज उपमहानगरका उपप्रमुख कमरुद्दिन राई पनि चुनावी मैदानमा होमिएका छन् । २०७९ को निर्वाचनमा जनता समाजवादी पार्टी नेपालबाट जितेका राई सोही पार्टीबाट बाँके निर्वाचन क्षेत्र २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, कैलालीको टीकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा थारू पनि प्रतिनिधिसभा उम्मेदवार बनेका छन् । २०७९ को स्थानीय चुनावमा नागरिक उन्मुक्ति पार्टीबाट मेयर जितेका थारूलाई नेकपाले सांसद पदको टिकट दिएको हो । उनले कैलाली–१ बाट उम्मेदवारी दर्ता गराएका छन् । २०७९ मा कैलाली–१ बाट गत चुनाव रञ्जिता श्रेष्ठले जितेकी थिइन् । इलामको सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् ।
नेकपाबाट इलाम १ बाट उम्मेदवार बनेका हुन् । ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापा पदबाट राजीनामा दिएर नेकपा एमालेबाट ओखलढुंगाबाट उम्मेदवार बनेकी हुन् । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई राजीनामा दिएर उदयपुर २ बाट स्वतन्त्र उम्मेदवारीको दिएका छन् । वीरगञ्ज महानगरपालिका–१० का अध्यक्ष सुशील साह कानु र वडा नं २० का अध्यक्ष रामकिशोर (पराग) सिंह प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् ।
कानु राष्ट्रिय स्वतन्त्र पार्टीबाट पर्सा क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका छन् भने सिंह उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका हुन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा पनि दोस्रो कार्यकाल पूरा नगर्दै स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बने । उनलाई नेकपा एमालेले उम्मेदवार बनाएको हो । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाका प्रमुख असिम राईले पनि पदबाट राजीनामा दिँदै नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट सोलुखुम्बुको प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।
प्रदेश सांसद त्यागेर उम्मेदवार
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न एक दर्जन बढी प्रदेशसभा सदस्यले पदबाट राजीनामा दिएका छन् । देशभरका सात वटा प्रदेशबाट दर्जन बढीले राजीनामा दिएका हुन् । बागमती प्रदेशका पाँच, मधेशका चार, लुम्बिनीका चार र सुदूरपश्चिम प्रदेशमा एक गरी १४ जनाले राजीनामा दिएका हुन् ।
यसरी राजीनामा दिनेमा नेकपाका पाँच, एमालेका तीन, काँग्रेस, राप्रपा, रास्वपा, नागरिक उन्मुक्ति, लोसपा र जनमतबाट एक÷एकजना छन् ।
प्रदेशसभा सचिवालयका अनुसार राजीनामा दिनेमा काँग्रेसका कुन्दनराज काफ्ले, एमालेका अमनकुमार मास्के र प्रकाश श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलाल र वसन्तप्रसाद मानन्धर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सुनिल केसी रहेका छन् । नेपाली काँग्रेसका काफ्लेले राजीनामा दिए पनि टिकट पाएनन् ।
बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री समेत भइसकेका उनी दोलखाबाट प्रतिनिधिसभाको उम्मेदवार हुन चाहेका थिए । एउटा मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा नेपाली काँग्रेसले पूर्वपत्रकार अजयबाबु शिवाकोटीलाई उम्मेदवार बनाएको छ । नेकपा एमालेबाट अमनकुमार मास्के काठमाडौँ–६ बाट उम्मेदवार बनेका छन् । २०७९ मा काठमाडौँ ६ (ख)बाट निर्वाचित मास्केले प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन राजीनामा दिएर चुनावी मैदानमा होमिएका हुन् ।
काठमाडौँ ७ (ख)बाट ०७४ र ०७९ मा निर्वाचित प्रकाश श्रेष्ठ काठमाडौँ ७ बाट उम्मेदवार बनेका छन् । पूर्वकृषि तथा पशुपन्छी विकासमन्त्री समेत रहेका उनलाई एमालेले उम्मेदवार बनाएको हो । नेकपाका पनि दुईजना प्रदेशसभा सदस्यले राजीनामा दिएका छन् । प्रदेशसभा सदस्य युवराज दुलाल र बसन्त मानन्धरले राजीनामा दिएका हुन् । २०७४ र ०७९ गरी दुईपटक प्रदेशसभा सदस्य निर्वाचित दुलाललाई नेकपाले सिन्धुपाल्चोक २ बाट उम्मेदवार बनेका छन् ।
२०७४ र ०७९ मा काठमाडौँ ७ (क)मा प्रदेशसभा सदस्य निर्वाचित वसन्त मानन्धर काठमाडौँ ७ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका छन् ।२०७४ मा नेकपा एमाले र २०७९ मा एकीकृत समाजवादीबाट जितेका मानन्धर हाल नेकपामा आबद्ध छन् । मधेसका पूर्वमुख्यमन्त्री एवं जनमतका प्रदेशसभा सदस्य सतीश सिंह, मधेशका पूर्वसभामुख तथा एमाले नेता रामचन्द्र मण्डल, नेकपाका भरतप्रसाद साह र रहबर अन्सारी, प्रमोद जयसवालले पनि राजीनामा दिएका छन् ।
