हिउँदे सभाबाट पाँच कार्यविधि पारित



जुम्ला ।

तातोपानी गाउँपालिकाले चालू आर्थिक वर्षको नीतिगत व्यवस्थापन र विकास खर्चलाई तीव्रता दिने रणनीति बनाएको छ । जसअन्तर्गत गाउँपालिकाको १७औँ हिउँदे गाउँसभाबाट कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन पाँच वटा महत्वपूर्ण ऐन तथा कार्यविधिहरू पारित गरिएको छ ।

गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईका अनुसार गाउँसभाले सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन कानुनी सल्लाहकार व्यवस्थापन र कार्यविधि निर्माण गरेको छ । यस्तै कर्मचारी प्रोत्साहन कोष सञ्चालन कार्यविधि, सहुलियत कृषि ऋण लगानी तथा असुली कार्यविधि, अपाङ्गतासम्बन्धी कार्यविधि र आकस्मिक प्रसूति सेवासम्बन्धी कार्यविधि, २०८२ पारित गरिएको उनले जानकारी दिए ।

गाउँपालिकाले वित्तीय अनुशासनलाई ध्यान दिँदै बेरुजु फछ्र्यौटलाई पनि प्राथमिकतामा राखेको अध्यक्ष चौलागाईले बताए । असुलउपर गर्नुपर्ने बेरुजुका लागि सम्बन्धित व्यक्ति र संस्थालाई पत्राचार गरिसकिएको उनको भनाइ छ ।
आर्थिक वर्ष २०८०–०८१ को असुल गर्नुपर्ने बेरुजु २३ लाख ५६ हजार र आव २०८१–०८२ को असुल गर्नुपर्ने बेरुजु १४ लाख ३९ हजार रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले यस वर्ष पूँजीगत खर्च (विकास खर्च)लाई विशेष जोड दिँदै समयमै योजनाहरू सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

चालू आर्थिक वर्ष २०८२–०८३ का लागि गाउँपालिकाले कूल ५३ करोड ५९ लाख ८२ हजार बजेट विनियोजन गरेको थियो । जसमध्ये हालसम्म चालू र पूँजीगत गरी कूल सात करोड २५ लाख खर्च भएको प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिए ।

हालसम्म पूँजीगततर्फ करिब पाँच लाख मात्र खर्च भएको उनको भनाइ छ । उपभोक्ता समितिबाट हुने योजनाहरूको सम्झौता कार्य भइरहेको र ठूला ठेक्काका लागि बोलपत्र (टेन्डर) आह्वान भइसकेकाले अब विकास खर्चले गति लिने अधिकृत कठायतले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १५ गते मंगलबार