खडेरीले पहाडी जिल्लामा गहुँबाली सुक्दै



बैतडी ।

लगातारको खडेरीका कारण बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा गहुँबाली सुक्न थालेको छ । यस वर्ष हिउँदे वर्षा नहुँदा गहुँखेतीमा गम्भीर असर परेको किसानहरूले बताएका छन् । पुसको अन्तिम साता लागिसक्दा समेत पानी नपरेपछि खेतमा लगाइएको गहुँबाली सुक्दै गएको हो । दशरथचन्द नगरपालिका–१ का किसान कृष्णदत्त भट्टका अनुसार लामो समयदेखि खडेरी परिरहेकाले गहुँबाली सुकिसकेको छ ।

‘यो वर्ष खडेरीका कारण गहुँबाली सुकेको छ, धेरै खेत बाँझै भएका छन् । अब गहुँबाली नहुँदा के खाने भन्ने चिन्ताले सताउन थालेको छ,’ उनले भने । सिँचाइ सुविधा नभएका क्षेत्रहरूमा खडेरीको प्रभाव बढी देखिएको किसानहरूको भनाइ छ । पाटन नगरपालिका–४ चिल्लेपानीका जयबहादुर ऐरीले सिँचाइको अभावकै कारण खेतमा लगाएको गहुँबाली सुक्न थालेको बताए ।

उनका अनुसार अधिकांश गहुँबाली नष्ट भइसकेको छ र तत्काल वर्षा हुने कुनै संकेत नदेखिएकाले यस वर्ष गहुँ उत्पादनमा उल्लेख्य कमी आउने अनुमान गरिएको छ । लगातारको खडेरीले गहुँबाली सुक्दै गएपछि भोकमरीको चिन्ता बढेको पाटन नगरपालिका–४ कै नारद ऐरीले बताए । खडेरीका कारण जनजीवनसमेत प्रभावित भएको उनको भनाइ छ । सिँचाइ सुविधा नभएका उच्च लेकाली तथा हिमाली क्षेत्रमा गहुँबाली सुक्ने समस्या झनै गम्भीर बनेको छ ।

हिमपात हुने समयमा समेत पानी नपरेपछि बालीनाली राम्रोसँग हुर्कन नपाएको किसानहरूले बताएका छन् । किसानहरूका अनुसार बर्खेबालीमध्येको मकैमा हरेक वर्ष जंगली जनावरले क्षति पु¥याउने गरेकाले उत्पादन घट्दै आएको छ भने हिउँदमा खडेरीका कारण गहुँ उत्पादनमा समेत कमी हुँदै आएको छ ।

कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीका अनुसार जिल्लामा करिब १५ हजार ४ सय हेक्टर क्षेत्रफलमा गहुँखेती हुँदै आएको छ, जसमध्ये आधाभन्दा बढी क्षेत्रमा सिँचाइ सुविधा छैन । ‘सिँचाइ सुविधा नभएका क्षेत्रमा खडेरीको प्रभाव बढी परेको छ । लगातारको खडेरीले गहुँ उत्पादनमा ह्रास आउने सम्भावना देखिएको छ,’ उनले भने ।

गहुँबाली उम्रेको २१ दिनभित्र सिँचाइ आवश्यक पर्ने भए पनि सिँचाइको अभावका कारण किसानहरू समस्यामा परेका छन् । खडेरीका कारण हिउँदेबालीको उत्पादन घट्ने र त्यसको असर खाद्यान्न आयात वृद्धिमा पर्ने देखिएको छ । यस्तै, दार्चुलाका अधिकांश स्थानमा पनि खडेरीका कारण हिउँदेबाली सुक्दै गएको छ । स्थानीयका अनुसार गहुँ, जौ, उवा लगायतका बालीहरू सुक्न थालेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २४ गते बिहीबार