
नन्दराम जैशी । सुर्खेत ।
‘हाम्रो घर कुशे गाउँपालिका जाजरकोट हो । हामी वीरेन्द्रनगरको धुलियाबिटमा कोठा भाडामा बस्छौँ,’ छात्रा शोभा विकले भनिन्, ‘बुवाआमा ज्यालादारी काम गर्नुहुन्छ, हामी चार भाइबहिनी सरकारी स्कुलमा पढ्छौँ । तर हाम्रो परिवारलाई बस्न खान धौ–धौ छ ।’ उनी वीरेन्द्रनगर–११ स्थित शिव माध्यामिक विद्यालयमा कक्षा–४ मा अध्ययनरत छिन् ।
मंगलबार विद्यालयमा न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण कार्यक्रममा बोल्दै उनले घरपरिवार दुःखमा रहेको बेला कसैको सानो सहयोग पाउँदा निकै खुसी लाग्ने गरेको बताइन् । न्यानो कपडा तथा स्टेशनरी सामग्री पाएपछि खुसी व्यक्त गर्दै आगामी दिनमा झन राम्रोसँग पढ्ने उनले प्रतिबद्धता जनाइन् । उनले लव एण्ड होप नेपाल संस्थाको सहयोगबाट एक जोडा न्यानो कपडा र शैक्षिक सामाग्री पाएकी हुन् ।
सोही विद्यालयमा कक्षा–४ मा अध्ययनरत दिपा परियारले चिसोका बेला घरपरिवारले किनिदिन नसकेको अवस्थामा न्यानो कपडा पाउँदा निकै राहत भएको महसुस व्यक्त गरिन् । कक्षा–४ मै अध्ययनरत छात्र किरण न्यौपानेले पढिलेखी भविष्यमा ठूलो मान्छे बन्ने रहर पूरा गर्न अहिलेदेखि विभिन्न शैक्षिक सामाग्री सहयोगको खाँचो रहेको बताए ।
उनीहरू प्रतिनिधि पात्र मात्रै हुन्, यस विद्यालयमा अध्ययनरत ५१ जना विद्यार्थीले सहयोग पाएपछि आगामी दिनमा थप मेहनत गरेर पढ्ने प्रतिबद्धता जनाएका छन् । उनीहरू जस्तै कालिका आधारभूत विद्यालय वीरेन्द्रनगर–११ मा अध्ययनरत विपन्न तथा मेहनती विद्यार्थीलाई जाडो मौसमलक्षित न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण गरिएको छ । विद्यालयको सिफारिसका आधारमा उक्त संस्थाले ७५ जना विद्यार्थीलाई मंगलबार सामाग्री वितरण गरेको हो । यस विद्यालयमा गत वर्षसम्म कक्षा १ देखि ५ सम्म जम्मा १३ जना विद्यार्थी थिए ।
तर संस्थाको निरन्तर सहयोग र वडापालिकाका जनप्रतिनिधिको घरदैलो अभियानका कारण हाल ७५ जना विद्यार्थी पुगेको प्रधानाध्यापक डिल्लीराम कँडेलले बताए । वडाध्यक्ष खिमलाल देबकोटाले आफ्नो कार्यकालमा कम्तीमा पनि १०० जनाभन्दा बढी विद्यार्थी भर्ना गर्ने गरी कालिका आधारभूत विद्यालयको विकासमा जोड दिइएको बताए । विद्यालयको भौतिक संरचना निर्माण तथा घेरावार कार्यक्रमलाई जोड दिइएको उनको भनाइ छ ।
‘वीरेन्द्रनगरमा विद्यालय मर्ज गर्ने अभियान चल्दा यस विद्यालयलाई मर्ज होइन विकास गर्नुपर्छ भनेर हामी लागेका थियौँ,’ उनले भने, ‘यो विद्यालय खारेज भएमा यस विद्यालय क्षेत्रमा रहेका विपन्न बस्तीहरूका बालबालिकाको शिक्षामा ठूलो असर पर्ने देखिन्छ । त्यसैले यस विद्यालय मर्ज होइन विकास गर्नुपर्छ भनेर लागि परेका छौँ ।’ उनका अनुसार विद्यालय क्षेत्रमा रहेका अछामी, सुब्बाकुना र अमृतडाँडा बस्तीका विपन्न बालबालिकाहरू विद्यालयमा अध्ययनरत छन् ।
यस विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीको भविष्यका लागि आगामी दिनमा पनि सहयोग गर्दै जाने लव एण्ड होप नेपाल संस्थाका अध्यक्ष शम्भुसंकर पोखरेलले बताए । ‘समुदायका आर्थिक रूपमा कमजोर बालबालिकालाई अध्ययनमा निरन्तरता दिन सहयोग पु¥याउने उद्देश्यले विगत केही वर्षयता सामग्री वितरण कार्यक्रम जारी छन्,’ उनले भने, ‘जाडोयाममा न्यानो कपडाको अभावले विद्यार्थीको स्वास्थ्य र पढाइमा असर नपरोस् भन्ने उद्देश्यले सहयोग गरेका छौँ । यसले थोरै भएपनि उनीहरूलाई राहत पुग्नेछ ।’
उनका अनुसार भ्याली मेमोरियल स्कुलमा अध्ययनरत ६ जना विद्यार्थी पनि न्यानो कपडा र शैक्षिक सामाग्रीबाट लाभान्वित भएका छन् । न्यानो कपडासँगै कापी, कलमलगायत आवश्यक स्टेशनरी सामग्री वितरण गरिएकाले विद्यार्थीहरू उत्साहित देखिएका थिए । विद्यालय प्रशासनले संस्थाको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले विपन्न समुदायका बालबालिकालाई शिक्षामा टिकाइराख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।
लव एण्ड होपले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र बालअधिकारका क्षेत्रमा सहयोग कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । यस्तै यस संस्थाले सुर्खेत, दैलेख, बर्दिया, कैलाली र कञ्चनपुरका सयौँँ बादी तथा विपन्न वर्गका छोरीहरूको शिक्षामा लगानी गर्दै आएको छ । संस्थाले विपन्न वर्गका छोरीहरूलाई काभ्रेपलाञ्चोक जिल्लामा रहेको आफ्नै होस्टेलमा राखेर उच्च शिक्षासम्म पढाउँदै आएको छ भने अभिभावकसँग घरमै बसेर अध्ययन गर्न चाहाने विपन्न वर्गका छोरीहरूका लागि घरमै शैक्षिक सामाग्री सहयोग गर्दै आएको छ ।









प्रतिक्रिया दिनुहोस्