रवि र बालेनबीच भेटवार्ता जारी



काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भेटवार्ता सुरू भएको छ । कुपण्डोलस्थित कुमार बेनको निवासमा भेट भइरहेको हो । रवि र बालेनले मंगलबार राति ६ घन्टा वार्ता गरेका थिए । त्यसैको निरन्तरताका रुपमा आज फेरि बसेका हुन् ।

आगामी निर्वाचनका लागि सहकार्यका विषयमा वार्ता केन्द्रित रहने छ । वार्तामा रास्वपाका केन्द्रीय सदस्य असिम साह र बालेनका सहयोगी कुमार बेन पनि सहभागी छन् । यसअघि सोही बालेन र कांग्रेस नेता तथा विघटित प्रतिनिधिसभाका सदस्य सुनील शर्माबीच छलफल भएको थियो । छलफलबाट बाहिरिने क्रममा कांग्रेस नेता शर्माले प्रतिनिधिसभा पुनर्स्थापना भए के हुन्छ भन्नेबारेमा आफूले बालेनसँग छलफल गरेको बताएका थिए ।

अहिले रवि लामिछानेले सोही ठाउँमा बालेनसँग वार्ता थालेका हुन् । रविका साथमा असिम शाह, गणेश कार्की पनि त्यहाँ पुगेका छन् । तर, वार्तामा उनीहरू भने सहभागी छैनन् । वैकल्पिक अभियान चलाइरहेका सागर ढकाल, जेनजी आन्दोलनपछि चर्चामा आएका हामी नेपाल नामको एनजीओका अध्यक्ष सुदन गुरुङ पनि त्यहाँ पुगेका छन् ।

यसअघि सोमबार राति पनि रवि र बालेनबीच लामो समय छलफल चलेको थियो । रास्वपा नेता शाहको कमलपोखरीस्थित घरमा भएको छलफलमा यसपटक सरकारको नेतृत्व बालेनले र पार्टीको नेतृत्व आफूले गर्ने प्रस्ताव रविले राखेका समाचार सार्वजनिक भएका थिए ।

अर्को चुनावपछि भने सरकारको नेतृत्व रविले गर्ने र बालेनले सघाउने प्रस्ताव आएको थियो । यिनै सेरोफेरोमा केन्द्रित रहेर दुई नेताबीच छलफल चलेको नेताहरूले बताएका छन् । बालेनले आजै बिहान पनि ऊर्जामन्त्री कुलमान घिसिङलगायतका व्यक्तिसँग छलफल गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १० गते बिहीबार