महोत्सवमा फोटो प्रदर्शनीप्रति दर्शकको आर्कषण



श्यामलाल पोखरेल । बुटवल ।

रुपन्देहीको बुटवलमा यही पुस ३ गतेदेखि सञ्चालित १६औँ औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सवमा दर्शकको भीड लाग्ने गरेको छ । रुपन्देही उद्योग संघले आयोजना गरेको महोत्सव तथा प्रदर्शनीमा स्वदेशी उत्पादन मात्रै राखिएको छ । जसका कारण यो महोत्सवमा दर्शकको घुइँचो लाग्ने गरेको हो । स्वदेशी वस्तुसँगै औद्योगिक प्रदर्शनीमा कृषि प्रविधि तथा पर्यटनसँगै कृषि, महिला उद्यमीका स्टलहरूले दर्शक तथा उपभोक्ताको मन जितेको महोत्सव आयोजक संस्था रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले बताए ।

राजधानी काठमाडौँ बाहिर सबैभन्दा ठूलो प्रदर्शनी तथा महोत्सव मानिने बुटवल मण्डपमा जारी यो महोत्सवमा नेपाल पत्रकार महासंघ रुपन्देहीले राखेको फोटो प्रदर्शनीले सबैको ध्यान केन्द्रित गरेको छ । महोत्सवमा आउने हजारौँ दर्शकले दैनिक रूपमा फोटो प्रदर्शनीको स्टलमा आएर पुराना फोटोहरू हेरेर घण्टौँको समय बिताउने गरेका छन् । फोटो प्रदर्शनीले महोत्सवको गरिमालाई बढाएको र दर्शकले चासोका साथ सबै फोटाहरू अवलोकन गर्नुका साथै फोटाबारे सोधखोज गर्ने गरेको नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनशे पाण्डेले बताए ।

नेपाल पत्रकार महासंघले विशेष महत्व दिएर प्रदर्शनीस्थलमा राखिएका फोटाहरूप्रति दर्शक तथा अवलोकनकर्ताले घुमीघुमी फोटाहरू हेर्ने गरेका छन् । सबैका लागि फोटो प्रदर्शनी नौलो भएकाले चासो दिएर हेरेको अवलोकनकर्ता विष्णु बन्जाडेले बताए । पुराना पुराना खालका इतिहास बोकेका फोटाहरू घुमीघुमी हेर्ने विष्णु बन्जाडे एक पात्र मात्रै हुन् । विष्णु जस्ता सयौँले ति फोटाहरूले नेपाली पत्रकारिता, भूगोल, राष्ट्रियता बोकेका फोटाहरू पर्काइ फकाई हेर्ने गरेका छन् ।

पुराना क्यामेरा, टाइपराइटर, प्रेस उपकरण, ऐतिहासिक फोटो, प्रकाशित पत्रिका र अभिलेख सामग्रीले नेपाली पत्रकारिताको विकास यात्रा मात्र देखाएको छैन, समाज परिवर्तनमा मिडियाको भूमिकालाई पनि जीवन्त रूपमा प्रस्तुत गरेको गरेको छ । प्रदर्शनीमा पुरानो फोटा धुलाउने मेसिन, बाइनाकुलर, बाँसको कलम, खड्कशमशेर जुद्धसमशेरको पालाको इँटा, बिसौनी (तराजु), फोटो खिच्ने पुरानो भाँडा, पहिले प्रयोग गरिएको माइकको ढ्वाङ, पुरानो फोटा छाप्ने मेसिन, टेलिफोन, रेडियो, क्यासेट प्लेयर, प्रोजेक्टर, ग्रामो फोन, भिडिओ क्यामेरासहितका पुराना सामग्रीहरू राखिएको छ ।

जसका कारण पनि ति उपकरणहरू नदेखेकाहरू फोटा प्रदर्शनी स्टलमा झुमेर हेर्ने गरेका छन् । फोटा प्रदर्शनलाई पुरानोसँगै नयाँ पुस्ताका युवायुवतीहरूले पनि रुचीका साथ अवलोकन गर्ने गरेको रुपन्देही उद्योग संघका कार्यकारी प्रमुख यादव भण्डारीले बताए । फोटो प्रदर्शनीमा उद्योगधन्दा स्थापना हुँंदै गरेको अवस्था, परम्परागत उद्योगदेखि आधुनिक उत्पादनसम्मको विकासक्रम, स्थानीय उद्यमशीलताको संघर्ष र सफलताका क्षण समेटिएका फोटाहरूले आफू आर्कषित भएको बताउँछन् अवलोकनकर्ता प्युठानका हरिप्रसाद पोखरेल ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्य, सदस्य शान्तराम बिडारी र उपप्रशासकीय अधिकृत रामशरण बोहोराले पनि फोटो प्रदर्शनी अवलोकन गरेका छन् । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले सञ्चार क्षेत्रका पुराना फोटाहरूले भुल्न लागेको इतिहासलाई सम्झाएको बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस ९ गते बुधबार