एनभीए भलिबल च्याम्पियनसिपः रूकुम पश्चिम र आर्मीको विजयी सुरुवात



काठमाडौँ ।

काठमाडौँमा जारी नवौँ एनभीए भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ रूकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको खेलमा रूकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले बुढानिलकण्ठ भलिबल क्लबलाई २५–१९, २५–२१,२५–२१ को सेटमा पराजित गरेको हो ।

त्यस्तै शनिबार नै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई प्रतिस्पर्धात्मक खेलमा पराजित गरेको छ । आर्मीले कोशीलाई २५–२३, २७–२५, २७–२५ ले पराजित गरेको हो । महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ टोलीको सहभागिता छ । पुरुषतर्फ विभागीय टोलीहरू नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबसहित रूकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र (कर्णाली प्रदेश), जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, मणिमुकुण्द भलिबल क्लब (लुम्बिनी), हेल्प नेपाल स्पोट्र्स क्लब, कोशी प्रदेश भलिबल संघ, बुढानीलकण्ठ भलिबल क्लब, ढोरपाटन क्लब (काठमाडौँ), खिल्जी युवा क्लब (लुम्बिनी) र कीर्तिपुर भलिबल प्रशिक्षण केन्द्र (काठमाडौँ) सहभागी छन् ।

यस्तै महिलातर्फ तीन विभागीय टोलीहरू पुलिस, आर्मी र एपीएफसहित न्यु डायमण्ड युथ स्पोट्र्स क्लब, एभरेस्ट भलिबल क्लब (बुटवल) चुली युवा क्लब (कर्णाली), सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मधेश प्रदेश खेलकुद परिषद् छन् । पुरुषतर्फ सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ३–३ टिम छन् । पुरुषतर्फ समूह ए मा हेल्प नेपाल स्पोट्र्स क्लब, एपीएफ क्लब र मणिमुकुन्द भलिबल क्लब छन् भने समूह बी मा नेपाल पुलिस, ढोरपाटन र खिल्जी युवा क्लब छन् ।

रूकुम पश्चिम, बुढानिलकण्ड र जावलाखेल समूह सी मा छन् भने आर्मी, कोशी प्रदेश र कीर्तिपुर समूह डी मा छन् । पुरुषतर्फ समूह चरणको खेलपछि शीर्ष दुईमा रहने टोलीहरू क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । यस्तै महिलातर्फ सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । एभरेष्ट क्लब, आर्मी, चुली युवा क्लब र न्यु डायमण्ड समूह ए मा छन् भने नेपाल पुलिस, सुदूरपश्चिम प्रदेश, एपीएफ क्लब र मधेश समूह बी मा छन् । महिलातर्फ समूह चरणको खेलपछि दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोली सिधै सेमिफाइनल प्रवेश गर्नेछन् ।

सेमिफाइनलमा समूह ए को विजेताले समूह बी को उपविजेता तथा समूह बी को विजेताले समूह ए को उपविजेतासँग खेल्नेछ । समूह चरणमा पुरुष र महिला दुवैतर्फ १२–१२ खेल हुनेछन् । प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १६ गरी कूल ३६ खेल हुनेछ । प्रतियोगिताबाट पुरुषतर्फ शीर्ष ८ र महिलातर्फ शीर्ष ६ टोली दशौँ पीएम कप एनभीए महिला तथा पुरुष राष्ट्रिय लिगमा छनोट हुने नेपाल भलिबल संघले जनाएको छ ।

प्रतियोगिताको महिला र पुरुष विजेताले नगद ५ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख ५० हजार र तेस्रोले १ लाख २५ हजार प्राप्त गर्नेछ। त्यस्तै महिला र पुरुष सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार तथा विधागत उत्कृष्ट खेलाडीले १५–१५ हजार प्राप्त गर्नेछन् । नेपाल भलिबल संघले एनभीए लिग छनोटको आधार रहेको यस प्रतियोगिता काभा क्लब भलिबल च्याम्पियनसिप खेल्नेका लागि पनि आधार रहेको जनाएको छ ।

एनभीए भलिबल च्याम्पियनसिपमा शीर्ष क्लब नै एनभीए लिगमा छनोट हुने र एनभीएल लिगका उत्कृष्ट टोलीले सेन्ट्रल एसियन भलिबल एसोसिएसनले आयोजना गर्ने काभा क्लब च्याम्पियनसिप (महिला र पुरुष) खेल्ने प्रावधान रहेकोले पनि भलिबल क्लबहरूका लागि एनभीए च्याम्पियनसिप महत्वपूर्ण हुने नेपाल भलिबल संघले जनाएको छ ।

महिलातर्फ एपीएफ र न्यु डायमण्ड विजयी 

महिलातर्फको पहिलो खेलमा न्यु डायमण्ड युथ स्पोट्र्स क्लबले कर्णालीको चुली युवा क्लबलाई २५–१०,२५–५,२५–१५ ले हराउँदै विजयी सुरुवात गरेको छ । यस्तै एपीएफ क्लबले पनि मधेश प्रदेश खेलकुद परिषद्लाई सोझो सेटमा हराउँदै विजयी सुरूवात गरेको छ । एकपक्षीय खेलमा एपीएफले मधेशलाई २५–४, २५–५, २५–४ ले पराजित गरेको हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १३ गते आइतबार