स्वास्थ्य शिविरबाट ५२२ जना लाभान्वित



सल्यान ।

जिल्लाको कुमाख गाउँपालिका–५ नेटामा सञ्चालन भएको स्वास्थ्य शिविरबाट ५२२ जना लाभान्वित भएका छन् । जिल्लाको कुमाख र दार्मा गाउँपालिकाका स्थानीयवासीले शिविरबाट सेवा लिएका हुन् । कुमाख गाउँपालिका, नेपाली सेना श्री सिद्धबक्स गण र श्री १९ नम्बर फिए गुल्मको समन्वयमा शिविर सम्पन्न भएको हो । शिविरमा स्वास्थ्य परीक्षण, प्रयोगशाला, युएसजी र दन्तसेवा प्रदान गरिएको कुमाख गाउँपालिकाले जनाएको छ ।

शिविरमा ९२ जनाको भिडिओ एक्सरे, १३६ जनाको दन्तसेवा, २५ जनाको विभिन्न ल्याब परीक्षण, १२ जनाको इसीजी र ८९ जनाको पाठेघरको जाँच गरिएको छ । कालिमाटी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मानसिंह वलीका अनुसार ४५ जनाको भिआइए पाठेघरको मुखको क्यान्सरको जाँच गर्दा दुई जनामा पोजेटिभ देखिएको छ ।

ग्रामीण क्षेत्रका सर्वसाधारणलाई गाउँमै स्वास्थ्य उपचारसम्बन्धी सेवा उपलब्ध गराउने र समस्या पहिचान गर्ने उद्देश्यले शिविर आयोजना गरिएको हो । स्वास्थ्य शिविरमा ज्येष्ठ नागरिक, महिला र बालबालिकाले सेवा लिएका हुन् । नेपाली सेना र नागरिकबीच पारस्परिक सम्बन्ध बढाउने उद्देश्यसहित दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिएको श्री सिद्धिबक्स गण सिमखर्कका प्रमुख सेनानी शिवनारायण श्रेष्ठले बताए । सेनाको सामाजिक तथा जनउत्तरदायी कार्यअन्तर्गत स्वास्थ्य शिविरको आयोजना गरिएको उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १४ गते सोमबार