मुगु ।
जिल्लामा दिनप्रतिदिन इन्फ्लुएन्जाको प्रकोप बढ्दै गएको छ । जिल्ला अस्पताल मुगुका अनुसार दैनिक २०० भन्दा बढी इन्फ्लुएन्जा सम्बन्धी बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् । तर, अस्पतालमा जम्मा ५० शैया मात्र उपलब्ध हुदाँ बिरामी व्यवस्थापनमा सकस भइरहेको छ । त्यसैमा लामो समयदेखि एक्सरे मेसिन बिग्रिदाँ थप समस्या आएको अस्पतालले जनाएको छ ।
अस्पतालमा आवश्यक औषधि र मेडिकल उपकरणको गम्भीर अभाव छ । भने अक्सिजन प्लान्टसमेत सञ्चालनमा नरहेको अवस्था छ । यसले गर्दा गम्भीर अवस्थाका बिरामीको उपचारमा ठूलोे समस्या भइरहेको स्थानीयको गुनासो छ । प्रकोपबीच १७ दिनभित्र रारा छाँयानाथ नगरपालिका वडा नम्बर १२, बाम गाउँमा मात्रै ५ जनाको मृत्यु भइसकेको छ ।
मृतकहरू शिशु र साना बालबालिकासमेत रहेका छन् । यति गम्भीर अवस्था हुँदासमेत केन्द्र सरकारको स्पष्ट र प्रभावकारी हस्तक्षेप नदेखिएको भन्दै युवाहरूले प्रश्न उठाएका छन् । यसैबीच मुगुमा फैलिएको इन्फ्लुएन्जा (भाइरल ज्वरो) को प्रकोप गम्भीर बन्न थालेपछि युवाहरूले तत्काल विशेषज्ञ चिकित्सक टोली पठाउन माग गरेका छन् ।
स्थानीय युवा आशिष देवकोटाको नेतृत्वमा गएका युवाले संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा त्रिपाठीसमक्ष यस्तो माग गरेका हुन् । उनीहरूले मुगु जिल्ला अस्पतालको कमजोर अवस्था र दिनानुदिन बढ्दो बिरामीको चापले स्थिति नियन्त्रणबाहिर जान सक्ने भन्दै आपतकालीन हस्तक्षेप अपरिहार्य भएको बताएका छन् ।
युवाहरूले मन्त्रीलाई बुझाएको मागपत्रमा संक्रामक रोग विशेषज्ञसहितको आपतकालीन चिकित्सक, नर्स र प्राविधिक टोली मुगु पठाउन अनुरोध गरिएको छ । बिग्रिएको अक्सिजन प्लान्ट र एक्सरे मेसिन तत्काल मर्मत वा प्रतिस्थापन गर्न, इन्फ्लुएन्जा तथा श्वासप्रश्वास सम्बन्धी पर्याप्त औषधि र उपकरण आपूर्ति गर्न माग गरिएको छ ।
साथै हालको ५० शैया क्षमतालाई आपतकालीन रूपमा आईसीयू सेवासहित कम्तीमा १०० शैयामा विस्तार गर्नुपर्ने माग पनि अघि सारिएको छ । युवाहरूले २०६६ सालको जाजरकोट केन्द्रित झाडापखाला र हैजाको महामारीको स्मरण गराउँदै समयमै सेवा प्रवाह गरी संकट टार्न अपिल गरेका छन् । ठूलोे मानवीय क्षति भएको इतिहास दोहोरिन नदिन सरकार गम्भीर हुनुपर्ने माग छ ।









प्रतिक्रिया दिनुहोस्