कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका–१० स्थित रहेको कोहलपुर विलिभर्स इङ्ग्लिस स्कुलले १८औँ वार्षिकोत्सव मनाएको छ । मंगलबार एक कार्यक्रमका बीच स्कुलले १८औँ वार्षिकोत्सव मनाउनुका साथै ख्रीष्टमस उत्सवको शुभकामना आदानप्रदान गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै कोहलपुर नगरपालिका सामाजिक समितिका संयोजक इश्वरीप्रसाद विश्वकर्माले विद्यालयले संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा उनले जोड दिए ।
पाठ्यपुस्तकमा मात्रै सीमित नभई अतिरिक्त क्रियाकलाप सञ्चालन गरेर विद्यार्थीहरूको चौतर्फी विकास गर्न उनले आग्रह गरे । विद्यालयले सुविधासम्पन्न भौतिक संरचना निर्माण गर्नुका साथै गुणस्तरीय शिक्षा प्रदान गर्न हरप्रयास गरिरहेको उनको भनाइ थियो । स्थानीय सरकारले निजी तथा सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोण एउटै रहेको समेत उनले बताए ।
विद्यालयमा विद्यार्थी पठाउँदैमा अभिभावकहरूको जिम्मेवारी पूरा नहुने बताउँदै उनले समय मिलाएर विद्यालयसम्म पुग्न आग्रह गरे । विद्यालय, अभिभावक र शिक्षकबीचको त्रिपक्षीय सम्बन्धले गुणस्तरीय शिक्षा प्रदान गर्न थप मद्दत पुग्ने उनले बताए । विद्यालयले गुणस्तरीय शिक्षासँगै अनुशासन, नैतिक मूल्य मान्यता, सामाजिक उत्तरदायित्व र नेतृत्व क्षमताको विकास गर्न स्पष्ट दृष्टिकोण अवलम्बन गरेको विद्यालयका संस्थापक अध्यक्ष ईश्वर लामाले बताए ।
उनले विद्यार्थीहरूको प्रस्तुतिको माध्यमबाट देखिने आत्मामा विश्वास र सिर्जनशीलताले विद्यालयको दृष्टिकोण क्रमशः सफल हुँदै गएको जानकारी दिए । ख्रीष्टमसको शुभकामना प्रदान गर्दै उनले विद्यालयलाई १८औँ वर्षसम्म पु¥याउन सहयोग गर्ने अभिभावक, विद्यार्थी, शिक्षक र सहयोगी सबैलाई धन्यवादसमेत दिएका थिए । मंगलबारको एक औपचारिक कार्यक्रम मात्र नभई विद्यालयको शैक्षिक दर्शन रहेको उनले बताए।
कोहलपुर विलिभर्स स्कुलले १८ वर्षदेखि निरन्तर शैक्षिक यात्रामा रहेको काठमाडौँ आर्चडायोसिसका आर्चविशप हेमचन्द्र शर्माले बताए । उनले विद्यालयले अहिले बालबालिकाहरूको सर्वाङ्गीण विकासका लागि विभिन्न शैक्षिक गतविधि गरिहेको जानकारी दिए । वार्षिकोत्सवका अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले संस्कृति झल्काउने नृत्य र कला प्रस्तुत गरेका थिए । उक्त अवसरमा शैक्षिक सत्र २०८१ मा विभिन्न प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरूलाई पुस्कार प्रदान गरिएको थियो ।








प्रतिक्रिया दिनुहोस्