डोल्पा ।
जिल्लाको उपल्लो डोल्पालाई विश्व सम्पदा सूचीमा राख्न माग गरिएको छ । जिल्लाका शे–फोक्सुण्डो, डोल्पो बुद्ध र छार्काताङ्सोङ् गाउँपालिकाभित्र पर्ने प्राचीन धार्मिक, सांस्कृतिक, प्राकृतिक एवम् ऐतिहासिक सम्पदालाई सूचीकृत गर्ने प्रक्रिया अघि बढाइएको हो ।
उपल्लो डोल्पामा पर्ने बस्ती धो तराप, फोक्सुण्डो ताल, प्राचीन शे–गुम्बा, याङ्जेर गुम्बा, साम्लिङ् गुम्बा, राप गुम्बा, बोन गुम्बा लगायतका सम्पदालाई मिश्रित विश्व सम्पदा सूचीमा राख्न पहल भइरहेको छ ।
इकोमस नेपालले यसका लागि आवश्यक कागजात तयार गर्ने काम गरिरहको छ । विगत दुई वर्षदेखि विश्व सम्पदा सूचीमा राख्ने विषयमा पहल भइरहेको परियोजना प्रमुख ऐनी जोशीले जानकारी दिइन् । उनका अनुसार हाल सूचीकृतका लागि डकुमेन्टेसनको कामजारी छ । पुरातत्व विभाग, वन विभाग, युनेस्को, गुम्बा व्यवस्थापन समिति, स्थानीय सरकारलगायत मुख्य सरोकारवाला पक्षसँग निरन्तर छलफल भइरहेको उनले बताइन् ।
शे–फोक्सुण्डो गाउँपालिकामा मात्र ९०० वटा प्राचीन सम्पदाको पहिचान गरिएको छ भने यसै वर्ष सूचीकृतका लागि युनेस्कोमा आवेदन दिने योजना रहेको जोशीको भनाइ छ । उपल्लो डोल्पालाई विश्व सम्पदा सूचीमा समेट्न सके नेपालको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदानका साथै स्थानीयलाई रोजगारीको अवसर सृजना हुने अपेक्षा छ ।
यो कार्यका लागि पुरातात्विक सम्पदा संरक्षणको क्षेत्रमा लामो समयदेखि काम गरिरहेको संस्था ब्रिटिस काउन्सिलले सहयोग गरेको इकोमस नेपालले जनाएको छ । शे–फोक्सुण्डो गाउँपालिकाभित्र पर्ने प्राकृतिक, धार्मिक तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण भएकाले विश्व सम्पदा सूचीमै राखेर संरक्षण गर्न उपयुक्त हुने गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङ्छेन गुरुङले बताए ।
उनका अनुसार यो क्षेत्रलाई मिश्रित विश्व सम्पदा सूचीमा राख्न पहल भइरहेको छ । जिल्लाका सरोकारवालाको पनि राय लिइरहेको उनले बताए। विगत केही वर्षदेखि यस विषयमा स्थलगत अध्ययनको अनुसन्धानका काम भइरहेको छ । यसबारे गत शनिबार र आइतबार काठमाडौँमा सरोकारवालासँग पनि छलफल भएको थियो । यसबारे पुरातत्व विभागको टोली पनि समन्वयका लागि निकुञ्ज कार्यालयमा पुगेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए ।
उनका अनुसार धेरैजसो प्राकृतिक तथा प्राचीन सम्पदाहरू शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र पर्छन् । निकुञ्जको प्रमुख आकर्षणको रूपमा रहेको फोक्सुण्डो ताल रामसार सूचीमा समेत छ भने प्राचीन गुम्बा र दुर्लभ वन्यजन्तु हिँउचितुवा पाइने नेपालमै धेरै घनत्व भएको निकुञ्जको रूपमा समेत परिचित छ ।









प्रतिक्रिया दिनुहोस्