निरन्तर विवाद समाधानको प्रयास जारी रहे पनि दुवै पक्ष आफ्ना अडानबाट पछि नहट्दा सहमति हुन सकेको छैन । पार्टी विभाजनको गम्भीर मोडमा पुगेको विवाद समाधानमा ‘बे्रक थु्र’ नभए नेपाली काँग्रेस विभाजनको सम्भावना बढेको छ ।

कांग्रेस विशेष महाधिवेशनको बन्द सत्र
काठमाडौँ, २९ पुसः नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्रमा सहभागीहरु । तस्बिरः हरिराम भेटुवालररासस
काठमाडौँ ।
नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेस फुटको संघारमा पुगेको छ । काँग्रेसभित्र देखिएको विवाद समाधान हुन नसकेपछि पार्टी फुटको संघारमा पुगेको हो । पुस २७ गतेदेखि नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशन जारी छ । विशेष महाधिवेशनलाई सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष र नेता डा.शेखर कोइराला नेतृत्वको मध्यमार्गी धारले मान्यता दिएको छैन ।
पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृृत्व गरेको विशेष महाधिवेशन पक्षधर समूह नवीन काँग्रेसको परिकल्पनासहित नीति, नेतृत्व र विधानसमेत फेर्ने तयारीमा जुटेको छ । मंगलबारसम्म ६० प्रतिशतभन्दा बढी महाधिवेशनको पक्षमा नाम दर्ता र हस्ताक्षर गरेको उक्त पक्षको दाबी छ । मंगलबार त पार्टी विभाजनलाई बल पुग्ने गरी नेतृत्व परिवर्तनको लागि मनोनयनसमेत दर्ता भइसकेको छ ।
विवादको हल नभए बुधबार नयाँ नेतृत्व चयनका लागि मतदानको कार्यतालिका छ । काँग्रेसभित्रको विवाद समाधान नभए निर्वाचनमार्फत पार्टीको नयाँ नेतृत्व चयन हुनेछ । विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयन गरे संस्थापन पक्षले महामन्त्रीद्वयलाई पार्टीबाट निष्कासन गर्ने सम्भावना छ । दुवै पक्षबीच सहमतिमा ‘ब्रेक थ्रु’ नभए प्राविधिक रूपमा नेपाली काँग्रेस फुट्ने निश्चित छ ।
महामन्त्रीद्वयलाई पार्टीले कारबाही र निष्कासनको निर्णय गरे नेपाली काँग्रेस तेस्रोपटक फुट्नेछ । त्यसो त नेपाली काँग्रेस स्थापनापछि अहिलेसम्म दुईपटक पार्टीमा ठूला विभाजन भएका छन् । नेपाली काँग्रेसको जति लामो इतिहास छ । उति नै लामो गुट र फुटको इतिहास छ । नेपाली काँग्रेस पहिलोपटक २००९ सालमा विभाजन भएको थियो । त्यतिबेला मातृकाप्रसाद कोइराला प्रधानमन्त्री र वीपी कोइराला पार्टी सभापति थिए ।
पार्टीका निवर्तमान सभापतिसमेत रहेका मातृका वीपी गुटको कारबाहीपछि पार्टी विभाजनतर्फ गए । काँग्रेस एकैपटक चार चिरा भएको थियो । दोस्रोपटक वर्तमान सभापति शेरबहादुर देउवाले नै २०५९ सालमा फुटाएका थिए । त्यतिबेला पार्टी फुट्दा देउवा प्रधानमन्त्री थिए । सभापति थिए गिरिजाप्रसाद कोइराला । २०५७ सालको महाधिवेशनमा देउवा कोइरालासँग सभापतिमा पराजित भएपछि पार्टीभित्र आन्तरिक द्वन्द्व चर्किएको थियो ।