२०७९ को निर्वाचनमा जनमत पार्टीबाट सप्तरी क्षेत्र नम्बर २ प्रदेशसभा (क)बाट निर्वाचित सिंहलाई नेकपा एमालेले उम्मेदवार बनाएको थियो । उनले स्वाभिमान पार्टी नामक दलबाट उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट महोत्तरी क्षेत्र नं ४ का लागि एकल सिफारिस भएका सरोजकुमार यादव टिकटबाट वञ्चित भएका छन् । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका यादव एकल सिफारिसमा परेका थिए । पार्टीले निलम अधिकारीलाई टिकट दिएको छ । २०७९ सालको प्रदेशसभा निर्वाचनमा महोत्तरी क्षेत्र ४ (क)बाट निर्वाचित भएका थिए । मधेशका पूर्वसभामुख तथा एमाले नेता रामचन्द्र मण्डल धनुषा १ बाट उम्मेदवार बनेका छन् ।
यस्तै मधेश प्रदेशसभा सदस्य प्रमोद जयसवाल नेकपा एमालेबाट पर्सा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका छन् । मधेश प्रदेश तत्कालीन नेकपा माओवादी केन्द्र संसदीय दलका नेता र प्रदेशसभा सदस्यबाट राजीनामा दिएका भरतप्रसाद साह नेकपाबाटै महोत्तरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् । यस्तै नेकपा परित्याग गरेका रहबर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा ४ बाट उम्मेदवार बनेका छन् ।
लुम्बिनी प्रदेशसभाका चारजना प्रदेशसभा सदस्य पनि राजीनामा दिएर चुनावी मैदानमा होमिएका हुन् । राजीनामा दिनेहरूमा नेपाली कम्युनिस्ट पार्टीबाट प्रदेशसभा सदस्य रहेका धनबहादुर मास्की दाङ क्षेत्र नम्बर ३ (ख) र कृष्णा केसी बाँके क्षेत्र नम्बर १(क) रहेका छन् । २०७४ र २०७९ मा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएकी थिइन् । उनले बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दर्ता गराएकी छन् ।
नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी र लोसपाका कन्हैया बनियाले पनि राजीनामा दिएका छन् । २०७९ सालको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ (१)मा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट निर्वाचित उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुपन्देही–४ मा उम्मेदवार बनेका छन् । २०७९ मा बर्दियाबाट जितेका नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीले राजीनामा दिएर उज्यालो नेपाल पार्टीका महासचिव बनेका चौधरी यसअघि नागरिक उन्मुक्ति पार्टी लुम्बिनी प्रदेशसभाको संसदीय दलको नेता तथा प्रदेशको भौतिक पूर्वाधार तथा यातायातमन्त्री थिए । उनी उज्यालो नेपाल पार्टीबाट बर्दिया २ मा उम्मेदवार बनेका छन् ।
सुदूरपश्चिम प्रदेशबाट एकजना प्रदेशसभाले राजीनामा दिएका छन् । प्रतिनिधिसभा सदस्यमा चुनाव लड्न सुदूरपश्चिम प्रदेशसभा सदस्य डा.ताराप्रसाद जोशीले आफ्नो पदबाट राजीनामा दिएका छन् । २०७९ सालको निर्वाचनमा जोशी डडेल्धुरा निर्वाचन क्षेत्र १ (ख)बाट निर्वाचित भएका थिए । उनले उक्त क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएर जितेका थिए । पछिल्लो समय उज्यालो नेपाल पार्टीमा जोडिएका उनी रास्वपासँगको एकता टुटेपछि पनि एकताको पक्षमा उभिँदै रास्वपामै रहेका थिए । उनलाई रास्वपाले डडेल्धुराबाट उम्मेदवार बनाएको छ ।
मन्त्री त्यागेर चुनावी मैदानमा

भदौ २३ र २४ को जेनजी आन्दोलनपछि नागरिक सरकारको मन्त्री बनेका चारजना मन्त्री प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् ।नागरिक सरकारबाट राजीनामा दिएर उम्मेदवार बन्नेमा कुलमान घिसिङ, जगदीश खरेल, बब्लु गुप्ता र महावीर पुन रहेका छन् । सबैभन्दा पहिला घिसिङले राजीनामा दिएका थिए । उज्यालो पार्टी नेपालका अध्यक्ष समेत रहेका घिसिङ काठमाडौँ ३ बाट उम्मेदवार बनेका हुन् । घिसिङले नागरिक सरकारमा ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
मन्त्री पदमै बहाल हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गरेका उनले १२ दिनमै सहमति तोडेर उज्यालो पार्टीको नेतृत्व गरेका थिए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मंगलबार नै राजीनामा दिएर म्याग्दी १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनले स्वतन्त्र उम्मेदवारी दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सघाउनेछ । सञ्चारमन्त्रीबाट सोमबार राजीनामा दिएका जगदीश खरेल रास्वपा प्रवेश गरेका छन् । उनलाई उपसभापति डीपी अर्यालले घण्टी घरमा स्वागत गरे । खरेल ललितपुर– २ बाट रास्वपाबाट उम्मेदवार बनेका छन् । यस्तै खेलकुदमन्त्रीबाट राजीनामा दिएका बब्लु गुप्ता रास्वपाबाट सिरहा १ बाट उम्मेदवार बनेका छन् ।









प्रतिक्रिया दिनुहोस्