कोइला बालेर सुत्दा निसास्सिएर मृत्यु हुने घटना बढ्दै



नन्दराम जैशी । सुर्खेत ।

घटना १

सुर्खेतको वीरेन्द्रनगरमा यही पुस १७ गते कोइला बालेर सुतेका एकै परिवारका तीनजना बेहोस अवस्थामा फेला परे भने एउटा शिशुको निसास्सिएर मृत्यु भयो । सुर्खेतको भेरीगंगा नगरपालिका–२ घर भई हाल वीरेन्द्रनगर–१२ स्थित कोठा भाडामा बस्दै आएकी ३० वर्षीया तारा बुढा, उनकी भदैनी संगम बुढार १० वर्षका छोरा प्रकाश बुढा बेहोस अवस्थामा फेला परेका थिए भने ताराकी ३८ दिनकी छोरी प्रतीक्षा बुढाको निसास्सिएर मृत्यु भयो । कोठाभित्र कोइला बालेर सुतेका उनीहरू बिहान करिब १० बजेसम्म नउठेपछि घरधनीले बोलाउँदा तीनजना कोठाभित्र बेहोस र एक शिशु मृत अवस्थामा फेला परेका थिए ।

घटना २

घरभित्र कोइला बालेर सुत्दा २०८१ पुस ४ मा निसास्सिएर दुईजनाको मृत्यु भयो । वीरेन्द्रनगर–४ भैरवस्थानको समावेशी टोलमा घरभित्र सुतिरहेका आमाछोराको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सोही ठाउँका ३० वर्षीया देवीसरा थापा र उनका ६ वर्षीय छोरा रियान थापाको मृत्यु भएको हो । देवीसराका ९ वर्षीया छोरी रिया थापा भने बेहोस भएकी थिइन् ।

बेहोस अवस्थामा गम्भीर रहेकी उनको तत्काल कर्णाली प्रदेश अस्पतालमा उपचारपछि निको भयो । बेलुका खाना खाएर सुतेका उनीहरू बिहान अबेरसम्म घरबाट कोही ननिस्किएपछि प्रहरीलाई खबर आएको थियो । प्रहरीले तीनैजनालाई अस्पताल पु¥याए पनि चिकित्सकले आमा देवीसरा र छोरा रियानलाई मृत घोषणा गरेका थिए ।

घटना ३

वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुद्बुदी गाउँमा २०७८ पुस ३० गते राति कोइला बालेर सुत्दा निस्सासिएर एकै घरका चारजनाको ज्यान गयो । शिवालय गाउँपालिका–४ जाजरकोट निवासी ३५ वर्षीय कल्पा बुढा, उनका ८ वर्षीय छोरा नीरज र ९ वर्षीय अर्का छोरा चीरञ्जीवी र कल्पाकै दाजुको ५ वर्षीय छोरा सम्राट घरमै मृत अवस्थामा भेटिएका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घरमा कोइला बाली झ्यालढोका थुनेर बस्दा उनीहरूको मृत्यु भएको पाइएको थियो । यी प्रतिनिधिमूलक घटना मात्रै हुन् । तर हरेक वर्ष सुर्खेतमा जाडो मौसममा कोइला बालेर सुत्दा निसास्सिएर मृत्यु हुने गरेका छन् । तर गाउँघरमा मृत्यु भएका अधिकांश घटना प्रहरीसमक्ष नै पुग्दैनन् ।

२१ पुस २०७६ मा वीरेन्द्रनगर नगरपालिका–२ कोलडाँडास्थित नयाँबस्तीमा समेत राति घरभित्र कोइला बालेर सुत्दा निसास्सिएर एक महिलाको ज्यान गएको थियो भने बेहोस भएका उनका पतिलाई कोहलपुर मेडिकल कलेजमा आइसीयूमा राखेर उपचारपछि घर फर्काइयो । राति कोठामा कोइला बालेर सुतेका हरिबहादुर कामी, उनकी पत्नी चन्दा कामी र छोरी एउटै कोठामा सुतेका थिए । तर उनकी पत्नी चन्द्राको मृत्यु भयो ।

