बंगलादेशमा आइपिएल प्रसारणमा प्रतिबन्ध



काठमाडौँ : बंगलादेश सरकारले आफ्नो देशमा सन् २०२६ को इन्डियन प्रिमियर लिग (आइपिएल)को प्रसारणमा रोक लगाएको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले बंगलादेशी तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई प्रतियोगिताबाट हटाउने निर्णय गरेपछि बंगलादेशले यस्तो कडा कदम चालेको हो ।
बंगलादेशको सूचना तथा प्रसारण मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ— ‘मुस्ताफिजुर रहमानलाई कुन आधारमा प्रतियोगिताबाट हटाइयो भन्नेबारे कुनै स्पष्ट कारण जानकारी गराइएको छैन । यसले बंगलादेशी जनताको भावनामा चोट पु¥याएको छ ।’ मन्त्रालयका अनुसार यो निर्णय ’जनहित’लाई ध्यानमा राखेर लिइएको हो ।

मन्त्रालयका सहायक सचिव फिरोज खानले हस्ताक्षर गरेको यस निर्णयसँगै बंगलादेशमा पहिलोपटक कुनै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रसारण रोकिएको छ । सन् २००८ मा आइपिएल सुरु भएदेखि नै बंगलादेशका टेलिभिजन र अनलाइन प्लेटफर्महरूले यसको प्रत्यक्ष प्रसारण गर्दै आएका थिए ।
डिसेम्बरमा भएको आइपिएलको अक्सनमा मुस्ताफिजुर रहमानलाई कोलकाता नाइट राइडर्स (केकेआर)ले किनेको थियो । तर, शनिबार बिसिसिआईको निर्देशनपछि केकेआरले मुस्ताफिजुरलाई टिमबाट निकाल्यो । बिसिसिआईका सचिव देवजित सैकीयाले यसको पछाडि ‘हालैका केही घटनाक्रमहरू’ जिम्मेवार रहेको बताए पनि विस्तृतमा केही खुलाएका छैनन् ।

पछिल्ला केही दिनयता भारतका केही धार्मिक र राजनीतिक नेताहरूले केकेआर र त्यसका मालिक शाहरूख खानको आलोचना गरिरहेका थिए । बंगलादेशमा हिन्दू अल्पसंख्यकहरूमाथि हमला भइरहेको रिपोर्टहरू आइरहेका बेला बंगलादेशी खेलाडीलाई टिममा राखेको भन्दै उनीहरू आक्रोशित थिए । यही कारणले गर्दा दुई देशबीचको सम्बन्ध बिग्रिएको छ । यति मात्र होइन, बंगलादेशले भारतमा हुने टी–२० विश्वकपका आफ्ना खेलहरू अन्य देशमा सार्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद्सँग माग गरेको छ । साविकको तालिकाअनुसार फेब्रुअरी ७ मा बंगलादेशले कोलकाताको इडेन गार्डेन्समा वेस्ट इन्डिजसँग पहिलो खेल खेल्ने कार्यक्रम थियो । तर, अहिले बंगलादेशले ती खेलहरू श्रीलंकामा सार्न पत्र लेखेको छ ।

आइपिएलमा पाकिस्तानी खेलाडीहरूलाई पहिलेदेखि नै अघोषित प्रतिबन्ध लगाइएको भए पनि बंगलादेशी खेलाडीहरूले भने खेल्दै आएका थिए । मुस्ताफिजुर रहमान सन् २०१६ देखि आइपिएलमा नियमित खेल्दै आएका छन् । उनीसँगै शकिब अल हसन पनि आइपिएलका चर्चित खेलाडी हुन् ।
यसअघि बंगलादेशबाट अब्दुर रज्जाक, मोहम्मद आश्रफुल, मशरफे मोर्तजा, तमिम इकबाल र लिटन दास जस्ता खेलाडीहरूले पनि विभिन्न समयमा आइपिएल खेलिसकेका छन् । मुस्ताफिजुर अहिले बंगलादेशमै भइरहेको ‘बंगलादेश प्रिमियर लिग’मा रंगपुर राइडर्सबाट खेलिरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २२ गते मंगलबार