हुम्लामा धान पकेट क्षेत्र निर्धारण



हुम्ला ।

ताँजाकोट गाउँपालिकाले स्थानीय परम्परागत रैथाने धानखेतीका लागि पकेट क्षेत्र निर्धारण गरेको छ । धान खेती गर्न र यसको प्रवद्र्धनका लागि उपयुक्त खेतीयोग्य जमिनको छनौट गरेर पकेट क्षेत्र निर्धारण गरिएको हो ।

ताँजाकोट गाउँपालिकाका कृषि शाखा प्रमुख टेकेन्द्र रोेकायाका अनुसार स्थानीय मार्सी धान फल्ने उपयुक्त जमिनलाई छनौट गरेर धान खेतीका लागि पकेट क्षेत्र पहिचान गर्ने काम सकिएको छ । यसअघि मिसाएर अन्नबाली लगाउने गरिएको भन्दै अब सो क्षेत्रमा धान खेती मात्र लगाउने नीति गाउँपालिकाले अवलम्बन गरेर कार्यान्वयनमा ल्याएको उनले बताए ।

‘यस कार्यले गाउँपालिकाकै पहिचान बनाउने छ । उक्त उद्देश्य पूरा गर्न पकेट क्षेत्र पहिचान गरी योजना कार्यान्वयनमा आएको छ,’ उनले भने, ‘सबै बाली सँगै लगाउँदा पहिचान गर्न कठिन हुनेहुन्छ । यस कारण पनि गाउँपालिकाले पकेट क्षेत्रमा मात्रै धान खेतीको कार्यक्रम अघि अगाडी बढाएको हो ।’

ताँजाकोट गाउँपालिका–४ र ५ को सिँचाइ सुविधा पुगेको ३५० हेन्टर खेतीयोग्य जमिनलाई पकेट क्षेत्रका रूपमा पहिचान गरिएको छ । यसरी धानखेती पकेट क्षेत्र निर्धारण गरिएपछि यो संरक्षण, प्रवद्र्धन र लगानी गर्न सहज हुने अपेक्षा छ । यो पकेट क्षेत्रमा हिउँदे बालीबाहेक अन्य बाली लगाउन पाइने छैन । यसले गाउँपालिकालाई नमूना खेती गर्नसमेत सहज हुने विश्वास गरिएको छ ।

यो जिल्लाकै पहिलो धान खेती पकेट क्षेत्रका रूपमा स्थापना भएको छ । गाउँपालिकाले यो पकेट क्षेत्रमा उत्पादन भएको धानको बजारीकरणमा समेत सहयोग गर्ने भएको छ । कार्यक्रम कार्यान्वयनमा कुनै कमजोरी रहन नदिने भन्दै किसानलाई उत्साहित भएर खेतीकार्यमा लाग्न गाउँपालिकाले आग्रह गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १५ गते मंगलबार