विवादकै बीच पार्टीको निर्देशनविपरीत देउवा देशमा विद्यमान संकटकालको समय लम्ब्याए । कोइराला पक्षको बैठकले देउवालाई कारबाही ग¥यो । पार्टीले कारबाही गरेपछि देउवाले आफू पक्षीय नेताको भेला बोलाएर नयाँ पार्टी गठन गरे । नेपाली काँगे्रस (प्रजातान्त्रिक) गठनको घोषणा गर्दै आफू सभापति बने । तर देउवाले पाँच वर्षपछि पार्टीलाई नेपाली काँग्रेसभित्रै विलय गराएका थिए । त्यसयता उनले पटक–पटक पार्टी र सरकारको नेतृत्वमा एकछत्र राज गरिरहे ।
पाँचपटक प्रधानमन्त्री र दुईपटक पार्टी सभापति भइसकेका देउवा अब विधानतः नेपाली काँग्रेसको नेतृत्वमा दोहोरिन पाउँदैनन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि त पूर्णबहादुर खड्कालाई कार्यबाहक दिए पनि सभापतिको रूपमा सक्रिय नै छन् । पार्टी सत्ताबाट सम्मानजनक बर्हिगमनको निर्णायक समयमा देउवाले विशेष पक्षधरको परिवर्तनको आवाज समयमै नसुन्दा नेपाली काँग्रेस अभूतपूर्ण संकटसँग गुज्रिरहेको छ ।
सहमतिको प्रयास जारी, संवाद नतिजाविहीन
पुस २७ र २८ गतेसम्म हुने भनिएको नेपाली काँग्रेस दोस्रो विशेष महाधिवेशन लम्बिएको छ । मंगलबार बन्दसत्र सकिएको छ भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका दुवै प्रतिवेदन पारित गरिएको छ । निर्णायक मोड पुगेको महाधिवेशनमार्फत आज नयाँ नेतृत्वको लागि मतदान र परिणाम घोषणा हुनेछ ।
महाधिवेशन चलिरहेकै समयमा मंगलबार सहमतिका लागि दिनभर त्रिपक्षीय छलफल भएको थियो । सहमतिका लागि विशेष महाधिवेशन पक्षधरद्वारा गठित वार्ता समिति र संस्थापन पक्षबीच छलफल भए पनि कुनै निष्कर्ष निस्किएन । विवाद समाधानको लागि भन्दै सभापति देउवा पनि लगातार आफूनिकट र इतरपक्षसँग निरन्तर छलफलमा छन् ।
तीन दिनदेखि दिनरात नभनी वार्ता भए पनि सबै वार्ता र छलफल परिणामविहीन बन्दै गएका छन् । तारन्तारको सहमति प्रयास अपेक्षाकृत रूपमा सुखद् नरहेको नेताहरूको अभिव्यक्तिबाट प्रष्ट हुन्छ । संस्थापन पक्षले निरन्तर विशेष महाधिवेनलाई अस्वीकार गरिरहेको छ । संस्थापन पक्षका नेताहरूले विशेष पक्षधर सहमतिमा नआए कारबाही गर्ने चेतावनी दिइरहेका छन् ।
दुवै पक्ष आफ्ना अडानबाट पछि नहट्दा सहमतिको प्रयास क्षीण बन्दै गएको छ । विशेष महाधिवेशन पक्षधरले सभापति देउवाको राजीनामा बटमलाइन बनाएको छ । पार्टीमा सहमतिको सम्भावना न्यून बन्दै गइरहेको बेला मंगलबार साँझ महामन्त्री गगन थापाले बन्दसत्र समापनमा सम्बोधन गर्दै पार्टीमा अब सहमतिको सम्भावना सकिएको संकेत गरे । उनले भृकुटीमण्डपको हलबाट हुने दोहो¥याए ।
उनले भने, ‘यो विशेष महाधिवेशन हो । यो हलबाट निर्णय गरेर ठिक छ भनेर भन्दा मात्रै दुईवटा महामन्त्रीले मान्नुपर्छ । यतिका साथीहरू आएर बस्नुभएको छ । उहाँहरूले ल यो निर्णय ठिक छ भनेपछि त्यो नै निर्णय हुन्छ ।’ अर्का महामन्त्री विश्वप्रकाश शर्माले समेत प्रधानमन्त्री बन्ने गरी गगन थापालाई अघि बढाउने बताएका छन् । यता संस्थापन पक्षले सहमतिस्वरुप अब महामन्त्रीहरूसँगै वार्ताको प्रयास गरेको छ । बुधबार बिहान केन्द्रीय समितिको बैठक आह्वान गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्