सुर्खेत ।
डोल्पामा एक करोड बढीको लगानीमा पहिरो नियन्त्रण योजना निर्माण हुने भएको छ । भू–तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाका अनुसार डोल्पामा पहिरो नियन्त्रण योजना निर्माण गर्न लागिएको हो । हिमाली जिल्ला डोल्पामा सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै पहिरो नियन्त्रण योजना निर्माण गर्न लागिएको कार्यालयले जनाएको छ ।
कार्यालयले पहिरो नियन्त्रण, तटबन्धन लगायतका क्षेत्रमा जुम्लासहित साविक कर्णालीका पाँच जिल्लामा काम गर्दै आएको हो । पहिरो नियन्त्रण योजनाका लागि चालू आर्थिक वर्ष २०८२–०८३ मा कार्यान्वयन हुने गरी एक करोड १६ लाख ८८ हजार ६८६ लागत स्टिमेटको ठेक्कासमेत आह्वान भइसकेको छ । डोल्पाको जगदुल्ला गाउँपालिका–५ स्थित सिमचौरमा बाढी तथा पहिरो नियन्त्रण योजना निर्माण गरिने कार्यालय प्रमुख लोकेन्द्र भण्डारीले बताए ।
उनका अनुसार योजनाको कूल लागत स्टिमेट कन्टीजेन्सीसहित एक करोड १६ लाख ८८ हजार ६८५ रूपैयाँ रहे पनि खरिद नियमावलीअनुसार जसले लो–विडमा ठेक्का हाल्छ सोही निर्माण व्यवसायीले निर्माणको जिम्मा पाउने छ । कठिन भूगोल र जनशक्ति अभावकाबीच कार्यालयले पहिरो नियन्त्रण क्षेत्रमा कर्णालीका पाँच हिमाली जिल्लामा काम गर्दै आएको छ । तर हालसम्म समस्या उस्तै छन् ।
‘गत वर्षमा १९ करोडबराबरका पाँच जिल्लामा १३६ वटा तटबन्धन, बाढी तथा पहिरो रोकथामका योजना बनाएका थियौँ,’ कार्यालय प्रमुख भण्डारीले भने, ‘यस वर्ष अधिकांश योजना सम्झौता भइसकेका छन् । तर चिसोको समय भएकाले माघ फागुनपछि काम सुरु हुने देखिन्छ ।’
स्थानीय सरकार सञ्चालनपछि पालिकाहरुले सडक निर्माणमा प्रथामिकता दिँदा त्यसले वातावरणको अवस्था खलबलिँदै गएको पाइएको छ ।
जसकारण पछिल्लो वर्षमा बाढी तथा पहिरोको घटना बढ्दै गएको देखिन्छ । संघीयता कार्यान्वयनपछि स्थानीय सरकारले वातावरणीय प्रभाव मूल्यांकन नगरी सडक निर्माणलाई जोड दिँदा वातावरणमा असर परेको हो । जसकारण बाढी पहिरोको जोखिम बढेको उल्लेख छ । २०७९ सालमा सुनाखरी रिसर्च कन्सल्ट प्रालिले गरेको अध्ययनअनुसार जुम्ला, कालीकोट र मुगुमा मात्रै एक वर्षमा एक हजार ३६५ वटा पहिरो गएको छ । जसमा सबैभन्दा धेरै कालीकोटमा ५५७, जुम्लामा ४४० र मुगुमा ३६८ वटा पहिरो गएको देखिन्छ ।
जिल्लामा आएको एक हजार ३६५ पहिरोमध्ये सबैभन्दा बढी लेदो पहिरो आएको थियो । जुन पहिरो सडक निर्माण गर्दा अव्यवस्थित रूपमा फालिएको माटो बगेर जाने पहिरो हो । यो पहिरोले अन्यको तुलनामा चार गुणाबढी क्षति पु¥याउने प्रतिवदेनमा उल्लेख छ । उक्त प्रतिवेदनअनुसार जुम्लामा ३२५, कालीकोटमा ४३७ र मुगुमा १२४ वटा लेदो पहिरो गएको थियो । भौगोलिक रूपमा भिरालो जमिन भएकोले कर्णालीमा वातावरणीय प्रभाव मूल्यांकनबिनै सडक खन्ने चलन छ ।
यसरी सडक खनेर निस्किएको ढुंगा माटो व्यवस्थित नगरी छोड्ने र वर्षामा आएको पानीले त्यही ढुंगा माटो बगाएर लेदो पहिरो जाँदा जनधनको क्षति पु¥याउने गरेको छ । पछिल्ला वर्षमा बढिरहेको पहिरोको जोखिम र त्यसबाट खेतीयोग्य जमिनमा हुन सक्ने क्षति रोक्न कर्णाली प्रदेश सरकारले तटबन्ध निर्माणलाई जोड दिँदै आएको कार्यालय प्रमुख भण्डारीले बताए ।
भिरालो जमिन भएको क्षेत्रमा अव्यस्थित सडक निर्माणले बाढी पहिरोजस्ता जोखिम बढेकाले प्रदेश सरकारले ठूला लगानीका बाढी पहिरो रोकथाम योजना निर्माणमा जोड दिएको छ । सोहीअनुसार जुम्ला, डोल्पालगायत जिल्लामा तटबन्धन र पहिरो रोकथामका काममा प्रथामिकता दिएर भू–तथा जलाधार व्यवस्थापन कार्यालयले काम गर्दै आएको छ । तर बजेट खर्चअनुसार उपलब्धि देखिएको छैन ।









प्रतिक्रिया दिनुहोस्