‘स्थानीय सरकार भएको अनुभूति भयो’



कोहलपुर ।

कोहलपुर नगरपालिका–९ की सन्तारानी थारु उमेरले एक सय वर्ष पुगिन् । उनलाई अहिलेसम्म ज्येष्ठ नागरिक दिवस मनाएको सम्झना छैन् । विगतमा ज्येष्ठ नागरिक दिवस आएगएको कुनै अत्तोपत्तो नभएको उनले बताइन् । तर, शुक्रबार पहिलो पटक आफूलाई ज्येष्ठ नागरिक दिवस आएको र मनदेखि मनाएको अनुभूति भएको उनी बताउँछिन् ।

‘हामी ज्येष्ठ नागरिक अहिले परिवार र समाजमा एक्लो भएको महसुस गरिहेका छौँ,’ उनले भनिन्, ‘यस्ता कार्यक्रमले अरु कोही नभए पनि स्थानीय सरकार छ भन्ने अनुभूति भयो ।’ वर्षमा एकदिन मात्र नभइ अब प्रत्येक महिनामा यस्ता कार्यक्रमको आयोजना गर्न आवश्यक रहेको उनी बताउँछिन् ।

शुक्रबार महिला बालबालिका तथा समावेशीकरण उपशाखाले आयोजना गरेको पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको शुभकामना प्रदान एवम् अन्तरक्रिया कार्यक्रमले दिवस मात्र नभइ सबैसँग भेटघाट गर्ने अवसरसमेत जुराएको उनले बताइन् । पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउँदासम्म पनि ज्येष्ठ नागरिकहरुले विभेद खेप्नुपरेको दुखेसो पोखिन् । समाजमा अहिले विभिन्न नाममा ज्येष्ठ नागरिकमाथि हुने विभेद न्यूनीकरण गर्न तीनै तहको सरकारले आवश्यक कदम चाल्न माग गरिन् ।

यस्तै कोहलपुर– ७ का रामजल थारु पनि ज्येष्ठ नागरिक हुन् । उनी अहिले ९४ वर्षका भए । बुढेसकालको डुब्न लागेको उमेरसँगै जीवन जिउन धेरै दुःखहरु आइपर्ने गरेको उनले बताए । वृद्धा अवस्थामा ज्येष्ठ नागरिकहरु न परिवारको, न त अरु कसैको प्यारो हुन सकेको उनी बताउँछन्। राज्यले प्रदान गर्ने वृद्ध भत्ताले जेनतेन जीवन गुजारा चलाए पनि कतिपयको अवस्था दयानीय रहेको उनको भनाइ थियो ।

नगरपालिकाले एक दिन भए पनि सबै ज्येष्ठ नागरिकहरुको दुःख भुलाएर खुसी बाँड्ने काम गरेको भन्दै धन्यवाद दिए । उनी मात्र होइन् शुक्रबार उक्त कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरुले निःशुल्क स्वास्थ्य परिक्षणदेखि भजन गाएर दिवस मनाएका हुन् । पुराना भजनका भाकामा सहभागी सबैलाई झुमाएका थिए ।

अन्य दिवसहरु जस्तै राष्ट्रिय ज्येष्ठ नागरिक दिवसलाई भब्य रुपमा मनाइएको कोहलपुर नगरपालिका उपप्रमुख संगीता सुवेदीले बताइन् । ज्येष्ठ नागरिकहरुलाई स्थानीय सरकार आफ्नो साथमा छ भन्ने अनुभूति हुने गरेर दिवस मनाइएको उनले उल्लेख गरिन् । कार्यक्रमले ज्येष्ठ नागरिकहरु खुसी भएको बताउँदै उनले यस्ता कार्यक्रमलाई मासिक रुपमा सञ्चालन गर्न हिँउदे अधिवेशमा प्रस्ताव लिएर जाने बताइन् ।

ज्येष्ठ नागरिकहरु उमेर सँगसँगै ज्ञान, सीप लगायतका धेरै कुराहरुको भण्डार रहेकाले त्यसलाई नयाँ पुस्तामा हस्तान्तरण गरेर उनीहरुलाई सम्मान गनुपर्ने उनले जानकारी दिइन् । अधिवक्ता रुद्र न्यौपानेले संविधानले ज्येष्ठ नागरिकलाई दिएको मौलिक हक र अधिकारका बारेमा प्रशिक्षण गरेका थिए । ज्येष्ठ नागरिकहरुले आफूले पाउने सुविधा, कानुनी कुराहरुबारे उनले जानकारी दिए ।

२०७२ को संविधानले ज्येष्ठ नागरिकहरुलाई प्रदान गरेको मौलिक हक र अधिकारको विषयमा समेत प्रशिक्षण प्रदान गरिएको महिला बालबालिका तथा समावेशीकरण उपशाखा प्रमुख तारा भण्डारीले जानकारी दिइन् । उनले ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण, पाँचजना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको उनले बताइन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १२ गते शनिबार