सल्यान अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन



सल्यान ।

जिल्ला अस्पताल सल्यानमा रक्तसञ्चार केन्द्र सञ्चालन गरिएको छ । स्वास्थ्य सेवा कार्यालय र स्थानीय युवाहरूको सक्रियतामा रक्तसञ्चार केन्द्र सञ्चालन गरिएको हो । नेपाल रेडक्रस सोसाइटी सल्यानले केही वर्षअघि रक्तसञ्चार केन्द्र सञ्चालनका लागि अस्पताल परिसरमा करिब २० लाख रूपैयाँ खर्चेर तीन कोठे भवन निर्माण गरेको थियो ।

भवन निर्माण सम्पन्न भए पनि विभिन्न समस्याका कारण रेडक्रसले केन्द्र सञ्चालन गर्न सकेको थिएन । हाल सोही भवनमा जिल्ला अस्पतालले युवाहरूको सक्रिय सहभागितामा रक्तसञ्चार केन्द्र सञ्चालनमा ल्याएको हो । रक्तसञ्चार केन्द्र सञ्चालनमा आएपछि जिल्ला अस्पतालमा उपचार तथा शल्यक्रिया गर्नुपर्ने बिरामी, विशेषगरी गर्भवती महिलाहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।

यसअघि रगत आवश्यक परेमा बिरामीका आफन्त तथा स्वास्थ्यकर्मीहरूले सामाजिक सञ्जाल र फोनमार्फत रक्तसमूह मिल्ने व्यक्ति खोज्नुपर्ने बाध्यता थियो । स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा.अर्जुन बुढा मगरले अब रगतको अभावका कारण बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्था अन्त्य हुने बताए । उनका अनुसार जिल्ला अस्पतालमा विगत एक दशकदेखि जटिल समस्या भएका गर्भवतीको शल्यक्रिया हुँदै आएपनि रगत व्यवस्थापन समस्याले सकस पारेको थियो ।

२०४४ सालमा स्थापना भएको जिल्ला अस्पताल सुरुमा १५ शैयाको भएपनि हाल ४० बेडमार्फत सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा मासिक आठ देखि १२ प्वाइन्टसम्म रगत खपत हुने गरेको डा.बुढा मगरले जानकारी दिए । रक्तसञ्चार केन्द्रमा संकलित रगत आवश्यकता भन्दा बढी भए अन्यत्र पठाउन सकिने व्यवस्था गरिएको उनको भनाइ छ ।

‘रक्तसञ्चार केन्द्रको दीर्घकालीन व्यवस्थापनका लागि प्रदेश तथा संघीय सरकारसँग पहल गरिएको छ’ उनले भने, ‘जिल्लाका १० वटा स्थानीय तहले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । त्यसले सेवा प्रवाहमा थप सहज हुनेछ ।’ रक्तसञ्चार केन्द्र उद्घाटन कार्यक्रमका वक्ताहरूले सबैको सामूहिक प्रयासबाट जिल्लामा लामो समयपछि रक्तसञ्चार केन्द्र सञ्चालनमा ल्याउन सफल भएको बताएका थिए ।

आगामी दिनमा पनि निरन्तर सहयोग आवश्यक रहेको सल्यान जेनजीका संयोजक युवराज खडकाले बताए । रक्तसञ्चार केन्द्र स्थापनाको लागि धेरै प्रयास गरिएको भन्दै युवाहरूको पहलबाट स्वास्थ्य मन्त्रालयले आवश्यक सामाग्री दिएको उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १३ गते आइतबार