यसरी जाडो मौसममा कोइला बाल्दा निसास्सिएर मृत्युका सबै घटना पुस महिनामा भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी श्यामप्रकाश यादवका अनुसार घटनाको जानकारी पाउना साथ प्रहरी टोलीले घटनास्थलमा खटिएर उद्धार तथा मुचुल्कालगायत प्रारम्भिक अनुसन्धान कार्य अघि बढाउने गरेको छ । तर यसबारे स्थानीयवासी नै सचेत छैनन् ।

सचेतना अभिवृद्धिमा जोड

जाडोमा कोइला बालेर सुत्दा निसास्सिएर मृत्यु हुने घटना रोकथामका लागि सचेतना अभिवृद्धिमा जोड दिनुपर्ने सरोकारवालाहरू बताउँछन् । जाडो मौसमसँगै कोठाभित्र कोइला, दाउरा वा ग्याँस बालेर सुत्ने क्रम बढ्दै गएको भन्दै यसबारे सचेतना फैलाउनुपर्ने स्थानीय नमराज तिमिल्सेनाको भनाइ छ । तर यसबारे स्थानीयले लापरवाही गर्दा निसास्सिएर ज्यान जाने घटनामा वृद्धि हुन थालेको विज्ञहरू बताउँछन् ।

बन्द कोठामा आगो बाल्दा निस्कने कार्बन मोनोअक्साइड ग्याँसका कारण यस्तो दुर्घटना हुने गरेको उनीहरूको भनाइ छ । डा.रत्नवीर सुनारका अनुसार कोइला वा दाउराको अधुरो दहन हुँदा निस्कने कार्बन मोनोअक्साइड रंगहीन र गन्धहीन हुने भएकाले मानिसले समयमै खतरा महसुस गर्न सक्दैनन् भने उक्त ग्याँसले रगतमा अक्सिजनको मात्रा घटाउँछ, जसका कारण सुतिरहेको अवस्थामा नै मानिस अचेत भई ज्यान गुमाउने अवस्था आउन सक्छ ।

‘कार्बन मोनोअक्साइडलाई ‘मौनहत्यारा’ पनि भनिन्छ । यसले थाहा नदिई शरीरमा अक्सिजन आपूर्ति रोकिदिन्छ, जसले केही समयमै गम्भीर अवस्था सिर्जना गर्छ,’ डा. सुनारले भने, ‘यस्तो अवस्थामा टाउको दुख्ने, चक्कर लाग्ने, वाकवाकी हुने, अत्यधिक थकान महसुस हुने जस्ता लक्षण देखिनु कार्बन मोनोअक्साइड विषाक्तताका प्रारम्भिक संकेत हुन् । यस्ता लक्षण देखिए तुरुन्तै खुला स्थानमा निस्कनु र चिकित्सकीय सहायता लिनु आवश्यक हुन्छ ।’

बालबालिका, वृद्ध र बिरामी रहेका घरपरिवारमा विशेष सावधानी अपनाउनुपर्ने उनको भनाइ छ । जनचेतनाको अभावकै कारण यस्ता दुर्घटना दोहोरिने गरेको उनले बताए । सामान्य सतर्कता र सही जानकारी अपनाएमा निसास्सिएर हुने अधिकांश मृत्यु पूर्णरूपमा रोक्न सकिने उनी बताउँछन् ।

यस प्रकारका दुर्घटनाबाट बच्न बन्द कोठामा कोइला, दाउरा वा ग्याँस बालेर कहिल्यै नसुत्ने, सुत्नुअघि आगो पूर्णरूपमा निभाउने, झ्यालढोका खुला राखेर हावा प्रसार सुनिश्चित गर्ने तथा सम्भव भएसम्म विद्युत् हिटर जस्ता सुरक्षित ताप उपकरण प्रयोग गर्न विज्ञहरूले सुझाव दिएका छन्।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २७ गते आइतबार