कर्णालीका ९ जिल्ला सभापतिले भने– विशेष महाधिवेशनमा सहभागी नहुनू



सुर्खेत ।

नेपाली कांग्रेस कर्णाली प्रदेशअन्तर्गत ९ जिल्लाका सभापतिहरूले विशेष महाधिवेशनमा सहभागित नुहन अपिल गरेका छन् । उनीहरूले पार्टी एकतालाई कमजोर पार्ने कुनै पनि गतिविधिमा सहभागी नहुन सम्पूर्ण पार्टी पङ्क्तिलाई अपिल गरेका हुन् ।

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयविपरीत आह्वान गरिएको विशेष महाधिवेशनले पार्टी र मुलुक दुवैलाई दुर्घटनातर्फ लैजाने भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण कर्णालीका जिल्ला सभापतिहरूले गरेका छन् । कर्णालीका १० जिल्लामध्ये सल्यानका केशरबहादुर विष्ट भने विशेष महाधिवेशन पक्षमा देखिएका छन् ।

महाधिवेशनको विपक्षमा देखिएका सभापतिहरूमा सुर्खेतका खड्गप्रसासद पोखरेल, दैलेखका मणिराम रेग्मी, जाजरकोटका वेदराज सिंह, जुम्लाका कर्णबहादुर शाही, मुगुका ऐनबहादुर शाही, हुम्लाका मोहनविक्रम सिंह, रुकुम पश्चिमका प्रेमप्रकाश ओली, कालिकोटका अम्बबहादुर शाही, डोल्पाका कार्यवाहक सभापति लवकुमार शाही, सल्यानका उपसभापति सन्तोष केसी छन् ।

उनीहरूले कांग्रेसलाई मुलुकको लोकतान्त्रिक आन्दोलनको गौरवशाली धरोहरका रूपमा चित्रण गर्दै पार्टी नेतृत्वले वर्तमान अवस्थामा कांग्रेस मुलुककै सबैभन्दा ठूलो राजनीतिक शक्ति रहेको बताएका छन् । पार्टीको निर्णायक भूमिकाबाटै आगामी आमनिर्वाचनको परिणाम प्रभावित हुने भएकाले कांग्रेसले आफ्नो जिम्मेवारी पूर्णरूपमा निर्वाह गर्दै पार्टी एकतालाई थप मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।

‘पार्टीको प्रमुख कार्यभार भनेको १५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नु र लोकतन्त्रको मेरुदण्ड मानिने आमनिर्वाचनलाई सफल बनाउनु हो,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘सोहीअनुसार केन्द्रीय कार्यसमितिबाट प्रकाशित कार्यतालिकाअनुसार नियमित १५औँ महाधिवेशनको प्रक्रिया अघि बढिरहेको अवस्थामा त्यसको विकल्पका रूपमा प्रस्तुत गरिएको विशेष महाधिवेशन स्वतः निष्क्रिय भइसकेको छ।’

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २५ गते शुक्रबार