काठमाडौँ ।
विश्व खेलकुदमै निक्कै कम यस्ता प्रतिद्वन्दिता छन्, जसलाई ‘एल क्लासिको’सँग तुलना गर्न सकिन्छ । स्पेनिस लिगका यी दुई टिमको प्रतिस्पर्धा केवल फुटबलको मैदानमा मात्र सीमित छैन । यो प्रतिष्ठा र पहिचानको पनि लडाइँ हो । ‘एल क्लासिको’मा रियाल मड्रिडले स्पेनिस राजधानीको प्रतिनिधित्व गर्दा बार्सिलोनाले क्याटालन क्षेत्रको गौरव बोक्ने गर्दछ । यस्तै कारणले गर्दा स्पेनसँगै विश्वभरकै फुटबल समर्थकमाझ बार्सा र रियालको प्रतिस्पर्धाले बेग्लै रौनक र रोमाञ्चकता थप्ने गर्छ ।
‘एल क्लासिको’का रमाइला किस्सा
सन् १९०० दशकको सुरुवातमा यी दुई टिमले पहिलोपटक प्रतिस्पर्धा गरेका थिए । १९०२ को मे १३ मा पहिलोपटक प्रतिस्पर्धामा उत्रिँदा बार्सिलोनाले रियालविरुद्ध ३–१ को जित निकालेको थियो । तर, १९२९ मा ला लिगा सुरु भएपछि मात्रै यी दुई टिमबीचको प्रतिस्पर्धाले चर्को रूप लिन सुरु ग¥यो । सोही वर्ष भएको स्पेनिस लिगको पहिलो भिडन्तमा रियालले बार्सिलोनाविरुद्ध २–१ को जित दर्ता गरेको थियो ।
स्पेनिस गृहयुद्ध र त्यसपछि फ्रान्सिस्को फ्रान्कोको तानाशाहीको समयमा विशेष गरी फुटबल क्लबहरू आफ्नो क्षेत्रको पहिचान र प्रतीक बने । बार्सालाई क्याटलान विद्रोहको गढका रूपमा हेरिन्थ्यो । रियाल प्रायः केन्द्रीय शासनसँग सम्बन्धित थियो । सन् १९४३ मा यी दुई टिमबीच प्रतिस्पर्धा हुँदा बार्सिलोनाविरुद्ध रियालले ११–१ को जित निकालेको थियो । ‘एल–क्लासिको’ इतिहासमा यो नै अहिलेसम्मको फराकिलो जित हो ।
१९५० को दशकमा अर्जेन्टिनाका चर्चित फरवार्ड अल्फ्रेडो डी स्टेफानो भित्र्याउन यी दुई टिमबीच अर्को प्रतिस्पर्धा चल्यो । दुवै टिमले स्टेफानोलाई भित्र्याएको दाबी गरे पनि यसमा रियालले बाजी मा¥यो । स्टेफानोको आगमनसँगै रियालले लगातार पाँचपटक युरोपियन कपको उपाधि जित्यो । करिब एक दशकसम्म बार्सिलोनाका निम्ति स्टेफानो प्रमुख ‘डर’ बने ।
१९७० को दशकमा डच फरवार्ड योहान क्रुफले बार्सिलोनाको फुटबललाई शैलीलाई आधुनिकीकरण गरे । १९७४ मा रियालको मैदान सान्टियागो बर्नबेउमै ५–० को जित निकाल्नु ‘एल–क्लासिको’ मा क्रुफ युगको सबैभन्दा प्रभावशाली प्रदर्शन थियो । क्रुफले बार्सिलोनामा प्रारम्भिक ‘टिकी–टाका’ शैली भित्र्याएका थिए ।
२०१० को दशक ‘एल–क्लासिको’मा मेसी र रोनाल्डोको युग बन्यो । यही समयलाई ‘एल–क्लासिको’ प्रतिद्वन्दिताको सबैभन्दा उच्च विन्दु पनि भन्ने गरिन्छ । मैदानमा अर्जेन्टिनी फरवार्ड लियोनल मेसी र पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो प्रतिस्पर्धामा हुँदा ‘टेक्निकल जोन’मा पेप ग्वार्डिओला र जोजे माउरिन्होबीच छुट्टै रणनीतिक लडाइँ रहन्थ्यो ।
सन् २०१० मा रियालकै मैदानमा बार्सिलोनाले ५–० को जित निकालेको थियो । विश्व फुटबलमै बार्सिलोनाको यो प्रदर्शनलाई ‘ट्याक्टिकल मास्टरक्लास’ पनि भन्ने गरिन्छ । बार्सिलोनाको उक्त जित ‘मानिता’ उपनामले पनि चिनिन्छ । सन् २०१४ मा भएको कोपा डेल रेअन्तर्गत रियालका ग्यारेथ बेलले लामो दौड लगाउँदै गरेको गोल पनि ‘एल–क्लासिको’ इतिहासमा अविस्मरणीय छ ।
बेलको यो दौड फुटबल समर्थकमाझ ‘बेल स्प्रिन्ट’ले परिचित छ । सन् २०१७ मा ला लिगा उपाधिका निम्ति जित्नैपर्ने खेलमा बार्सिलोनाले रियालविरुद्ध ३–२ को रोमाञ्चक जित निकाल्दै लिग सुनिश्चित गरेको थियो । यही खेलको अन्तिम समयमा निर्णायक गोल गरेपछि बार्सा फरवार्ड लियोनल मेसीले सान्टियागो बर्नबेउमा जर्सी खोलेर चर्चित सेलिब्रेसन गरेका थिए ।
मेसी ‘एल–क्लासिको’का उच्च गोलकर्ता हुन् । उनले सन् २००४ देखि २०२१ सम्म बार्सिलोनालाई आफ्नो पहिचान बनाएका मेसीले रियालविरुद्धमात्रै कूल २६ गोल गरेका छन् । ‘एल–क्लासिको’ इतिहासमा हालसम्म रियालले १०६ खेलमा जित निकालेको छ । बार्सिलोनाले १०४ खेलमा विजयी भएको तथ्यांक छ । यी दुई टिमबीच भएका ५२ खेल बराबरीमा समाप्त भएको छ ।









प्रतिक्रिया दिनुहोस्