जेनजी, बुद्धिजीवी र पत्रकारप्रति काँग्रेस महामन्त्री राठौरको रोष



नेपालगन्ज ।

नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपालगन्जमा आयोजित एक कार्यक्रममा बोल्दै जेनजी, बुद्धिजिवी र पत्रकारहरूमाथि रोष प्रकट गरेका छन् । नेपाली काँग्रेस बाँकेको नवनिर्मित सुशील कोइराला स्मृति भवनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै सहमहामन्त्री राठौरले पछिल्लो आन्दोलनपछि समाजमा अराजकता फैलिएको बताउँदै त्यसको कारण कथित बुद्धिजीवी र पत्रकारहरू भएका बताए । उनले जेनजी आन्दोलनका क्रममा विध्वंश भएको र त्यसको जिम्मेवारी जेनजीले लिनुपर्ने पनि बताए ।

उनले नेपाली काँग्रेसले आफ्नो इतिहासमा ठूलाठूला आन्दोलन गरेपनि कहिल्यै पनि आगो लगाउने काम नगरेको बताए । उनले अहिले देश गृहयुद्धको खतरामा रहेको पनि दाबी गरे । उनले भने, ‘स्थिति ठिक छैन । अहिले हामीले शान्तपूर्वक घरमा बस्न पाइरहेको अवस्था नरहन सक्छ । जातका नाममा, धर्मका नाममा पार्टी खुलेका छन् । देश गृहयुद्धमा नजाला भन्न सकिन्न ।’

उनले नेपाली नागरिकले प्राप्त गरेको अधिकार कथित बुद्धिजीवी र पत्रकारहरूलाई नपचेको आरोप लगाए । ‘यो देशका सो कल्ड बुद्धिजीवी पत्रकारहरूलाई यो पचेको छैन । बिहान बेलुका देशमा केही काम भएको छैन भाष्य बनाइयो,’ राठौरले भने । उनले अहिले सबैको ध्यान संसद्को चुनावमा केन्द्रित हुनुपर्ने बताए । पार्टीको महाधिवेशन पनि अहिलेको प्राथमिकता नभएको राठौरको भनाइ छ ।

उनले अहिले केही नेताहरूले पार्टीभित्र विग्रह ल्याउन खोजेको आरोप पनि लगाए । अहिले पनि काँग्रेसभित्र चार पुस्ताका व्यक्तिहरू पदाधिकारी रहेको बताउँदै एकथरी पुस्ताले मात्रै पार्टी चलाउँछु भन्ने दुस्साहस गर्न खोजिएको दाबी गरे । उनले अहिले नेपाली काँग्रेसलाई ठूलो संकट परेको बताउँदै पार्टी नेतृत्व र पार्टीलाई जोगाउनुपर्ने भएकोले नेतृत्व परिवर्तन गरेर रातारात केही सुधार नहुने दाबी गरे ।

उनले नेतृत्व परिवर्तनका नाममा पार्टीलाई सिध्याउने काम भैरहेको पनि बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दलालको संज्ञा दिँदै महामन्त्री गगन थापाको नाम नलिइकन रविलाई चुनावमा काउन्टर दिन नसकेको दाबी गरे । उनले चुनावअघि महाधिवेशन भए पार्टीभित्रका असन्तुष्टिले हानी गर्ने तर्क गर्दै चुनावपछि महाधिवेशन गर्नु नै उपयुक्त हुने आफ्नो दलिल दोहो¥याए ।

उनले आफूले केन्द्रीय समितिमा शेरबहादुर देउवाको नाममा भोट आउँदैन भने भोट आउने अनुहारलाई प्रधानमन्त्रीको उम्मेदवार बनाऔँ भनेर प्रस्ताव गरेको स्मरण गराए । उनले महाधिवेशनका लागि हतार गर्नुपर्ने अवस्था पनि नरहेकोले पार्टीको तल्लो तहको कमिटीका नेतृत्वलाई क्रियाशील सदस्यता वितरणमा समय लिएर निर्णय लिन निर्देशन दिए ।

क्रियाशील सदस्यमा जेनजीको प्रतिनिधित्व गराउन निर्देशन दिँदै उनले प्रतिबद्ध व्यक्तिलाई मात्रै सदस्यता दिन भने । उनले भने, ‘चुनावको बेला क्रियाशील सदस्यता पत्र च्यातियो भने त्यसको जिम्मेवारी सदस्यता दिने र सिफारिस गर्नेले लिनुपर्छ ।’ उनले नेताहरूलाई महाधिवेशनभन्दा बढी आउने निर्वाचनका लागि भोट कसरी बढ्छ भन्ने कुरालाई ध्यानमा राखेर सदस्यता दिन भने । उनले गठबन्धन गर्नु पनि जरुरी रहेको बताउँदै भने, ‘काँग्रेसले एक्लै चुनाव लडे आउने चुनावमा हविगत के हुन्छ हेरौँला १’

कार्यक्रममा सहभागी काँग्रेसका केन्द्रीय सदस्यहरू दीपक गिरी, सञ्जय गौतम, गोपाल दहित र मानबहादुर नेपालीले अहिले पार्टीलाई सुधार गर्न आवश्यक रहेको बताएका थिए । गिरीले कार्यक्रममा आगामी महाधिवेशनमा पार्टीको उपसभापतिको उम्मेदवार हुने घोषणा पनि गरे ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस ९ गते बुधबार